‘प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, ओली बाध्यताले मात्रै नेपाल निवास पुगेका हुन्’ – Nepal Press
नेपाल टक

‘प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, ओली बाध्यताले मात्रै नेपाल निवास पुगेका हुन्’

राजेन्द्र पाण्डे भन्छन्- माधव नेपालविना सरकार नबन्ने भएपछि प्रधानमन्त्री माग्नु कुन बेठिक कुरा हो त ?

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीमाथि एकपछि अर्को शर्त तेर्स्याइरहेको छ । आलोपालो प्रधानमन्त्रीमा ओली र प्रचण्डले सहमति जनाएपछि पनि आश्वस्त नभएका माधव नेपालले त्यसको ग्यारेन्टी हुनुपर्ने अडान राखेका छन् ।

ओली र प्रचण्डसँग माधव नेपालले संवैधानिक तथा राजनीतिक नियुक्तिमा सम्मानजनक भागबन्डा हुनुपर्ने पक्षमा छन् । विगतमा आफूलाई बाइपास गरेर गठबन्धन नयाँ बनाएकोमा असन्तुष्ट नेपालले अहिले कुनै सहजै स्वीकार्ने पक्षमा छैनन् । त्यसको आड उनलाई कांग्रेसले दिएको छ । कांग्रेसले एमाले, माओवादी र रास्वपाबाहेकको वैकल्पिक गठबन्धनबाट माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि उनले थप शक्ति बढाएका हुन् ।

नेपाल जसपालाई पनि आफ्नो पक्षमा रहेको सन्देश दिँदै प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । पछिल्लो समय नयाँ गठबन्धनसँगको असन्तुष्टि र सहभागीताको कारण, प्रदेश सरकार नेतृत्वको भागबन्डा, माधव नेपालले ओली र प्रचण्डसँग बार्गेनिङ बढाउनुको कारणदेखि वाम एकतालगायतको विषयमा केन्द्रित रहेर नेकपा एसका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेसँगको कुराकानीः

– तपाईंसहित नेकपा एसका केही नेताहरूको अभिव्यक्ति सुन्दा नयाँ गठबन्धनप्रति असन्तुष्ट जस्तो देखिन्छ, किन ?

यो गठबन्धन षड्यन्त्र नै षड्यन्त्रबाट बनेको छ । जनतामाझ गठबन्धन गरेर आएको छौं भनेर चुनावमा गयौं, पाँचै वर्ष जनताको सेवामा यही गठबन्धन कायम राखेर जान्छौं भनियो । तर, रातारात त्यो कुरालाई छाडेर गठबन्धन परिवर्तन भएको छ । यस्तो परिवर्तन गर्ने कुरालाई मैले षड्यन्त्रमूलक र बेइमानीपूर्ण कामको सुरूवात भएको भनेको छु । मैले संसदमा पनि भने- यो राम्रो कामको सुरूवात भएको छैन ।

यद्यपि, प्रधानमन्त्री त अनेक कुरा भन्नुहुन्छ केही साथीहरूले यो वामपन्थीहरूको गठजोडको लागि सुरूवात हो भन्ने कुरा गर्नुहुन्छ तर, मलाई त्यो एकरत्ति पनि विश्वास छैन । वामपन्थी एकताको लागि वामहरूको सहकार्यको लागि बनेको गठबन्धन होइन यो । त्यसैले म प्रष्ट छु । मलाई लागेको कुरा लामो समयदेखि जनताकै सेवामा लागिरहेको, निर्वाचनको विधिबाट पटक-पटक अनुमोदित भएको नेता भएको नाताले मैले यो कुरा जनताको विषयमा आफ्नो कुरा राख्नुपर्छ भनेर राखेको हुँ ।

– नयाँ गठबन्धन बन्दा तपाईंहरूलाई थाहै नदिइ बनेको भन्नुभो । तर, अहिले दुई मन्त्री लिएर सरकारमा जानुपर्ने के बाध्यता आइलाग्यो ?

पार्टीको उपाध्यक्ष र संसदीय दलको उपनेताको हैसियतले मैले मेरो कुरा राखें । हरेक कुरा पार्टीगत निर्णय हुन्छन् । पार्टीमा ममात्रै छैन अरु पनि छन् । यो निर्णय गर्दा म नेपालमा पनि थिइनँ तर, उहाँहरूले हतारहतारमा सरकारमा जाने निर्णय गर्नुभएको रहेछ ।

र, यो निर्णयप्रति पनि म सन्तुष्ट छैन । किनभने प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोल्नुपर्छ मैले नेपाली जनताप्रति बेइमानी गरें, एकपटक बेइमानी गरें मलाई माफ दिनुस् भन्न सक्नुपर्छ । त्यसैले उहाँलाई लागेको होला म सबैलाई लडाइदिन, सुताइदिनसक्छु लागेको होला । यस्तो कुराले राजनीति चल्दैन ।

मैले संसदमा यस्तो व्यवहारले नेपाल कहिल्यै सुध्रिँदैन भनेको छु । अब कसले पत्याउँछ ? मलाई लाग्छ उहाँलाई अब स्वार्थीहरूले मात्रै हो पत्याउने, एकअर्कामा केही कुरामा तत्काल लाभ लिनको लागि स्वार्थीहरूको गठबन्धनको रूपमा विकास भएको छ । यो राम्रो तरिका भएन । यो गठबन्धनले नेपाली जनतालाई के डेलिभरी गर्छ ? त्यसमा भर पर्छ ।

– तर, तपाईंहरूलाई गठबन्धनको गणित देखाएर बार्गेनिङ गर्‍यो भन्ने आरोप लागिरहेको छ नि !

बार्गेनिङ गर्नेले गर्छ नि ! १३८ सांसद भएपछि मात्रै सरकार बनाउन पुग्छ । १३७ मात्रै भयो भने हजार पटक बैठक बस्दा पनि पुग्दैन नि ! त्यसबेला १३७ र त्यो एकजना बराबरी हैसियत हुन्छ । त्यसो भएकाले स्वाभाविक रूपमा परिस्थितिको मूल्य मागेका हौं । बार्गेनिङ किन नगर्नु ? ३२ सीटेले त कहिले यता कहिले उता गरेर प्रधानमन्त्री खाइरहेको छ । त्यो चाहिँ न्यायपूर्ण हुन्छ ? त्यसैले बार्गेनिङ स्वाभाविक छ । हामीले योगदानको मूल्य मागेका हौं ।

– अहिले प्रदेशको भागबन्डाको कुरा पनि छ । नेकपा एसले कहाँ नेतृत्व पाउँछ ?

तीनजना नेताहरू बसेर हामीले सल्लाह गर्‍यौं भन्नुभएको छ । तर, औपचारिक रूपमा जानकारी गराउनुभएको छैन । अहिलेसम्म कुरा बुझ्दा पहिलो चरणमा सुदूरपश्चिममा हामीले पाउने, एक वर्षपछि बागमतीमा पाउने भन्ने कुरा आएको छ । तर, लिखित सहमति भएको छैन ।

– अघिल्लो गठबन्धनमा त माधव नेपाल प्रधानमन्त्री हुने सहमति भएको थियो । अहिले पनि ओली-प्रचण्डले त्यो शर्त स्वीकारेका हुन् ?

अघिल्लो वर्ष त लिखित सहमति नै थियो । तर, अहिले लिखित छैन । लिखित हुँदा त उहाँको प्रधानमन्त्री पाउने ग्यारेन्टी भएन भने मौखिममात्रै हुँदा के हुन्छ भन्न सक्दिनँ । हो, उहाँको प्रधानमन्त्री पाउने कुरा छ ।

– कांग्रेसले वैकल्पिक गठबन्धनबाट माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि ओली-प्रचण्डलाई दबाब बढेको भन्ने चर्चा पनि छ नि !

उहाँले ओली-प्रचण्डलाई दबाब बढाएको भन्ने कुरा मिडियामा आएको कुरा होलान् । तर, मैले धेरै सुनेको छैन । कांग्रेसवृत्तले पनि प्रधानमन्त्रीको अफर गरेको भन्ने कुरा मैले पनि सुनेको हुँ । अरु बाँकी केही भएको जस्तो लाग्दैन । माधव नेपाल नभई सरकार नबन्ने भएपछि प्रधानमन्त्री माग्नु कुन बेठिक कुरा भयो त ?

– कांग्रेसको प्रस्तावको बिषय पार्टीभित्र छलफलको आकार त लिइसकेको हो ?

अहिलेसम्म त्यस्तो छैन । अहिले उहाँहरू तीनजना बसेर नै सल्लाह गर्नुहुन्छ । उहाँहरूले भन्नुभएको कुरा नै सहमति भएको होलान् ।

– नेकपा एसलाई त एमालेले स्वीकारेकै थिएन । तर, अहिले स्वीकारेर सहयोग माग्न तयार भयो । माओवादीसहित थालिएको सहकार्यको कोर्स कहाँसम्म पुग्ला ?

एमालेले स्वीकार गरेको भनेको बाध्यताको मात्रै हो । उहाँहरूलाई मन परेर होइन । एमालेले त एकीकृत समाजवादीलाई त सिध्याउन पाए हुन्थ्यो भन्ने चाहना राखेको छ । अहिले परिस्थितिको बाध्यताले स्वीकार्नुभएको हो ।

माओवादी केन्द्र, एमाले, रास्वपा र जसपा मिलेर सम्झौता गरे पहिला नयाँ गठबन्धनमा । जसपाभित्र नेकपा एस नआएसम्म हामी सरकारमा जाँदैनौं भन्ने दबाब बढेको मैले सुनें । जसपा नआएपछि समीकरण पूरा नहुने भएपछि केपी ओली, विष्णु पौडेलसहित माधव नेपालको घरमा पुगेका हुन् ।

– नेकपा एस र जसपाले पछिल्लो समय एकै ठाउँमा रहेको सन्देश दिएको छ । नजिक हुनुको कारण के हो ?

हामी र जसपाबीच त्यस्तो कुनै साइनो छैन नीतिगत, सिद्धान्तगत कुरामा । नेपाली जनताको भविष्य बनाउने एउटा बलियो कम्युनिष्ट पार्टी बनाउने कुरा त २०७७ सालमै संसद विघटन गरेर ओलीले खरानी बनाइसकेका छन् । त्यसैले अहिले जसपासँग हामी न नजिक हुनुपर्ने कारण छ न त टाढा ।

– समाजवादी मोर्चामा नेकपा एस पनि छ । एमालेलाई पनि समेट्ने प्रयास भइरहेको छ । यो हुँदा आगामी निर्वाचनसम्म वाम एकता हुने सम्भावना कतिको छ ?

चार दल मिलेर अहिले हामीले समाजवादी मोर्चा बनाएका छौं । त्यसभित्र एमाले छैन । उसले आउने पनि चाहेको छैन । त्यसैले समाजवादी मोर्चाभित्रैको हामीबीचमा पनि जालझेलपूर्ण सम्बन्धनको रूपमा विकास भइरहेको छ । त्यसैले आउँदो चुनावमा वाम एकताको हिसाबले उम्मेदवार होला भन्ने कुरामा विश्वास छैन ।

– तर, मोर्चालाई त प्रचण्डले सत्ता जोगाउन मात्रै बनाएको भनिन्छ नि !

पछिल्लो घटनाक्रमले त त्यस्तो पनि देखिएको छ । तर, अब मोर्चाको महत्वपूर्ण घटक नेकपा एकीकृत समाजवादी हो । उहाँले नयाँ गठबन्धन बनाउने बिषयमा हामीलाई पनि छाडेर हिँड्नुभएको हो नि ! त्यसैले प्रचण्डले आफ्नो अनुकूलतामा जे पर्छ त्यही गर्दै हिँडेको देखिन्छ ।

– ओली त बाध्यताले नेपाल निवासमा आए भन्नुभयो तर, झलनाथ खनालसहित नेकपा एसका केही नेताहरू एमालेसँगको सहकार्यको पक्षमा देखिन्छन् । यो एकतासम्म जानसक्छ ?

सकभर वामहरू र एमालेसँग पनि एकताबद्ध भएर गइदिए हुन्थ्यो भन्ने लाग्नेहरुले भनेका हुन् । एकताको हिसाबले जान्छ र जाओस् भन्ने मनशाय उहाँहरूको भएपनि त्यहाँसम्म पुर्‍याउने कुनै योजना पनि छैन र, कुनै कार्यक्रम पनि छैन ।

– भनेपछि तत्काल एमालेसँग एकताको कुनै सम्भावना छैन ?

अहिले हामी आफ्नै ढंगले अघि बढेका छौं । त्यसैले एमालेमात्रै होइन एमाले र माओवादीसहितको एउटै पार्टी बनाउने पनि कुनै सम्भावना छैन ।


प्रतिक्रिया

One thought on “‘प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नुपर्छ, ओली बाध्यताले मात्रै नेपाल निवास पुगेका हुन्’

  1. लाज पचेका । १० सिटेलाई प्रधानमन्त्री माग्न लाज छैन ? पदमा गएर लुटन भन्दा अरू ध्यान छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर