भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको चासो, ढिलाई भएको निजी क्षेत्रको गुनासो – Nepal Press

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको चासो, ढिलाई भएको निजी क्षेत्रको गुनासो

रुपन्देही ।बौद्ध धर्मावलम्बीहरु धेरै रहेको भुटानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानको अनुमति मागेसँगै लामो समयदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश स्थानीयलाई खुसी बनाएको छ ।

अहिलेसम्म काठमाडौंबाट मात्र उडान भरिरहेको भुटानले बुद्ध जन्मस्थल रुपन्देहीमा रहेको यो विमानस्थलबाट उडानको अनुमति मागेको हो । ०७९ जेठ २ गतेबाट संचालनमा आएको यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि स्थानीयलाई निरास बनाएको छ।

सातामा तीन उडान गरिरहेको जजिरा एयरलाइन्सले भैरहवामा केही समययता आफ्नो उडान स्थगित गरी काठमाडौं केन्द्रित गरेको छ । हिमालय एयरले पनि उडान रोकेको महिनौं भएको छ । लामो समय विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल उडानबिहीन हुँदा निजी क्षेत्रमा चरम निराशा छ । भुटानले नियमित उडान गर्यो भने राहत मिल्ने व्यवसायी बताउँछन् ।

गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर निजी क्षेत्र भैरहवा र आसपासमा अर्बौं लगानी गरेका छन् ।भुटानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडानको प्रस्ताव गरेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ले भैरहवा र पोखराबाट उडान अनुमति मागेपछि अर्र्बौ लगानी गरेको निजी क्षेत्र उत्साहित बनेको छ ।

भुटानले उडान अनुमति माग गरेर गत शुक्रबार नेपाल नागिरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो ।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या नरहेको प्राधिकरणले जनाएको छ । भुटानी वायुसेवाले नेपालमा दशकौंदेखि उडान भर्दै आइरहेकाले छ ।

दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।

नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुनसक्ने भुटानको आकलन छ  । चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ । भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ  ।

लामो समयदेखि यो विमानस्थललाई पूर्ण रुपमा संचालनका लागि माग गर्दै आएका पर्यटन व्यवसायी र निजी क्षेत्रले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उठानको चासो राखेपनि सरकारले आवश्यक वातावरण तयार नगरेको र क्यान आफै यसका लागि सहज नभएको गुनासो गरेका छन् ।

‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भए, यहाँ चालु गराउने विषय भन्दा अर्को ठाउँमा विमानस्गल बनाउन ध्यान दिएको पाइएको छ, संरचना निर्माणमा मात्रै ध्यान गयो, संचालनमा गएन, यहाँ निजी क्षेत्रको अर्बौं लगानी भएको छ त्यसमा ध्यान पुगेन’ एक पर्यटन व्यवसायीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर