लुम्बिनी अस्पताल भवनमा विष्णु पौडेलको चासो, कुनै बहानामा ढिला नगर्न गराए ध्यानाकर्षण – Nepal Press

लुम्बिनी अस्पताल भवनमा विष्णु पौडेलको चासो, कुनै बहानामा ढिला नगर्न गराए ध्यानाकर्षण

रूपन्देही । पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् ।

रुपन्देही २ बाट निर्वाचित सांसदसमेत रहेका पौडेलले समयमै आयोजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिँदै उनले कुनै पनि बहानामा काम ढिला हुन नहुनेप्रति ध्यानाकर्षण गराए ।

‘यो वा त्यो बहानामा आयोजनामा ढिलाइ गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं’, उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ५ वर्षमा बनाइसक्ने लक्ष्यका साथ ६ अर्ब १८ करोड ७५ लाख लगानीको १० तले भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ १२ सय शय्या हुनेछ ।

यो पनि पढ्नुस् : बुटवल बदल्ने मेघा प्रोजेक्ट : सवा ६ अर्बमा प्रादेशिक अस्पताल बनाउन ठेक्का सम्झौता

उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, प्रदेशका सांसद, एमाले नेता कार्यकर्ताको साथमा अस्पताल पुगेका पौडेलले यो जनताको जीवनसँग जोडिएको आयोजना भएकाले समयमै काम सुरू गर्न पनि आग्रह गरे ।

‘५ वर्षे अवधिको लागि क्यालेन्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिकस्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्’, पौडेलले भने ।

रुपन्देहीकै ठूलो आयोजना भएको भन्दै उनले प्रदेशलाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि आफूले पहल गर्ने बताए ।

‘प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतै पनि चलखेल नगरी काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ’, उनले भने ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो । यस क्षेत्रको एक सय १४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल योजना बनेको लामो समयपछि निर्माणको बाटो खुलेको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत नयाँ भवनको निर्माण कार्य अगाडि बढेको हो । अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्ड सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्ने भएको छ ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर छविराज पोखरेलले बताए ।

हालको तीन सय (समितिबाट थप भएका समेत गरी ५ सय) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम १२ सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पतालमा स्तरोन्नती गर्ने प्रस्ताव गरिएको इन्जिनियर पोखरेलको भनाई छ ।

विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि नै गुरुयोजना बनाएको थियो । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *