बक्यौता तिर्ने समय बाँकी रहँदै क्यानले किन गर्‍यो सिम्रिकको उडानमा प्रतिबन्ध ? – Nepal Press

बक्यौता तिर्ने समय बाँकी रहँदै क्यानले किन गर्‍यो सिम्रिकको उडानमा प्रतिबन्ध ?

सिम्रिक भन्छ- क्यानले प्रतिशोध साँध्यो, आजबाट अरुको पनि प्रतिबन्ध लगाइएको क्यानको प्रष्टीकरण

काठमाडौं । सिम्रिक एयरले बक्यौता नतिरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार उडानमा प्रतिबन्ध लगाएको बतायो । तर, क्यानले नै साउन २१ गते बक्यौता तिर्न सिम्रिकलाई पठाएको पत्रमा सात दिनको समय दिएको पाइएको छ ।

यस आधारमा पनि उसले दिएको समय सकिनु २ दिनअघि नै उडान प्रतिबन्ध गरिएको जानकारी क्यानले मिडियालाई गरायो । क्यानले सिम्रिकले ४६ लाख सेवा शुल्क तिर्न बाँकी रहेको भनेको थियो । तर, उसले सिम्रिकलाई पठाएको पत्रमा २७ लाख ७३ हजारमात्र बक्यौता देखिन्छ ।

बक्यौता तिर्न दिइएको म्याद सकिनुअघि नै किन उडान प्रतिबन्ध लगाइएको भन्ने प्रश्नमा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यो विषय महानिर्देशकको तजविजको अधिकारको कुरा भएको र समय सकिन्जेल कुरेर बस्नु नपर्ने बताए ।

‘हेलिकप्टरहरूले सेवाशुल्क आर्थिक वर्षको अन्त्यसम्म तिरिसक्नुपर्ने हो तर साउनको २१ गते भइसक्दा पनि कानमा किन तेल हालेर किन बसे ?’ उनले भने, ‘हामीले आजबाट बक्यौता नतिर्ने प्रभु र फिस्टेलको उडानमा पनि प्रतिबन्ध लगाएका छौं । उनीहरूले आजै बक्यौता तिरे भने आजै खुल्छ नतिरे खुल्दैन तर उद्धार उडानमा भने प्रतिबन्ध लगाएका छैनौं ।’

अर्थ विभागले नै ४६ लाख बक्यौता रहेको जानकारी गराएको उनको भनाइ छ । ४६ लाखको जानकारी दिएर पत्रमा २७ लाख लेखेको हो भने त्यो कर्मचारीमाथि कारबाही हुने भुलको भनाइ छ ।

नियामक निकायले नै उडानमा प्रतिबन्ध लगाएको भ्रामक समाचार फैलाएको भन्दै सिम्रिक एयरले आपत्ति जनाएको छ ।

सिम्रिक एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हालै विभिन्न डिजिटल मिडियाको माध्यमबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै लेखेको गलत र भ्रामक समाचारहरूप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

क्यानले दिएको समय सकिन बाँकी रहँदै बदनीयतपूर्ण तरिकाले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गर्दै संस्थाको गरिमामा आँच पुर्‍याएको सिम्रिकको गुनासो छ ।

विगत केही समयदेखि प्राधिकरणले निजि क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीलाई विभिन्न वहानामा निरुत्साहित गर्ने काम गरिरहेको भन्दै क्यानको कदमको विरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *