यश कुमारको म्युजिकल भिडिओ- नगरप्रहरी र मकैवालीको मर्मस्पर्शी प्रेमकथा – Nepal Press

यश कुमारको म्युजिकल भिडिओ- नगरप्रहरी र मकैवालीको मर्मस्पर्शी प्रेमकथा

काठमाडौं । काठमाडौंको सडक व्यापारीहरूका लागि सबैभन्दा ठूलो आतंक हुन् नगर प्रहरी । गुजाराका लागि सडकमा सानोतिनो व्यापार गर्नेहरू नगर प्रहरी देख्नासाथ ठाडो पुच्छर लाएर कुद्न बाध्य हुन्छन् ।

काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र साह निर्वाचित गरेपछि झन् सडक व्यापारमा कडा प्रतिबन्ध लगाइदिए । त्यसयता नगर प्रहरीले सडक व्यापारीबीच घम्साघम्सीको अनेक भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसले गर्दा नगर प्रहरीप्रति सडक व्यापारीमा एकदमै नकारात्मक छाप बसेको छ ।

यति गफ यहाँ किन लगाइएको हो भने अहिले एउटा सांगीतिक भिडिओ आएको छ, जसमा नगर प्रहरी र सडकमा मकै पोल्ने युवती प्रमुख पात्र बनाइएको छ ।

नगर प्रहरी र मकैवाली प्रेममा परेको मिठो परिकल्पनामा सिर्जित भिडिओले जोकसैको मन पगाल्छ ।

यश कुमार र अनु चौधरीले गाएको ‘सुस्तरी सुस्तरी…’ बोलको गीत सामान्य छ । तर, भिडिओ बबाल बनाएका छन् यस कुमार र निर्देशक निकेश खड्काले । भिडिओ हेर्दा एउटा सिंगो फिल्म हेरेजस्तो मजा लिन सक्नुहुन्छ ।

यश कुमार आफैँले नगर प्रहरीको भूमिका निभाएका छन् भने अनु थापा मकैवालीको भूमिकामा छिन् । अनुकाे अभिनय निकै जिवन्त छ । याे भिडिओमा मकैवालीले एक नगरप्रहरीलाइ थप्पड हानेकाे दृष्य सुटिङका क्रममा नै टिकटकमा भाइरल भएको थियो । धेरै मानिसहरुले साँच्चिकै ठानेर कमेन्ट गरेका थिए । यसबाट पनि थाहा हुन्छ, अनुकाे अभिनय कति यथार्थपरक छ भन्ने ।

सडक व्यापारी लखेट्न जाने क्रममा यशकुमारको आँखामा पर्छिन् मकैवाली अनु । लभ एट फर्स्ट साइट हुन्छ उनलाई । त्यसपछि त के थियो, उनी हरेक पटक सडक व्यापारी उठाउन हिँड्नुअघि अनुलाई फोन गरेर पूर्वसूचना दिन्छन् ।

कथाको सुरुवात यसरी रोचक तवरबाट भएको छ भने इन्डिङ मर्मस्पर्शी छ । भिडिओमा मुलतः सडक व्यापारीहरूप्रति सहानुभूति दर्शाइएको छ । नगर प्रहरीको ज्यादति देखाइएको छ । तर, बालेनका समर्थकहरू नबिच्किउन् भनेर हुन सक्छ, इन्डिङमा व्यालेन्स गर्न खोजिएको छ ।

जे भए पनि यो भिडिओले हरेकको हृदयमा एउटा झन्कार पैदा गर्न सक्छ । एकपटक हेर्न सिफारिस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर