चिकित्सा आयोगमा उपाध्यक्ष गिरीको ‘राइँदाइँ’ उस्तै, सदस्यसचिवलाई छेक्न प्रहरीको साथ – Nepal Press
फलोअप

चिकित्सा आयोगमा उपाध्यक्ष गिरीको ‘राइँदाइँ’ उस्तै, सदस्यसचिवलाई छेक्न प्रहरीको साथ

काम गर्न नपाएका शिवकुमार भन्छन्- आयोगलाई निजी घरजत्तिकै गरियो, छानबिनको मागसहित मन्त्रालय गुहार्छु

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले सरुवा भइसकेका सदस्यसचिवलाई रमाना नदिई एकपछि अर्को अनुचित निर्णय गराइरहेका छन् । पछिल्लो समय निश्चित कलेजसँग मिलेमतो गरेर विद्यार्थी भर्ना गराइरहेका उनी आयोगमा कर्मचारीको ‘कम्फर्टेबल’ टीम खडा गरेर करोडौंको चलखेलमा लागेको स्रोतले बताएको छ ।

भदौ तेस्रो साता सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काफ्लेलाई गिरीले रमाना नदिइ राखेका छन् । एक वर्षदेखि आयोगमा रहेका काफ्लेको शिक्षा मन्त्रालयले इभेन्ट परियोजनामा सरुवा गरेको थियो । काफ्लेको आग्रहमा पुन: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ को भूमिसुधार मन्त्रालयमा सरुवा गरिसकेको बताइएको छ । उनको ठाउँमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक शिवकुमार सापकोटालाई पठाइएको थियो ।

भदौ २३ गते (चलानी नम्बर १०२) उपाध्यक्ष गिरी आफैँले पत्र लेखेर शिक्षामन्त्री देवेन्द्र पौडेलको हवाला दिँदै साविकबमोजिमकै सदस्य सचिवबाट कामकाज गर्ने गराउने भन्ने छलफल भएकोले काफ्लेलाई रमाना नदिने साथै नयाँ सदस्य-सचिवलाई हाजिर गराउन नसकिने जानकारी गराएका थिए ।

हेर्नुस् पत्र :

उपाध्यक्षले मर्यादा नाघेर औपचारिक पत्रमा अनअफिसियल कुरा गरेको भन्दै कर्मचारीले नै टिप्पणी गरेका छन् ।

यही असोज ११ देखि सापकोटा हाजिर गर्न गएकोमा उनलाई अवरोध गरिएको छ । काफ्ले पनि नहिँडिसकेपछि अहिले आयोगमा दुई सदस्यसचिव भएका छन् ।

‘११ गतेदेखि जान थालेको छु । हाजिर गरेर मात्र बस्छु । द्वेध प्रशासन चल्न हुँदैन भनेर जानेआउनेबाहेक केही प्रशासनिक काम गर्न पाएको छैन’, सापकोटाले नेपाल प्रेससँग भने ।

उनले हिजोको कार्यकारी समितिको बैठकमा आफूलाई प्रहरी लगाएर रोकेको बताए । ‘महत्वपूर्ण बैठकममा मलाई छिर्न नदिएर अपमान गरियो । निजी घरजस्तो गरी नेतृत्व लागेको छ । यो अपराधिक क्रियाकलापबाहेक केही होइन । सरकारले सुनुवाइ गर्नुपर्छ’, उनले भने ।

स्रोतका अनुसार हिजो केही कार्यक्रमको विद्यार्थी भर्नाको लागि कोटा बाँडाफाँटसम्बन्धी महत्वपूर्ण निर्णयका लागि बैठक डाकिएको थियो ।

आफूलाई जिम्मेवारीविहीन बनाएर एकलौटी निर्णय गरेकोप्रति सापकोटाले मन्त्रालयसमक्ष न्यायको मागको तयारी गरेका छन् ।

‘आयोगमा काम गर्ने वातावरण छैन । ८६ जना कर्मचारी । यत्रो स्टेकहोल्डर छन् । व्यक्तिकेन्द्रित स्वार्थमा गाँसिएर । यो संस्था दुर्घटना गराउन लागिएको प्रष्ट देखिन्छ । उत्कृष्ट वौद्धिक क्षमता भएका विद्यार्थीको भविष्यमा खेलबाड गरिएको छ’, उनले भने, ‘उपाध्यक्ष र सदस्यसचिव (काफ्ले) लाई जिम्मेवारीबाहिर राखेर छानबिन गर्नु जरुरी छ । यही मागसहित मन्त्रालयमा निवेदन दिने निष्कर्षमा पुगेको छु ।’

उपाध्यक्ष गिरी तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा नियुक्त भएका थिए । यसअघि मेडिकल कलेजको सम्बन्धनमा चलखेल गरेको आरोप पनि उनीमाथि थियो । गिरी र काफ्लेको जागिरको म्याद अब एक वर्षजति पनि छैन । राजनीतिक पहुँच तथा स्वार्थका कारण दुईजनाको सेटिङ मिलेकोले उनीहरू छुट्टिन नचाहेको बताइएको छ । घटनाक्रमले त्यसलाई पुष्टि पनि गरेको छ ।

यो पनि पढ्नुस् : मन्त्रीको आडमा चिकित्सा आयोगका उपाध्यक्ष गिरीको ‘दादागिरी’, भर्नामा सीमित कलेजसँग सेटिङ (भिडिओ)

यसअघिबाटै चिकित्साशास्त्रतर्फ विभिन्न कार्यक्रममा कोटा निर्धारणमा चलखेल भइरहेपनि भदौ ३० गते पोल खुलेको थियो । त्यसदिन बीपीएच र बीअप्टोका लागि विद्यार्थीको र्‍याप अप म्याचिङ (समापन म्याचिङ) मा ४८ मध्ये १९ वटा कलेजको मात्र सूची देखाइएको थियो । सीमित कलेजसँग मिलेमतो गरेपछि लफडा भएको भिडिओसमेत सार्वजनिक भएको थियो ।

हेर्नुस् भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर