युट्युवका ‘भाइरल अभियन्ता’ प्रहरी निगरानीमा, भ्रष्टाचारविरोधी भन्दै रकम असुल्ने ४ जना पक्राउ – Nepal Press

युट्युवका ‘भाइरल अभियन्ता’ प्रहरी निगरानीमा, भ्रष्टाचारविरोधी भन्दै रकम असुल्ने ४ जना पक्राउ

काठमाडौं । भ्यूज बढाउने नाममा युट्युवमा विभिन्न भिडिओ बनाएर ‘न्यायाधीश’ बन्ने हरूमाथि निगरानी बढाइएको छ । यसैक्रममा आफूहरूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्दै गैरकानूनी संस्था खोलेर रकम असुली धन्दामा लागेकाहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षका राजु सुनार, ८ का २६ वर्षीय आदर्श क्षेत्री, १ का २० वर्षीया अस्मिता खत्री र २ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरूले आफूहरू ‘भ्रष्टाचारविरोधी अभियन्ता भएको बताउँदै विभिन्न निकायमा ‘रेड’ हान्न पुग्थे ।

कर छली गरेको, भ्रष्टाचार गरेको भन्ने उजुरी परेको र त्यस विषयमा छानबिन गर्न आएको यो समूहले ठगी गर्दै आएको प्रहरीको भनाइ छ । सबै हिसाबकिताब देखाऊ भन्दै असम्बन्धित सूचना माग्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडिओ बनाई रकम असुल्ने गरेको बताइएको छ ।

त्यसरी खिचिएका सामग्री उनीहरूले युट्युवलगायत सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको भन्दै प्रहरी वृत्त बौद्दमा जाहेरीसमेत परेको थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान’ नामक संस्था खोलेर उनीहरू विभिन्न वडामा शाखा समेत विस्तार गरी सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा अनुसन्धान गर्न भन्दै जाने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर