६ महिनामा साढे २७ लाख बढी नागरिकलाई ट्राफिक सचेतना – Nepal Press

६ महिनामा साढे २७ लाख बढी नागरिकलाई ट्राफिक सचेतना

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा साढे २७ लाख भन्दा बढी नागरिकलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । गत साउनेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५३ हजार ६५८ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेर २७ लाख ६१ हजार ८७६ जनालाई सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

सवारी दुर्घटनाबाट बेलाबखत ठूलो धनजनको क्षति हुने गरेको यथार्थलाई मनन् गरी दुर्घटना न्यूनिकरण, सडक सभ्यता अभिवृद्धि र सर्वसाधारणलाई सवारी नियमबारे सचेत बनाउने उद्देश्यले सचेतना कार्यक्रम संचालन गरिएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सडक दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्ययोजना निर्माण, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी प्रशिक्षणसमेत संचालन हुँदै आएको छ ।

प्रवक्ता ढकालले भने, ‘न्यूनीकरण अभियान प्रभावकारी बनाउन सडक सुरक्षाका सबै उपाय अवलम्वन गरिएको छ । ट्राफिक व्यवस्थापनसँगै सम्बन्धित सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि र यातायात व्यवसायीसँग सवारी दुर्घटना तथा रोकथाम नियन्त्रण सम्बन्धी छलफल, समन्वय र सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ । यसबाट ट्राफिक व्यवस्थापनलाई थप चुस्त राख्न विशेष सहयोग पुगेको छ ।’

गगनगौंडा कास्कीमार्फत सबैभन्दा बढी करिब सात लाख लाभान्वित

यसै अवधिमा सबैभन्दा बढी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा कास्कीले १६ हजार २७७ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दा त्यहाका ६ लाख ९५ हजार ७०६ जना लाभान्वित भएका छन् ।

दोस्रोमा रामनगर चितवनले चार हजार २७७ पटक कार्यक्रम सञ्चालन गर्दा पाँच लाख ८६ हजार ४३३ जना नागरिक लाभान्वित भएका छन् भने तेस्रोमा पथलैया बाराले पाँच हजार २१३ पटक कार्यक्रम सञ्चालन गर्दा तीन लाख ७२ हजार ३२२ जना नागरिक लाभान्वित भएका छन् ।

यस्तै बुटवल रूपन्देहीले ६ हजार ९४५ पटक कार्यक्रम सञ्चालन गर्दा तीन लाख ४ हजार ५२३ जना नागरिक लाभान्वित हुदाँ ईटहरी सुनसरीले १२ हजार ४१८ पटक कार्यक्रम सञ्चालन गर्दा दुई लाख ८४ हजार ८२३ जना नागरिक लाभान्वित भएका छन् ।

अत्तरीया कैलालीले दुई हजार ७०२ पटक कार्यक्रम संचालन गर्दा दुई लाख १५ हजार २५४ जना लाभान्वित भएका छन् भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तीन हजार २१४ पटक कार्यक्रम सञ्चालन गर्दा एक लाख ९९ हजार ४८ जना नागरिक लाभान्वित भएका छन् ।

र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले दुई हजार ६५२ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दा एक लाख तीन हजार ७६७ जना नागरिक लाभान्वित भएका छन् । सवारी जाँचमा कडाइ र नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाहलाई चुस्त बनाइएको प्रहरी प्रवक्ता डीआईजीपी ढकालको भनाइ छ ।

सचेतना कार्यक्रम अन्तर्गत दुई हजार ३९० पटक विद्यार्थीलाई कक्षा संचालन, चार सय २० पटक सामुदायिक सेवामार्फत कक्षा संचालन, दुई हजार ३९२ पटक नयाँ चालकलाई कक्षा संचालन, १४ हजार १३ पटक व्यावसायी र चालक तथा परिचालकलाई कक्षा संचालन गरिएको छ ।

साथै आठ हजार ९८७ पटक सर्वसाधरणलाई कक्षा संचालन, ६८९ पटक अन्तरक्रिया तथा गोष्ठी, एक हजार ६३९ पटक ट्राफिक डे तथा सप्ताह, एक हजार ७६ पटक चेतनामुलक माईकिङ, १४ हजार ७७२ पटक चालक तथा यात्रुमैत्री कक्षा संचालन र ५०१ पटक ओभरटेक सम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा ६ हजार ८१९ पर्चा, पम्प्लेट, पोष्टर वितरण गरिएका छन् ।

सचेतना कार्यक्रममा सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षा सम्बन्धी सचेत गर्ने काम पनि प्रहरीले गर्दै आइरहेको जनाइएको छ । भाडा तथा टिकटमा ठगी लगायतका यात्रुको समस्या प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘ट्राफिक प्रहरी अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाउने गरिएको छ ।’

बढ्दो सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी कार्यक्रम अभियान कै रूपमा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसबाट मापसे गरी सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, लापरबाहीसाथ सवारी चलाउने चालकलाई सचेत गराउन सहयोग पुगेको प्रहरीको दाबी छ । ‘सवारी दुर्घटनाबाट बचौं र बचाऔं । सवारी दुर्घटना न्यूनिकरणमा तपाई हाम्रो भूमिका छ’ भन्ने लगायतका नारासहित संचालन हुने यस्ता सचेतना कार्यक्रममा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सामाजिक संघ संस्था, यातायात व्यवसायी, खेलाडी, आम नागरिक लगायत विभिन्न सरोकारवाला निकायको सक्रिय सहभागिता हुने गरेको प्रहरीले जनाएको छ ।

यसबाट जीवन पद्धतिको प्रमुख आधार रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न अहम भूमिका निर्वाह भएको प्रहरी प्रवक्ता डीआईजीपी ढकालको भनाई छ ।

उनले भने, ‘सचेतना कार्यक्रममार्फत दुर्घटना न्यूनीकरण, सवारी नियमबारे चेतना फैलाउनुका साथै चालक तथा सहचालकमा आचरण, बानी, व्यवहार र बोलीचालीमा गुणात्मक परिवर्तन ल्याउन सफल भएका छौं ।’

विभिन्न सडकखण्डमा पार्किङको व्यवस्थाको साथै नो–पार्किङ, हर्न निषेध, दुर्घटनाग्रस्त क्षेत्र, रोक्न निषेध लगायतका ट्राफिक संकेत बोर्ड विभिन्न क्षेत्रमा राख्ने गरिएको उनले बताए । यसबाट दुर्घटनाग्रस्त क्षेत्रमा चालकलाई सचेत गराउन सहयोग मिलेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर