वेदनाको पोको बोकेर २५ दिनमै दुबईबाट फर्किइन् गीता – Nepal Press

वेदनाको पोको बोकेर २५ दिनमै दुबईबाट फर्किइन् गीता

रुपन्देही । २८ वर्षको उमेरमा पति वियोगमा परेको दुई महिनामै नाबालक दुई छोराहरूसहित परिवारको खर्च चलाउन दुबई पुगेकी कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नं १ कपासीकी गीता भुसाल २५ दिनमै सहनै नसक्ने पीडा बोकेर नेपाल फर्किएकी छन् ।

यही वैशाख ७ गते भारतमा रोजगारी गरेर फर्केका श्रीमानले ३२ वर्षकै उमेरमा आत्महत्या गरेपछि विवाह गरेको १४ वर्षमै उनलाई ठूलो बज्रपात आइलागेको थियो ।

स्थानीय पारिजात बोर्डिङ स्कुलमा पढ्ने १२ र ९ वर्षका दुई छोराहरू, बूढा भएका सासू ससुराको परिवार खर्च चलाउने वैकल्पिक उपाय खोज्न माइती, घरपरिवारको सल्लाहमा उनी दुबई गएकी थिइन् । तर उनले काममा लागेको पहिलो महिनाको तलबसमेत बुझ्न नपाउँदै घरमा रहेका दुवै छोराहरू सर्पदशंबाट गुमाउनुपर्‍यो ।

कुनै आमा जुन सन्तानको खुसीका लागि पतिविगोयको दुई महिने पीडा थामेर श्रम गर्न विदेश जान्छिन् तर त्यहीँ नै दुवै सन्तान गुमाउनु पर्दाको अवस्था कस्तो होला रु तर मङ्गलवार त्यस्तै असह्य पीडा सहेर गीता दुबईबाट काठमाडौँ आइसकेकी छन् ।

भुसालका आफन्तका अनुसार उनी मङ्गलवार राती नै काठमाडाैं झरेकी हुन् । बुधवार भैरहवा विमानस्थलबाट उनी घर आउँदैछिन् । कपिलवस्तुको जिल्ला अस्पतालको शव गृहमा उनका छोराहरूको शव राखिएको छ ।

यो पनि पढ्नुस् : श्रीमान् गुमाएपछि दुबई पुगेकी गीतालाई अर्काे बज्रपात– सर्पले टाेकेर दुवै छोराकाे मृत्यु (अडिया‍े)

२५ दिनअघि हँसिला अनुहारमा छाडेका ती छोराहरूको अन्तिम अनुहार गीताले हेरेपछि मात्रै अन्त्येष्टिको प्रक्रिया अगाडि बढ्ने छ । छिमेकी शारदा बन्जाडेका अनुसार गीताले छोराहरूको मुख हेरेपछि अन्त्येष्टि गरिने छ ।

श्रीमानले आत्महत्या गरेपछि परिवारको जिम्मा गीता एक्लैको काँधमा आइलागेको थियो। वृद्ध अवस्थाका सासू, ससुरा र दुई नाबालक छोराहरूको जीवन सम्भार्ने जिम्मेवारी उनकै भयो। श्रीमानको काजकिरिया सकेपछि छोराहरूको उज्यालो भविष्य बनाउने सपना देखेर उनी दुबई गएकी थिइन् । तर गएको एक महिना पनि नहुँदै उनीमाथि यस्तो बज्रपात पर्‍यो।

मङ्गलवार बिहानै उनले आफ्ना दुवै नाबालक छोराको मृत्युको खबर सुन्नुपर्‍यो।

गीताका छोराहरू ११ वर्षे दीपक र ९ वर्षे प्रदीप हजुरबुवा हजुरआमासँग बस्थे। दुवै जना गोरूसिंगेको पारिजात बोर्डिङ स्कुलमा पढ्दै थिए।

सोमबार उनीहरू दिनभरि स्कुलमा पढेर घर गएपछि खाना खाइवरी हजुरआमा बसन्ता भुसालसँगै भूँईका बिस्तारा लगाएर सुतेका थिए।
उनीहरूको एकतले घरको कोठामा हजुरबुवा खाटमाथि सुते भने दुवै नाति लिएर हजुरआमा भुइँमा सुतेकी थिइन् ।

भुसाल परिवारमा परेको यो पीडाले स्थानीयलाई शोकमग्न बनाएको छ । सबै गीतालाई कुरेर ती नाबालकहरुको अन्तिम श्रद्धान्जलीका लागि कुरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *