स्वर्णिमले किटान गरेको अक्षम गिरोह र ‘करप्ट लेडी’ लाई जेल हाल्ने अडियो टेपको कनेक्सन – Nepal Press

स्वर्णिमले किटान गरेको अक्षम गिरोह र ‘करप्ट लेडी’ लाई जेल हाल्ने अडियो टेपको कनेक्सन

काठमाडौं । २०४२ सालदेखि संलग्न रहेको पार्टी नेपाली कांग्रेस परित्याग गर्दै अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले उल्लेख गरेको ‘शेरबहादुर-आरजु गिरोह’ भन्ने शब्दले अहिले कांग्रेसमा सबैभन्दा बढी चर्चा पाएको छ ।

सूर्यबहादुर थापाले पञ्चातयकालमा प्रयोग गरेको ‘भूमिगत गिरोह’ भन्ने शब्दले त्यो बेलामा राजनीतिमा जति स्थान पाएको थियो, कांग्रेस वृत्तमा स्वर्णिम वाग्लेले प्रयोग गरेको ‘अक्षम गिरोह’ ले उत्तिकै चर्चा पाएको छ ।

वाग्लेले आफ्नो व्यक्तव्यमा लेखेका छन्- जननायक बीपी कोइराला, गणेशमान सिंह, सूवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजू-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।वाग्लेले ईंगित गरेका दाइ-भाउजू त शेरबहादुर देउवा र डा. आरजु राणा देउवा हुन् भन्नेमा कुनै अन्यौल रहेन । उनले भनेका साला र भतिजहरूको चर्चा कांग्रेसजनमा अहिले बढी चलेको छ ।

देउवाका दुईजना भतिजा अहिले कांग्रेसमा शक्तिशाली मानिन्छन् । शक्तिशाली यस अर्थमा कि देउवा दम्पतीसम्म पुग्नका लागि उनीहरूमार्फत जानुपर्छ धेरैलाई । देउवाको स्वकीय सचिव रहेका भानु देउवा यद्यपि लो प्रोफाइलमा रहन रुचाउने पात्र हुन् ।

आरजुको स्वकीय सचिव रहिसकेका अर्का भतिजा प्रकाश देउवा भने अहिले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री नै भइसकेका छन् । बाल कांग्रेस भनेर चर्चित बनेका प्रकाशले आरजुको भिटो प्रयोग गरेर टिकट पाएका थिए । उनी प्रदेश संसदीय दलको नेतासमेत बन्न खोजेका थिए ।

डा. वाग्लेले भनेका भतिजा उनीहरू नै भएको कांग्रेस नेताहरू बताउँछन् । उनले इंगित गरेका साला चाहिँ डा. आरजुका सहोदर भाइ भुषण राणा हुन् । ठूला ठेक्का पट्टा र आर्थिक चलखेलका निर्णयमा भुसण प्रत्यक्ष जोडिने गरेका छन् । त्यस्तै देउवाकै सालो पर्ने प्रमोद राणा पनि स्वर्णिमले भनेको गिरोहमा पर्छन् ।

देउवा प्रधानमन्त्री भएको बेला बहुचर्चित वित्तीय गठबन्धनमा पनि यिनीहरूकै नाम थियो । स्वर्णिमले कांग्रेस छाड्दै गर्दा कसरी पछिल्लो दशक पार्टीसत्ता र राज्यसत्तामा देउवाको परिवारका सदस्यले दोहन गरे भन्ने इंगित गरेको नेताहरु बताउँछन् ।

यो पनि पढ्नुस् : राजनीतिभन्दा बलियो वित्तीय गठबन्धन

स्वर्णिम वाग्ले कसरी देउवा परिवारको तारो बने ? यो भने कांग्रेस वृत्तमै अझै प्रष्ट भइसकेको छैन । किनकी उनलाई योजना आयोगको उपाध्यक्षसम्म बनाएर सामाजिक तथा राजनीतिक छबी बनाइदिने पनि देउवा दम्पती नै हुन् ।

वाग्ले योजना आयोगको उपाध्यक्ष भएकै बेला आरजुसँग उनको सम्बन्ध बिग्रिएको निकटस्थहरू बताउँछन् । आरजुका अनुचित माग र बाह्य एजेन्सीहरूमार्फत उनले दिने दबाबको वाग्लेले अश्वीकार गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको र त्यसैले फेरि उनी विश्व बैंकमा जागिर खान गएको बताइन्छ ।

कांग्रेसका नेताहरूबीच ‘ओपन सेक्रेट’ रहेको अर्को सूचना चाहिँ के हो भने, वाग्लेले आरजुको सन्दर्भमा बोलेको निकै संवेदनशील अडियो टेप नारायणथान (हाल धुम्बाराही) पुगेको थियो । जुन अडियो टेपमा उनले साथी भाइहरूको जमघटमा आरजुलाई ‘करप्ट लेडी’ (भ्रष्ट महिला) भन्दै जेल हाल्ने कुरा गरेका थिए ।

सो अडियो टेपपछि देउवा परिवार स्वर्णिमलाई निषेध गर्नेमात्र होइन बदला लिने लाइनमा उभिएको हो । कतिपय नेताहरूले सुनाएअनुसार आरजुले कुन निर्णय प्रक्रियामा कोसँग कसरी कहाँ पैसाको डिल गरिन् भन्ने प्रमाणयुक्त सूचना राज्यका सम्बन्धित निकायका उच्च पदाधिकारीले समेत पाएपछि आरजुसम्म सो जानकारी पुगेको थियो ।

त्यसपछि उनले स्वर्णिम वाग्लेले विश्व बैंकलगायत विदेशी नियोगमा जागिर खाँदा कमाएको रकम कहाँ लगानी गरे ? उनले नेपाल कसरी पैसा ल्याए ? जस्ता कानूनी र प्राविधिक विषयमा समेत सोधखोज गर्दै ‘मनी लाउण्डरिङ’ आकर्षित गर्न सकिन्छ कि भनेर समेत प्रयास गरेको बताइन्छ ।

उनले गत मंसिरको चुनावमा टिकट यस्तै कारणले नपाउने निश्चित भएपछि विकल्प सोच्दै थिए । तर, गगन थापाले काठमाडौं ४ स्वर्णिमलाई दिएर आफू सर्लाही ४ जान तयार पनि भएपछि देउवाले काठमाडौं ४ को टिकट नैनसिंह महरलाई हस्ताक्षर गरेर दिएकाले गगन फेरि ब्याक भएका थिए ।

कांग्रेसबाट स्वर्णिमलगायतको टिकट नहुने भएपछि दशैंको महानवमीका दिन गगन आफ्नो समूहका प्रभावशाली १४ जना नेताहरूको नामलिस्ट बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

डा. गोविन्द पोखरेलसहित गएका गगनले उक्त लिस्टमा भएका नेताहरूलाई एमालेले सहयोग गरेर जिताएमा चुनावपछि ओलीलाई प्रधानमन्त्री बनाउन संख्या पुग्ने उपाय पनि सुझाएका थिए ।

तर, उक्त लिस्टमा भएका केही नेताले कांग्रेसबाटै टिकट लिएको र सबै ठाउँमा एमालेसँग कुरा नमिलेपछि स्वर्णिम र गोविन्द पोखरेललाई पनि रोकिएको थियो । यसपटक भने गगनले स्वर्णिम रोक्न असफल भएका छन् । तर स्वर्णिमले गगनहरू कांग्रेस नेतृत्वमा आएपछि कांग्रेसमै फर्केर काम गर्ने वचन भने दिएका छन् ।

कांग्रेस विधानअनुसार अब देउवा सभापति बन्न मिल्दैन । त्यसपछि कांग्रेसभित्रको समीकरण कसरी विकास हुन्छ, त्यसपछिमात्र स्वर्णिम सपना साकार हुने वा नहुने निधो हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर