फेसबुकले निम्तो पठाएका नेपाली ह्याकर, जसलाई कोरियाले भिसामा पत्याएन – Nepal Press

फेसबुकले निम्तो पठाएका नेपाली ह्याकर, जसलाई कोरियाले भिसामा पत्याएन

'राज्यले हामीलाई संरक्षण नगर्ने हो भने पलायन हुनुको विकल्प देखिँदैन'

काठमाडौं । यदि दक्षिण कोरियाको भिसा लागेको भए यतिवेला साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेल (२२) लगेज मिलाउँदै गरेका हुने थिए । फेसबुकले आयोजना गरेको ३५ देशका ६५ ह्याकरको सम्मेलनको निम्तो सौगातले पाएका थिए । सौगातसहित रिकेश बानियाँ र मनोज गौतमलाई फेसबुकले निम्तो पठाएको थियो ।

तर, दुईदुई पटक कोसिस गर्दा पनि सौगातहरूको भिसा लागेन । भिसा नलाग्नुको गुनासो उनले फेसबुकमार्फत् पोखे, ‘संसारकै सबैभन्दा कमजोर पासपोर्ट बोक्नुको पीडा अन्य देशले भिसा अस्वीकृत गर्दामात्रै महसुस गरें ।’

सौगात विगत चार वर्षदेखि इथिकल ह्याकिङ क्षेत्रमा सक्रिय छन् । सौगातजस्ता ह्याकरलाई ‘ह्वाइट ह्याट’ भनिन्छ । जसको काम भनेको गलत नियतले गैरकानूनी रुपमा काम गर्ने ह्याकर ‘ब्ल्याक ह्याट’हरुलाई रोक्नु हो । गलत तरिका प्रयोग गरेर लाखौं लाइक बटुल्ने, वेबसाइट नै ह्याक गरेर करोडौं रकम माग्ने ह्याकरहरुको कामलाई नियन्त्रण गर्नु नै सौगातहरुको पेशा हो ।

जस्तो, कुनै ब्ल्याक ह्याटले फेसबुकमा लाखौं लाइक बढाएर पैसा असुलिरहेका छन् । त्यस्ता गलत कामहरु रोक्न रिसर्च गरेर सौगातहरु सम्बन्धित ठाउँमा ‘यस्तो भइरहेको छ’ भनेर जानकारी दिन्छन् ।

सौगातले ४ वर्षदेखि फेसबुक, इन्स्टाग्राम, ह्वाटस् एपलगायत एपहरुका सुरक्षा कमजोरीहरु पत्ता लगाउँदै आएका छन् । यही सिलसिलामा साइबर सुरक्षा अनुसन्धानमा सहयोग गर्ने ह्वाइट ह्याटहरुका लागि फेसबुकले वार्षिक रुपमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्छ । यस वर्ष जुन २८ देखि जुलाइ १ सम्म दक्षिण कोरियाको सियोलमा हुने तीन दिने मेटा बग बाउन्टी रिसर्चर कन्फ्रेरेन्स त्यसैको निरन्तरता थियो । तर, फेसबुकले बोलाएर पनि दक्षिण कोरियाले भिसा नदिएपछि सौगातहरुको सम्मेलनमा सहभागी हुने सपना तुहियो ।

‘भिसाका लागि हामीले चाहिने कागजपत्र सबै बुझायौं । तर, दुईपटक बुझाउँदा पनि भिसा रिजेक्ट भयो’, सौगात भन्छन्, ‘किन यस्तो भयो भन्दा नेपालमा बढ्दो बेरोजगारी, युवाहरुमा निराशा भएकाले बाहिर देशमा अवसर खोज्छन् । सकेसम्म विदेश नै पलायन हुन चाहन्छन् । कतार, मलेसिया पुगेर पनि इलिगल तरिकाले बस्दा रहेछन् । त्यही कारण नै हामीले भिसा पाएनौं ।’

भिसा प्रक्रियाकै क्रममा सौगातले बुझे, धेरै मान्छे भिजिट भिसामा गएर विदेशतिरै हराउँदा रहेछन् । राष्ट्रिय खेलाडी, कलाकारहरुसमेत त्यसरी हराउँदा रहेछन् । त्यही भएकाले नै भिसामा कडाइ गरेका रहेछन् ।

सौगात भन्छन्, ‘लेबनान, सिरिया जस्ता मुलुकले फेसबुकको सम्मेलनमा प्रतिनिधित्व गर्दै गर्दा नेपाल भने यस्तो देश बन्यो, जसको पासपोर्टलाई दक्षिण कोरियाले पत्याएन । हाम्रो देशको प्रतिनिधित्व भएन ।’

गत वर्ष अमेरिकाको लस भेगसमा भएको लाइभ ह्याकिङ इभेन्टमा पनि भिसाकै कारण जान पाएनन् । गत वर्ष सिंगापुरका सम्मेलनमा भने गएका थिए ।

फेसबुकले कुनै नयाँ एप वा फिचर ल्यायो भने त्यसलाई टेस्ट गर्न ह्वाइट ह्याकरहरुलाई दिन्छ । अनि उक्त एप वा फिचरको सुरक्षा कमजोरी पत्ता लगाएर रिपोर्ट बुझाएपछि रिवार्डस्वरुप फेसबुकले हजारौं डलर नगद दिन्छ । सौगातका अनुसार रिवार्ड पनि कम्तीमा पाँच सय डलर हुन्छ ।

यो क्षेत्रमा सौगात संयोगले छिरेका रहेछन् । सन् २०१९ मा फेसबुक चलाउँदै गर्दा सौगातको म्यासेन्जरबाट गल्तीवश तीनजना अपरिचित मान्छेलाई म्यासेज गयो । त्यसले उनलाई नराम्रो महसुस गरायो ।

‘मैले यो कुरा जानीजानी गरेको होइन भनेर फेसबुकलाई भन्नुपर्छ भन्ने लाग्यो । यो कुरा भन्ने ठाउँ खोज्दै जाँदा फेसबुक डटकम स्ल्यास ह्वाइट ह्याट भन्ने लिंक भेटाएँ । फेसबुकका कमजोरीलाई त्यहाँ रिपोर्ट गर्न सकिने रहेछ’, सौगात सुनाउँछन्, ‘त्यसबाट मैले दुई हजार डलर पाएँ । ओहो, यस्तो पनि हुँदो रहेछ भन्ने लाग्यो । अध्ययन गर्दै जाँदा यो फिल्डमा केही नेपालीहरु पनि हुनुहुँदो रहेछ । यूट्युब, गुगलमा यसबारे पढ्दै जाँदा रमाइलो लाग्यो । अहिले यही क्षेत्रमा काम गरिरहेको छु ।’

सौगातले अहिले राम्रै कमाइरहेका छन् । साइबर सुरक्षा क्षेत्रमा अन्य नेपालीहरुले पनि राम्रो काम गरिरहेका छन् । तर, राज्यको तहबाट केही काम नहुँदा भने उनी खिन्न हुन्छन् । सौगातका अनुसार अहिले नेपाली ह्वाइट ह्याटहरुले गुगल, माइक्रोसफ्ट, एप्पल जस्ता ठूल्ठूला कम्पनीका कमजोरी पत्ता लगाएर लाखौं कमाइरहेका छन् ।

सौगात भन्छन्, ‘यो नयाँ र नौलो क्षेत्र भएकाले पनि हो कि राज्यले नचिनेको जस्तो लाग्छ । यदि चिन्न ढिला गरेमा यस क्षेत्रबाट हुने घाटा र क्षति अबको पुस्ताले भोग्नुपर्छ ।’

सरकारी क्षेत्रमा आईटीसम्बन्धी सूचना प्रविधि अधिकृत वा कम्प्युटर इञ्जिनियर भन्ने हुन्छ । त्यहाँ साइबर सुरक्षालाई जोडे दक्ष जनशक्ति देशमै अडिने सौगातको विश्लेषण छ । त्यसो हुँदा सरकारको साइबर सुरक्षा नीति बनाउनेदेखि लिएर सरकारका महत्वपूर्ण डाटाहरु ब्ल्याक ह्याटको हातमा पर्नबाट जोगिने बताउँछन् उनी ।

सौगात अहिले ब्याचलर इन कम्प्युटर एप्लिकेसन्स पढिरहेका छन् । सन् २०२० मै सौगातले ६ हजार डलरको पुरस्कार थापेका थिए । फेसबुककै प्यारेन्ट कम्पनी इन्स्टाग्राममा एक कमजोरी पत्ता लगाएका थिए । सन् २०१७ मा युरोपियन युनियनले सञ्जाल प्रयोगकर्ताले आफ्नोबारेमा वेबसाइटमा के के जानकारी छन्, हेर्न पाउनुपर्ने नियम ल्यायो । ईयूको नीतिलाई फेसबुकले सहजीकरण गर्न डेटा डाउनलोड भन्ने टुल ल्यायो । त्यहाँबाट फेसबुक या इन्स्टामा भएका आफ्ना सबै जानकारी हेर्न मिल्थ्यो ।

इन्स्टाले प्रयोगकर्ताले डिलेट गरेका फोटो या म्यासेजहरु तीन महिनाभित्र डिलेट गरिसक्ने बताएको थियो । तर, डेटा डाउनलोड गरेर हेर्दा सौगातकै तीन वर्ष अगाडिको डिलेट गरिएका म्यासेज, फोटोहरु डिलेट नगरेका रहेछन् । त्यो थाहा पाएपछि सौगातले रिपोर्ट गरे । सौगातले रिवार्डस्वरुप ६ हजार डलर पाए ।

सौगातले इन्स्टालाई सचेत गराएको घटना संसारभरका मिडियाले कभरेज गरे । नेपाली मिडियाले पनि कभरेज गरे । सबैथोक देखेपछि सुरुमा विश्वस्त हुन नसकेको परिवार पनि सौगातको कामप्रति विश्वस्त भयो । विगत चार वर्षदेखि यसरी काम गरेर सौगातले नाम कमाइरहेका छन्, दाम कमाइरहेका छन् । तर, यसपटक दक्षिण कोरियाली दूतावासले सौगातलाई पत्याएन ।

सौगात भन्छन्, ‘भिसा नपाउनु मेरा लागि ठूलो सेटब्याक हो जस्तो लाग्छ । कमजोर पासपोर्टकै कारण विभिन्न अवसरहरुबाट वञ्चित भइरहेको हुँ कि जस्तो लाग्छ । मैले भिसा नपाएको स्टाटस लेखेपछि साथीहरुले ‘तिमी जस्तो मान्छे किन नेपालमा बस्ने, आइहाल’ भनेर सल्लाह दिए । यस्तै कुराले विदेशतिरै डोरिन्छु कि जस्तो लाग्छ । तर, सकेसम्म नेपालमै बसेर यही क्षेत्रमा योगदान दिने चाहना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर