चुरेको दोहनको असर : गोलबजारको एउटा बस्ती पानी बिना काकाकुल – Nepal Press

चुरेको दोहनको असर : गोलबजारको एउटा बस्ती पानी बिना काकाकुल

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ३ दमारकी सुनिता परियार धारामा भाँडो थापेको एक घण्टा भयो । भाँडोमा पानी आधा पनि भरेको छैन । पाइप (धारा) बाट ‘कोल्हु’बाट तिरिरी तेल झरे झैँ पानी झर्छ ।

सुनिता दुई किलोमिटर हिँडेर धारामा पुगेकी थिइन् । दुई घण्टा उभिएर एउटा भाँडोमा पानी भरिन् । त्यसपछि घर पुगिन् । उनी भन्छिन्- ‘कुनै बेला पालो नै घण्टौँ उभिनुपर्छ । पानीकै लागि ’न मर्नू न बाँच्नु’ जस्तै भएको छ ।’

दमारकै युवा दीपक परियार पानी अभावमा सधैँ नुहाउन नपाएको बताउँछन् । बिहान ६ बजे घरबाट निस्केका उनी धारामा नुहाएर मध्यान्ह १२ बजे घर फर्के । उनी भन्छन्, ‘एक भाडा पानी थापेर नुहाए र घर फर्किए । आधा दिन बितिसक्यो ।’

बाँदरे खोलाको मुहान सुकेपछि पानीको समस्या बढेको उनले सुनाए । उनका अनुसार अहिले पाइप लाइनमार्फत ल्याइएको पानी पनि बन्द हुने अवस्थामा छ । एकदमै थोरै पानी आउँछ । ‘हामी ठूलो समस्यामा छौँ । हाम्रो दुःख सरकार समक्ष पुर्‍याई दिनुस्,’ उनले बिन्ती गरे ।

लुगा बोकेर धारातर्फ गइरहेकी सरि लामा बाटोमा भेटिन् । उनले लुगा धुन हिँडेको बताइन् । अनि पानी कहाँ छ ? सोधेपछि उनले भनिन्, ‘पानी, के गर्नु ? तपाईँले देख्नु भो त । दुःख छ है हामीलाई । खोला जान त ऊ माथि पुग्नुपर्छ । तल तल सबै सुकिसक्यो ।’

उनले चुरेको फेदीमा एउटा कुवा छ, त्यही पुगेर लुगा धुने गरेको बताइन् । उनका अनुसार चुरे फेदीको त्यो इनार पुग्न तीन घण्टा लाग्छ । खानको लागि पुरानडीहको इनारबाट पानी ल्याउने गरेको उनले बताइन् ।

पुरानडीहमा समर बहादुर विश्वकर्माको आँगनमा निजी इनार छ । लाखौँ खर्चेर उनले इनार खनाएका छन् । अहिले १५ घरलाई थेगेको यो इनार पनि सुक्ने अवस्थामा पुगेको छ ।

विश्वकर्मा भन्छन्, ‘इनारमा पानी तल गएको छ । जेनतेन खान र नुहाउन मात्र पानी पुग्छ । १५ परिवार यही इनारमा निर्भर छन् । सबैलाई नि:शुल्क पानी भर्न दिएको छु । यो इनार सुक्यो भने पानी बिना मर्ने अवस्था आउँछ । उनले चिन्ता व्यक्त गरे ।

चुरेसँग टाँसिएको दमारमा ५० घरधुरीको बसोबास छ । यहाँका बासिन्दा पानी बिना काकाकुल भएका छन् । चुरे क्षेत्र भएकोले हातेकल (पाइप) जडान गर्न सम्भव छैन । इनार खन्न ७/८ लाखभन्दा बढी खर्च लाग्छ । यतिधेरै खर्च गरेर इनार खनाउन पनि सकिने आर्थिक हैसियत यहाँका बासिन्दाको छैन ।

यहाँका अधिकांश परिवारले बाख्रा पालेका थिए । जंगल क्षेत्र भएकाले चरनक्षेत्रको समस्या छैन । उनीहरूको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन थियो । बाख्रा पाल्ने र बेचेर आम्दानी गर्ने गरेका उनीहरूको गोठ अहिले रित्तै छ । ५० वर्षीया सीता परियारले पानी खुवाउन नसकेपछि बाख्राहरु बेचेको बताइन् ।

उनले भनिन्, ‘मान्छेलाई खान त पानी छैन । बाख्रालाई के खुवाउनु ? घण्टौँ हिँडेर एक गाग्री पानी ल्याउँछौँ । त्यति पानीले भात पकाउने र भाँडा माझ्ने सबै पुर्‍याउनु पर्छ । अनि बाख्रा बाख्रीलाई मर्न दिनु ? बाध्य भएर बेच्नुपर्‍यो ।’

पानीको संकट समाधान गरिदिने नेताहरूले आश्वासन दिएको तर केहि नगरेको स्थानीको गुनासो छ । ६० वर्षीय जितबहादुर लामा भन्छन्, पानीको धेरै समस्या छ ।नेताहरूले हामीलाई भोट दिनुस् । जितेपछि यता बोरिङ्ग, उता इनार खनाइदिन्छौं भनेका थिए । भोट पनि जितिसक्यो । अहिले त हामीलाई वास्तै गरेको छैन ।’

जितबहादुर जस्तै सरी लामाको पनि गुनासो छ, ‘एमालेलाई भोट दिनु घर घरमा धारा दिन्छौ भनेको थिए । भोट दिए । तर चुनाव जितेपछि केहि गरेनन् । हाम्रो दु:ख देखेनन् ।’ आफूहरू फोहोर पानी खाएर जसोतसो बाँचेको उनले दुखेसो पोखिन् ।

चैत वैशाखसम्म चुरे नजिकका सिरहाका अधिकांश उत्तरी क्षेत्रमा वर्षेनी खानेपानीको हाहाकार हुन्छ । त्यतिबेला दमारको पाइप (धारा)मा तिरिरी आउने पानी पनि सुक्छ । इनार तथा कुवाहरू पनि सुक्छ । त्यसपछि त्यहाँका बासिन्दालाई झन् जिउनै कठिन हुन्छ । पानी संकटले यहाँका बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

गोलबजार नगरपालिका ३ का वडाध्यक्ष धनप्रसाद लामाले दमारमा पानीको समस्या समाधान गर्ने बताए । उनका अनुसार दमारका लागि संघीय सरकारबाट ८० लाख बजेट आएको छ । अब छिट्टै टेण्डर हुन्छ र खानेपानीको ट्यांकी निर्माण हुन्छ ।

चुरे विनाशको असर

पछिल्ला केही वर्षमा चुरेक्षेत्रको व्यापक दोहन भइरहेको छ । हरियाली हराएको छ, जहाँ आँखा दौडायो उराठलाग्दो ढिस्कोबाहेक हरियाली देख्न सकिँदैन । प्रकृतिमा डरलाग्दो परिवर्तन आएको छ ।

अनियन्त्रित चुरे दोहनले वाटर रिचार्ज एरिया खुम्चिएर खानेपानीको हाहाकार भएको छ । विगतमा चुरे क्षेत्रमा मात्र खानेपानीको समस्या देखिएको थियो । अहिले दक्षिणतर्फ भारतीय बोर्डरसम्म खानेपानीको संकट देखा पर्न थालेको छ ।

वाटरलेभल तल भासिएपछि जहाँ एक सय फिटमा पानी आउँथ्यो, अहिले ३/४ सय फिटमा पनि पानी आउँदैन । चैत वैशाखतिर भारतीय सीमा क्षेत्रका गाउँका चापाकलहरु समेत सुक्ने गर्छन् । चुरे विनाश नरोकिए मधेश मरुभूमि बन्ने देखिन्छ ।

‘सरकारले चुरे संरक्षणको नाममा ठूलो रकम खर्चिरहेको छ,’ पत्रकार अर्जुन थपलिया भन्छन्, ‘तर चुरेको दोहन रोकिएको छैन । सरकारको सबै लगानी बालुवामा पानी खन्याए जस्तै बर्बाद भएको छ ।’ चुरेको अनियन्त्रित दोहन रोक्न र वाटरलेभल रिचार्जका उपायहरू अपनाउन सरकारलाई उनको सुझाव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *