बुटवल बदल्ने मेघा प्रोजेक्ट : सवा ६ अर्बमा प्रादेशिक अस्पताल बनाउन ठेक्का सम्झौता – Nepal Press

बुटवल बदल्ने मेघा प्रोजेक्ट : सवा ६ अर्बमा प्रादेशिक अस्पताल बनाउन ठेक्का सम्झौता

अन्डरग्राउन्ड र हेलिप्याडसँगै अत्याधुनिक सेवाको १२ सय शय्या बन्ने

रुपन्देही । लामो समय विवाद रहँदा रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नयाँ सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अघि बढेको छ । ११४ वर्ष पुरानो अस्पतालका पुराना सबै संरचना भत्काएर नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको हो ।

यसअघि गुरुयोजना बनेर ठेक्का प्रक्रियामा विवाद आएपछि रोकिएको थियो । १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेन्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो । १० तलाको नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । अस्पतालको नयाँ भवनको यही फागुन १५ गते शिलान्यास गरिँदै छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बीचमा केही विवाद हुँदा काममा विलम्ब भएको र विवाद समाधान भइसकेको काम अगाडि बढेको बताउँदै तोकिएको समयमै भवन निर्माण सक्ने गरी निर्माण सुरु हुने बताए । मन्त्री खनालका अनुसार विगतमा देखिएका सबै विवाद समाधान गरेर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन समेत गरिसकिएको छ ।

मन्त्री खनालले भने-‘आधुनिक अस्पताल भवनको निर्माण कार्य अगाडि बढेको छ, हामीले पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता पनि गरेका छौँ ।’

स्वास्थ्य मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुन लागेको बताए ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवन बनाउन सम्झौता भैसकेको र तत्कालै क्याथ ल्याब सञ्चालन भएको बताए । प्रदेश सरकारका अनुसार अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

गुरुयोजनाअनुसार अस्पताल संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिए पनि निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा भवन बनाउने गरी गत पुस २६ गते सम्झौता गरेको हो ।

लुम्बिनी प्रदेश मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पहिलो बोलपत्र आह्वान ८ फागुन ०७८ मा गरेको थियो । भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमै सेटिङ भएको खुलासा भएसँगै तत्काल सबै प्रक्रिया स्थगित भएका थिए ।

गुरुयोजना बनेर ठेक्का प्रक्रिया अगाडि बढ्नै लाग्दा प्राधिकरणले ‘भिन्ली मेडिकेटेड फ्लोरिङ’को काम गरेकालाई मात्रै प्राविधिक मूल्याङ्कनमा पास गराउने गरी टेन्डर निकालेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल यो काम अघि नबढाउन निर्देशन दिएको थियो । १२ सय शय्याको दश तले भवन निर्माणका लागि भन्दै दुई पटक आह्वान गरिएको टेन्डर विवादपछि सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम रद्द गरिएको थियो । गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । तर, अहिले रकम घटाएर ठेक्का सम्झौता गरिएको हो ।

एक सय १४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै अब्बल बनाउने सरकारी तयारी छ । बुटवल उपमहानगरपालिका–९ मा रहेको ६ बिघा १२ कट्ठा जग्गामा भवन बन्ने छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर छविराज पोखरेलले भवन निर्माण भएपश्चात् अस्पताललाई विस्तार गरी न्यूनतम १२ सय शय्याको क्षेत्रीय बहुअनुशासनात्मक अस्पतालमा स्तरोन्नति गरिने बताए । हाल अस्पतालमा तीन सय शय्याको सरकारी र एक सय शय्या समितितर्फ गरी चार सय शय्या स्वीकृत भएको भए पनि ५ सय २४ बेड सञ्चालनमा छ ।

मेसु डा सुदर्शन थापाले फागुन १५ गते शिलान्यास हुने यो नेपालमै सबैभन्दा ठूलो अस्पताल बन्ने दाबी गरे । उनका अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडी, इमरजेन्सी, इन्डोर सेवा लगायत रहने छ भने विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगायतका सबै विशेषज्ञ सेवा प्रदान गरिने छ ।

निर्माणको ठेक्का पाएको लुम्बिनी प्रादेशिक अस्पतालको आशिष, क्यापसाईट र रेलिगेट कम्पनीले काम सुरु गरेको जनाएको छ । कम्पनीले ६ अर्ब १८ करोडमा ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी माघ २७ गते सम्झौता भएको जनाएको छ । १० तला माथि र २ तला अन्डरग्राउन्ड रहने सम्झौताअनुसार काम गर्ने कम्पनीका इन्जिनियर रमेश गौतमले बताए ।

अस्पताल निर्माण गर्ने कम्पनी आशिष, क्यापसाइट र रेलिगेट दुई नेपाली एक विदेशी फर्म रहेको बताइएको छ । भवनको माथि हेलिप्याडसमेत निर्माण हुने तरिकाले भवन बन्ने डिजाइनमा छ ।

दुई तला अण्डरग्राउण्डसहित १२ तलामा निर्माण हुने अस्पतालको नयाँ भवनमा अलग्गै ‘ओन्कोलोजी ब्लक’ बन्नेछ । भवनमा विशिष्टिकृत ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा व्यवस्थित तरिकाले एउटै ठाउँबाट प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन् । भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडी, इमरजेन्सी, इन्डोर सेवा लगायत रहने छन् । यस्तै हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेर यो अस्पताललाई आधुनिक बनाउन संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले योजना सारेका थिए भने पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का संघीय सांसद विष्णुप्रसाद पौडेलले निरन्तर योजनालाई समेटिरहेका थिए । शंकर पोखरेलपछि मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले यसलाई अगाडि बढाउन खोजेपनि विवादका कारण ढिलाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर