सत्तामा फर्किन कांग्रेसकाे दाउपेच जारी- एमालेसँग सम्बन्ध सुधार्ने कसरत – Nepal Press

सत्तामा फर्किन कांग्रेसकाे दाउपेच जारी- एमालेसँग सम्बन्ध सुधार्ने कसरत

काठमाडौं । गठबन्धन भत्किएर संघदेखि प्रदेशसम्म सरकारबाट हुत्तिएको नेपाली कांग्रेस अब केही समयमै सरकारमा ‘कमब्याक’ हुनेमा विश्वस्त देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको काँध फेरेर एमालेतिर ढल्किएपछि कांग्रेस विपक्षी गठबन्धन बनाउने खेलमा कांग्रेसी नेताको दौडधुप छ ।

प्रचण्डसँग बदला लिन रास्वपा सभापति रवि लामिछानेदेखि प्रतिनिधिसभामा १० सीटमात्रै भएको माधव नेपाललाई समेत कांग्रेसले प्रधानमन्त्रीको अफर गरिसकेको कुरा बाहिर आइसकेको छ । तर, कांग्रेसका नेताहरू यसलाई स्वीकार्न तयार छैनन् । महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको भन्दै त्यो हल्लालाई खारेज गरेको सदनबाट प्रष्टीकरण दिए ।

नयाँ समीकरणको सरकार बनेसँगै कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीलाई जोडेर संसदीय छानबिन समितिको माग उठाइरहेको छ । कुनै हालतमा आफ्नो मागबाट पछि नहट्ने भन्दै कांग्रेसले रविमाथि संसदीय छानबिनको मागलाई प्रतिष्ठाको विषय बनाउँदै लगेको छ ।

तर, गृहमन्त्रीलाई निशाना बनाएर सरकारलाई अंकगणितमा अप्ठेरो सिर्जना गराउने कांग्रेसको रणनीति रहेको केही राजनीतिक विश्लेषक बताउँछन् । माधव नेपाललाई प्रधानमन्त्री दिएरै भए पनि एमाले, माओवादी र रास्वपाबाहेक नयाँ समीकरण बनाउने प्रयासमा कांग्रेस छ । त्यसका लागि तत्काल तयार नदेखिएका माधव नेपाल कांग्रेसले फ्याँकेको ‘प्रधानमन्त्री कार्ड’ लाई प्रचण्ड र ओलीसँग ‘बार्गेनिङ टूल’ को रूपमा प्रयोग गरिरहेका छन् ।

जुन कुरा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे स्वीर्काछन् । उनले गत साता नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको सुनेको हुँ ।’

तर, त्यो प्रस्तावले तत्काल आकार नलिएपछि कांग्रेसले देखेको ‘ट्रयाक टू’ को रणनीति हो- एमालेसँग मिल्ने । त्यसका लागि इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि भेटघाट तीव्र पारेका छन् । तत्कालीन कांग्रेस-माओवादी गठबन्धन हुँदै कोशी सरकार गठन प्रकरणसम्म आइपुग्दा ओली र कोइरालाबीच विश्वासको वातावरण बनिसकेको छ । कोइरालाको एमालेसँग मिल्नुपर्ने मतमा अहिले संस्थापन पक्षका नेताहरूले पनि साथ दिइरहेका छन् ।

तर, कोइरालासँग जस्तो ओलीसँग मिल्न देउवाले अहिले नै विश्वास नगरेको निकट नेता बताउँछन् । एमालेसँग सहकार्य गर्न लागि देउवा र ओलीबीचको विश्वासको वातावरण बनाउन आवश्यक रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।

कोइरालासहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेलसहित अधिकांश युवा नेता पनि पछिल्लो समय नरम देखिएका छन् । त्यसैको बलमा भन्दैछन्, कांग्रेस चाँडै सरकारमा फर्किन्छ ।

नयाँ समीकरण बनेको दुई महिना नपुग्दै कांग्रेसमा नेताहर”ले एमालेसँग मिलेर देशलाई स्थिरता दिनुपर्ने बहस जबरजस्त उराल्न थालेका छन् ।

हेरौं केही उदाहरण

देशमा स्थिरता दिन र विकास गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने नेता डा. शेखर कोइरालाको भनाइ छ ।

अहिले देश अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै बिहीबार विराटनगर पुगेर भनेका थिए, ‘गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन । स्थिर सरकार दिन आवश्यक छ । त्यसैले विगतका अनुभव हेर्दा पनि कांग्रेस र एमाले मिल्नुको विकल्प छैन ।’

पछिल्लो समय सभापति देउवासँग नजिक रहेका नेता शशांक कोइरालाले पनि वर्तमान सरकारको दिनगन्ती सुरू भइसकेको जिकिर गरे ।

‘कांग्रेस-एमालेको नयाँ सरकार बनोस् भन्ने सबैको चाहना छ । सोहीअनुसार सहकार्यको सम्भावना बढेर गएको छ । मुलुकलाई स्थायित्व दिन कांग्रेस, एमालेको सरकार बन्न जरुरी छ’ आइतबार दाङ पुगेर उनले भने, ‘त्यही अनुसारको केही छलफल अघि बढिसकेको छ। नयाँ सरकार निमार्णका लागि विभिन्न चरणको गृहकार्य भइरहेका छन् ।’

कांग्रेस-एमाले गठबन्धनको सरकारपछि साना राजनीतिक दलहरूका धेरै सटर बन्द हुने उनको भनाइ छ । एमालेसँग मिलेर सरकार चलाउने विषयमा कांग्रेस गृहकार्य भइरहेको सांसद् कांग्रेस सांसद शंकर भण्डारी पनि दाबी गरे ।

उनले भने, ‘देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्छ । केहीमहिना भित्रै नेपाली काग्रेस र नेकपा एमाले बीचमा गठवन्धनको नयाँ सरकार बन्छ, यो सरकार आफ्नै कारण हनिमुन पिरियड नसकिँदै ढल्छ ।’

त्यसो त कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले त ओलीले संसद विघटन गर्दा चुनावमा नगएर प्रचण्ड र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत भएकोसम्म तर्क गरे ।

आइतबार बुटवल पुगेर उनले भने, ‘अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, संसद विघटनको बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन। निर्वाचनमा जानु प्रतिगमन थिएन, त्यतिबेला चुनावमा गएको भए कांग्रेस र एमालेमात्र हुन्थे, प्रचण्ड र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत थियो ।’

‘देउवा-ओलीबीच विश्वासको वातावरण बनाउँदैछौं’

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पनि एमालेका दोस्रो तहका नेताहरूसँग छलफल भइरहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘एमालेले धेरै अगाडिदेखि हामीलाई मिलेर अघि बढौं । यो च्याँखे दाउमा हिँडेका राजनीतिक दलबाट मुलुक अस्थिरतातिर गयो । सरकार बलियो नबन्दा जनतामा असन्तुष्टि बढ्यो, संविधान कार्यान्वयमा पनि समस्या आइरह्यो भनिराख्नुभएको थियो । तर, हामी पहिलादेखि नै माओवादीसँग सहकार्यमा थियौं । माओवादीलाई छाड्न हुँदैन भन्यौं । तर, अहिले माओवादीले नै हामीलाई छाडेर गइसकेपछि एमालेको कुरा हामीले पहिला नै मान्नुपर्ने रहेछ भन्ने कुरा उठ्न थालेको छ ।’

उनले पार्टीका नेताहरूले एमालेसँग मिलेर जानुपर्छ भन्ने विकल्प अघि सार्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘यसका लागि सुरूमा शीर्ष तहमा विश्वास सिर्जना गर्नुपर्छ । देउवा र ओलीका बीचमा विगतमा केही कुराकानी भएका थिए । त्यो कुराकानी पूरा नभएपछि उहाँहरूका बीचमा अविश्वास छ । त्यसलाई विश्वासमा बदल्न सकेको दिनमा यो मार्ग अघि बढ्छ । तर, अहिले अनौपचारिक रुपमा धेरै ठाउँमा कुराकानी भइरहेका छन् ।’

उनले बजेट ल्याउने तयारी गरिरहेकाले त्यो बेलामा सरकार ढाल्ने पक्षमा कांग्रेस नरहेको सुनाए ।

नेता विश्वकर्माले थपे, ‘अहिले सरकार फेर्ने बेला भइसकेको छैन भन्ने हामीले पनि महशुस गरेका छौं । बजेट आउँदैछ यो बेलासम्म हामीले सरकार ढाल्ने खेल गर्दैनौं । बजेट ल्याउनेबेलासम्म यो सरकार जान्छ भन्ने सत्तापक्षकै नेताहरूले पनि भन्न थालिसक्नुभएको छ । त्यसैले कांग्रेस अहिले अपजस लिने पक्षमा छैन । तर, एमालेका नेताहरू चाहिँ अहिले सरकारमा गएर गल्ती गरेछौं, बरु कांग्रेससँग मिलेर जानुपर्थ्यो भन्ने नेताहरू भन्न थालिराख्नुभएको छ ।’

‘एमाले कांग्रेससँग मिल्दैन’

तर, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ कांग्रेस नेताहरूको दाबीमा कुनै सत्यता नभएको बताउँछन् । एमाले नयाँ ढंगले अघि बढिसकेकाले कांग्रेससँग मिलेर सरकार बनाउने कुनै सम्भावना पनि नभएको उनको भनाइ छ ।

उनले भने, ‘हामीले अहिले नयाँ ढंगबाट अगाडि बढिसकेका छौं । तर, कांग्रेसका नेताहरूले प्रचण्ड र ओलीबीच अविश्वास बढाउनको लागि मात्रै बाहिर हल्ला गर्दैछन् । कांग्रेससँग एमाले मिलेर सरकार बनाउने एक प्रतिशत पनि सम्भावना छैन ।’

कांग्रेससँग एमाले नीति, सिद्धान्त केही नमिल्ने भएकाले बेकारको बहस भएको टिप्पणी गरे ।

विश्लेषकको तर्क- कांग्रेसको बेमौसमी बाजा

तर, राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कांग्रेसका नेताहरूले अहिले एमालेसँग मिल्नुपर्छ भन्दै गरिरहेको तर्कलाई बेमौसमी ठान्छन् ।

त्यसबारेमा उनको भनाइ जस्ताको तस्तैः

कांग्रेसका नेताहरू पहिला काम बिगार्नुहुन्छ । अनि हुनै नसक्ने विषयमा धेरै कराउनुहुन्छ । एमालेसँग किन मिल्नेहरू गठबन्धन परिवर्तन हुने तत्वहरू के-के हुन्रु त्यसमा एमाले र कांग्रेसबीच लय मिल्नुपर्ने तथ्य के हुन्रु यी विषयहरूमा राम्रोसँग विश्लेषण नगरी त्यसै मिलेर जाऔं भनेर हुँदैन नि !

कांग्रेसले अहिले गर्छु भन्दैमा एमाले किन तयार हुन्छ र ! एमालेले अब बाँकी कार्यकाल हामीलाई चलाउन दिएमात्रै गठबन्धन गरौं भन्यो भने कांग्रेसले के गर्छ ? त्यसैले कांग्रेसले अब सरकार र गठबन्धनभन्दा बाहिर निस्किएर यसको पक्षमा अब छैनौं भन्न सक्नुपर्छ । प्रतिनिधिसभा विघटन हुन नदिन बाहेक अरु कुनै अवस्थामा हामी गठबन्धनमा सहभागी हुनेछैनौं भनेर संगठन निर्माणमा लाग्नु उपयुक्त हुन्छ ।

तर, अहिले कांग्रेसका नेताहरू एमालेसँग मिल्नुपर्छ भनिराखेका छन् यो कुरा आज होइन चुनावपछिको परिणाम आउनेबेलामै मैले दुई ठूला दलहरूबीच मिलेर शासकीय स्थायित्व हुन्छ भनेको थिए । नभए ०५१ सालको राप्रपा, ०६४ सालको जस्तो मधेश केन्द्रित दलजस्तो भएर अहिले माओवादी आएको छ । ०५१ सालमा एमाले र कांग्रेसको बीचमा राप्रपाले जसरी खेल्यो, जसरी ०६४ सालमा मधेशवादी दलहरूले खेल्यो त्यसैगरी माओवादी खेल्छ भनेको थिएँ । त्यो गलत अभ्यासलाई तोड्ने हो भने कांग्रेस र एमाले मिल्नुपर्छ भनेर मैले तर्क गरेको हो । यो तर्क अगाडि बढेन ।

लोकतन्त्रमा शक्तिशाली विपक्ष हुनुपर्छ । कांग्रेस र एमाले एक ठाउँमा हुँदा विपक्षी कित्तामा पनि सबै दलहरु मिल्दा बलियो प्रतिपक्ष भइहाल्थ्यो । तर, कांग्रेसका नेताहरू बेमौसमको बाजा बजाउँछन्, महासमितिको बैठकमा गठबन्धन तोड्नुपर्छ भनेर यीनिहरूले नै भने त्यसको के जरुरी थियो ? त्यसैले हरेक कुराको एउटा औचित्य हुन्छ । त्यसबेलामा शेखरजीले कांग्रेसको नेतृत्वको सरकार बनाउनुपर्छ भनेर भाषणा गर्दै हिँड्नुभयो । अहिले पनि एमालेसँग मिल्नुपर्छ भनेर उहाँ नै भन्दै हिँड्नुभएको छ । कांग्रेसको सत्ता लिन त बहुमत पुग्नु पर्‍यो नि ! उहाँलाई कसले दिन्छ बहुमत ?

यो वास्तविकतालाई बुझ्नुहुन्न गठबन्धनमा विवाद ल्याएपछि माओवादीसँग लय बिग्रियो । अहिले सत्ताबाट बाहिरिनुपरेको पीडा भइरहेको छ । उहाँलाई अफ्ठ्यारो पर्‍यो भन्दैमा एमाले र कांग्रेसको कुरा गर्नुहुन्छ ।


प्रतिक्रिया

One thought on “सत्तामा फर्किन कांग्रेसकाे दाउपेच जारी- एमालेसँग सम्बन्ध सुधार्ने कसरत

  1. कांग्रेस पार्टीमा आउटडेटेड, भ्रष्ट र रोगी मानसिकता भएका नेताहरुको बोलबाला छ जो आफ्नो वर्चस्व नगुमोस् भन्नका लागि गलत हथकण्डा अपनाउन पनि पछि पर्दैनन् जसको पछिल्लो उदाहरण संसदीय कार्यवाहीमा अनावश्यक व्यवधान खडा गर्नु रहेको छ। संघीय निजामती ऐन जस्तो महत्वपूर्ण विधेयक पास गरिहाल्नु पर्ने अहिलेको अधिवेशनमा काम गर्न नदिएर आठ वर्ष अघि नै पास हुनुपर्ने कुरा अझै लट्कियो भने देशलाई थप गतिहीन तुल्याउने निश्चित छ। कानून बनाउने थलोमा तपसीलका कुरा घुसाएर अवरोध पुर्याउंदा जनमानसमा थप आक्रोस उत्पन्न हुने र अन्ततः यसबाट आफ्नै पार्टीलाई घाटा पुग्ने कुरा कांग्रेसले बुझ्नुपर्ने हो! यसर्ध आफ्नो छविलाई थप क्षति पुग्न नदिन सांप पनि मर्ने लठ्ठी पनि नभांचिने उपाय कांग्रेसले खोजोस् र महत्वपूर्ण विधेयकहरु पास गर्ने काममा सहयोगी भूमिका निभाओस्। नत्र राम राम मात्रै भन्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर