गत आर्थिक वर्षकाे काठमाडौं महानगरको राजस्व १० अर्ब २५ करोड – Nepal Press

गत आर्थिक वर्षकाे काठमाडौं महानगरको राजस्व १० अर्ब २५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । महानगरले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो ।

अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि महानगरले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।

आव २०७८/०७९ मा महानगरले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी रु एक अर्ब ३६ करोड बढी असुल भएको महानगर राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार महानगरले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।

जसमा सबैभन्दा बढी बहाल करमा दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताए । त्यस्तै नक्शापास दस्तुरबाट १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो ।

आव २०७८र०७९ मा जम्मा चार अर्ब ४६ करोड आन्तरिक राजस्व उठाउन सफल भएको महानगरले आव २०७९र०८० मा पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।

महानगरले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५र१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।

गत आवमा बाँडफाँटबाट महानगरले एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भने,“अघिल्लो वर्षको तुलनामा एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब ५५ करोड प्राप्त गरेको थियो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर