ध्यान र शान्तिको केन्द्र लुम्बिनीमा योगाभ्यासको आकर्षण (तस्विर) – Nepal Press

ध्यान र शान्तिको केन्द्र लुम्बिनीमा योगाभ्यासको आकर्षण (तस्विर)

रुपन्देही । ध्यान र शान्तिको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबार फरक वातावरण थियो । सधैंजसो चिटिक्क परेका सर्ट, कोट, पाइन्ट, कुर्ता सुरुवाल र सारीमा सजिने पुटुस्स पेट निस्किएका शीर्ष नेताहरुमात्रै होइन राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसमेत फरक पोशाकमा उपस्थित थिए ।

अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा ध्यान र शान्तिको यही केन्द्रमा उनीहरु यसरी फरक पोशाक लगाएर सहभागीमात्र भएनन् योगाभ्यास नै गरे । शान्ति र सद्भावका लागि योगाभ्यास गराउन उनीहरुलाई आयोजकले लुम्बिनीमा निम्त्याएको थियो ।

लुम्बिनी विकास कोष, भारतीय राजदूतावास, पतञ्जली नेपालको आयोजनामा मंगलबार बिहानै मायादेवी मन्दिर परिसरमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका व्यक्तित्वहरुको सहभागी थिए । उनीहरुको सक्रिय सहभागिताले लुम्बिनी विकास कोषका पदाधिकारी, योगका अभियन्ताहरु र स्थानीय उत्साहित देखिन्थे ।

पतञ्जली र स्थानीय गरी लुम्बिनीमा ४०० जनाको उपस्थितिमा योगाभ्यास गराइएको थियो । योग दिवसको अवसरमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवाली र नवलपरासीका अध्यक्ष नरुपति पाण्डेयले योगाभ्यास गराएका थिए ।

उक्त अवसरमा पर्यटनमन्त्री किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्य लाभसँग मात्र होइन मानवलाई योगले विश्व ब्रह्माण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोड्ने बताए ।

भारतीय उपमहाद्वीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको बताउँदै उनले अहिले विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको र महर्षि पतञ्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरे पनि योग सूत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको र यसको लागि गौतम बुद्धको नाम अग्रपंक्तिमा आउने उल्लेख गरे ।

मन्त्री किराँतीले नेपाल र भारतबीच २३०० वर्ष अघिदेखिको व्यापार सम्बन्धबाट छिमेकी सम्बन्ध सुरु भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको दाबी गरे । उनले रामविना नेपाल र सीताविना भारत अपूर्ण हुनेसमेत बताए । मन्त्री किराँतीले भैरहवा विमानस्थलको हवाई रुटका विषयमा भारत सरकार सकारात्मक रहेको जानकारी दिए ।

भारतीय राजदूत नवीन श्रीवास्तवले योग भारतबाट सुरु भएको र यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए । उनले नेपाल-भारत सम्बन्ध युगौंदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सुमधुर बनेको बताए ।

भारतीय राजदूतावासले नेपालमा प्रत्येक वर्ष दिवस मनाउने कार्यक्रमअन्तर्गत यो पटक लुम्बिनी र पोखरामा मनाइएको दूतावासका निरज भण्डारीले बताए ।

प्रत्येक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । शान्तिको कामना गर्दै ध्यान गर्नेहरुको रोजाइमा परेको बुद्धस्थल लुम्बिनीलाई योगसँग पनि जाडेर अगाडि लैजान सकिने र यसले लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न सकिने योग अभियन्ताहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *