कर्णालीमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई सास्ती, जग्गाको खोजीमा प्रदेश सरकार र खेलकुद परिषद् – Nepal Press

कर्णालीमा क्रिकेट मैदान नहुँदा खेलाडीलाई सास्ती, जग्गाको खोजीमा प्रदेश सरकार र खेलकुद परिषद्

सुर्खेत । कर्णाली प्रदेशमा क्रिकेट मैदान नहुँदा खेलाडीले सास्ती भोग्नु परेको छ । पछिल्लो समयमा क्रिकेटमा क्रेज बढे पनि खेलाडीले खेल मैदान खोज्दै हिँड्नु पर्ने बाध्य रहेको हो ।

विगतदेखि खेलमैदानको अभाव झेल्दै आएको कर्णाली प्रदेशले खेलका गतिविधि बढे पनि भौतिक पूर्वाधारका संरचनाहरू नहुँदा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ ।

वीरेन्द्रनगर नगरपालिको प्लानिङमा रहेको कालिन्चोकको मैदानमा क्रिकेट खेल्न प्रयोग गरिएको छ । सो मैदानमा प्रदेश सरकारले गतवर्ष वैकल्पिक रूपमा २७ लाख लागतमा मैदानलाई केही व्यवस्थित गरेको थियो । खेलाडीले घाम लाग्दा धुलो र पानी पर्दा हिलोमा खेल अभ्यास गर्दै आएका छन् ।

पछिल्लो समय कर्णालीका हिमाली र पहाडी जिल्लाहरूमा पनि क्रिकेट र अन्य खेलहरूले लोकप्रियता पाउँदै आएको छ । क्रिकेटको मोह गाउँ देखि सहर सम्म त पुगेको देखिन्छ ।

यद्यपि उक्त खेलहरूलाई उपयुक्त खेलमैदान र पूर्वाधार निर्माण नहुँदा कर्णालीको खेल क्षेत्रमा खासै प्रगति नभएको देखिन्छ । सुर्खेतमा ०५४ सालमा क्रिकेट सुरुवात भएको कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्काले बताए ।

हाल आफ्नै खर्चमा सुर्खेतको कालिन्चोकको रहेको मैदानमा खेल खेलाउँदै आएको खड्काको भनाइ छ ।

उनले भने, ‘कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन भएका छन्, तर खेलाडीलाई अभ्यासका लागि कोहलपुर, लमही र काठमाडौँ लिएर जानुपर्छ । जति क्रिकेट खेल्नका लागि मैदान चाहिने हो, त्यो भन्दा सानो छ, तर पनि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता उक्त मैदान गर्दै आइरहेका छौ । उपयुक्त पूर्वाधार र मैदान नहुँदा राष्ट्रियस्तरका खेल प्रतियोगिता हाम्रै प्रदेशमा आयोजना गर्न सकिएको छैन खड्काले भने ।’

त्यस्तै, कर्णालीमा क्रिकेट खेलमैदान नहुँदा क्यानले दिने सेवा सुविधाबाट वञ्चित हुनु परेको खड्काले दुख व्यक्त गरे ।

कर्णाली प्रदेश क्रिकेटका क्याप्टेन रवीन्द्र शाहीले खेल अभ्यासका लागि अन्य ठाउँमा जानका लागि सबैसँग आर्थिक र परिवारको सहयोग सपोर्ट नहुने बताए ।

उनले भने, ‘कालिन्चोकमा रहेको खेलमैदान व्यवस्थित छैन, ढुङ्गा त्यही छ, खेल प्रतियोगिता हुँदा खेलाडीहरू घाइते हुने गरेको छन्, म आफैमा पनि घाइते हुन् परेको छ । कर्णालीमा क्रिकेटको मैदान मात्रै हैन अन्य खेलकुदका लागि पूर्वाधार नहुँदा कर्णालीका खेलाडीहरू वञ्चित हुनु परेको छ ।’

खेलकुदमा बजेट फ्रिज

सङ्घीय सरकारले गतवर्ष ३ करोड खेलकुद पूवार्धारका निर्माणका छुटाएको बजेट फ्रिज भएको थियो ।

यस्तै, सरकारले सातै प्रदेशमा क्रिकेट निर्माणका लागि १/१ करोड बजेट छुट्टाएको थियो । सबै प्रदेशले जग्गा व्यवस्थापन गरिसकेका छन् । तर कर्णालीमा भने अहिले सम्म जग्गा व्यवस्थापन गर्न सकेको छैन ।

कर्णालीलाई पूर्वाधार निर्माणका लागि बजेछ छुट्याएपनि जग्गा नभएकै कारण रकम कामै नभएर फिर्ता भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी दिए ।

गतवर्ष आएको बजेट क्रिकेट मैदान बनाउन उपयुक्त जग्गा नपाउँदा त्यो रकम काम नै नभएर फिर्ता भएको थियो ।

क्रिकेट मैदानका लागि जग्गाको खोजी

प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर ११ मा रहेको अमृतडाडाँमा सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश खेलकुद परिषद्ले किक्रेट स्टेडियमको लागि सम्भावित स्थानको अवलोकन गरेको छ ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गालाई शुक्रवार स्थलगत अनुगमन गरिएको थियो । पूर्व सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रदेशमा क्रिकेटका लागि स्टेडियम बनाउनु पर्ने छ सञ्जालले भने, ‘स्टेडियम बनाउनका लागि जग्गाको खोजी गरिहरेका थियो, नेपाल ट्रस्टको जग्गा छ भन्ने सुनेको हुँदा स्थलगत अनुगमन गरिएको हो । उक्त जग्गा उपयुक्त देखिएको छ । कानूनी प्रक्रियाका ढङ्गले जग्गा प्राप्ति गर्ने र, भोका अधिकारमा लैजाने गरी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने छ ।’

यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री टेकराज पछाइले जग्गा प्राप्तिका लागि औपचारिक ढङ्गले प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

जग्गा प्राप्ति भइसकेपछि, सुविधा सम्पन्न किक्रेट स्टेडियम निर्माण गर्नका लागि पहल गर्ने मन्त्री पछाइले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर