जहाँ बालविवाह र बहुविवाहको त्रास छ… – Nepal Press

जहाँ बालविवाह र बहुविवाहको त्रास छ…

डोटी ।  ‘५ वर्षअघि श्रीमान् रोजगारीका लागि भारत जान्छु भनेर घरबाट निस्कनु भयो, बाटोबाटै एक महिलालाई भगाएर लैजानु भएछ । उता गएर उनीहरुसँगै बसेका छन् । अब त छोराछोरी पनि भइसके रे ।’

आदर्श गाउँपालिका–६ कि ईशरा (नाम परिवर्तन) लाई आफ्ना श्रीमान रोजगारीका लागि भारत गएका हुन् भन्ने थाहा थियो तर अर्को बिहे गरेर बसेका छन् भन्ने पछि मात्र थाहा भयो । भारत गएको केही समयसम्म श्रीमानले खर्चपात, लुगाफाटो पनि पठाए । तर अब भने उनका श्रीमान्ले न खर्च पठाउँछन् न फोन सम्पर्कमै आउँछन् ।

‘छोराछोरी सानै छन्, हुर्काउनु पढाउनु छ, म एक्ली महिलाले कसरी सक्नु ?’ ईशरा भन्छिन् ‘मलाई कानुनी बाटो के हो बताईदिनु प¥यो ।’ उनी श्रीमानले अर्को बिहे गरेको भन्दा पनि छोराछोरी कसरी हुर्काउने भन्ने चिन्तामा छिन् ।

यो समस्या ईशराको मात्रै हैन, गाउँतिर यस्ता ईशराहरु धेरै छन् । ‘विवाह कायम रहेको अवस्थामा अर्को बिहे गर्छन्, अनि विवाह दर्ता गरिदिनु पर्‍यो भनेर वडा कार्यालयमा आउँछन्’ आदर्श गाउँपालिका–६ का वडा सचिव श्याम धामी भन्छन् ‘यस्तो बिहे दर्ता हुँदैन भनेपछि गाली गर्छन् ।’ यस्ता घटनाहरु धेरै आउने गरेको उनको भनाई छ ।

बहुबिवाह र बालबिवाह दर्ता गर्नु प¥यो भनेर दवाव आइरहने गरेको सचिव धामीको दुखेसो छ । ‘धेरै पटक झगडा समेत भईसक्यो, दर्ता गरेन भने गाली गर्छन्, विभिन्न ठाउँबाट फोन गर्न लाएर दवाव दिन खोज्छन्’ धामीले भने ‘कानुनले बालबिवाह र बहुबिवाह स्वतः बदर हुने भनेको छ, अनि कसरी दर्ता गर्नु ?’

वडामा बालविवाह र बहुविवाहका घटनाहरु धेरै हुने गरेको वडा सदस्य रमेशबहादुर खडायत बताउँछन् । उनी भन्छन् ‘लहैलहैमा लागेर सानै उमेरमा बिहे गर्छन्, अनि दर्ता गरिदिनु पर्‍यो भनेर आउँछन् ।’ बालबिवाह गरेका धेरै जोडीका सन्तान समेत भइसकेका तर विवाह दर्ता नभएको रमेशले बताए ।

समाजमा बालबाविवाह र बहुविवाहको त्रास जस्तै भएको वडा सदस्य कलावतीदेवी थापा बताउँछिन् । ‘जेठी श्रीमतीलाई फकाएर, डराएर भएपनि अर्को बिहे गर्छन्, उनीले पनि प्रतिवाद गर्न सक्दिनन्’ कलावती भन्छिन् ‘बिस्तारै उनीमाथिनै हिंसा हुने गरेका धेरै घटनाहरु छन् ।’ कानुनले बहुबिवाह स्वतः बदर हुने भनेको भएपनि बहुविवाह नरोकिएको कलावतीको भनाई छ ।

फोनबाट, फेसबुकबाट कुराकानी चिनजान भएकै आधारमा बालबिवाह र बहुबिवाहका धेरै घटना हुने गरेको कलावतीको भनाई छ । उनी थप्छिन् ‘कतिपय महिलाहरुलाई त आफू अविवाहित भएको भनेर ढाँटेर पनि पुरुषले अर्को बिहे गरेका छन् ।’

बहुविवाह र बालविवाह ठुलो चुनौतीको बिषय भएको वडाध्यक्ष लालबहादुर खडायत बताउँछन् । ‘हामीले बालविवाह र बहुविवाहको बिषयमा पटक पटक सम्झाउने गरेका छौं तर पनि कम भएका छैनन्’ वडाध्यक्ष खडायत भन्छन् ‘बालविवाह न्यूनीकरणका लागि विशेष योजना बनाउनु जरुरी देखिन्छ ।’

वडामा बहुविवाह र बालविवाहका घटनाहरु धेरै हुन थालेपछि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न लागिएको उनी बताउँछन् । उनले कानुनले बहुबिवाह स्वतः बदर हुने भनेको भएपनि बहुविवाह गरेका जोडीबाट जन्मेका सन्तानको जन्मदर्ता हुने र अंश पनि पाउने व्यवस्थाले पनि बहुबिवाहलाई बढावा दिएको जस्तो देखिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर