मन्त्रीको आडमा चिकित्सा आयोगका उपाध्यक्ष गिरीको ‘दादागिरी’, भर्नामा सीमित कलेजसँग सेटिङ (भिडिओ) – Nepal Press

मन्त्रीको आडमा चिकित्सा आयोगका उपाध्यक्ष गिरीको ‘दादागिरी’, भर्नामा सीमित कलेजसँग सेटिङ (भिडिओ)

सदस्यसचिवको रमाना रोकियो, परीक्षा शाखाको चाबी अनधिकृत व्यक्तिलाई

काठमाडौं । चिकित्सा शिक्षा आयोगले निश्चित कलेजसँग मिलेमतो गरेर विद्यार्थी भर्ना गराइरहेको पाइएको छ । उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी नै राजनीतिक पहुँचको आडमा यो सेटिङमा लागेका छन् । सरुवा भएका सदस्य सचिवलाई रमाना नदिएर कर्मचारीको ‘कम्फर्टेबल’ टिम तयार गरी कमाउ धन्दामा उनी लागेको आयोग स्रोतले बताएको छ ।

यसअघिबाटै चिकित्साशास्त्रतर्फ विभिन्न कार्यक्रममा भर्ना हुने विद्यार्थीलाई कलेज छनौटमा अंकुश लगाइएपनि शुक्रबार पोल खुलेको छ । हिजो बीपीएच र बीअप्टोका लागि विद्यार्थीको र्‍याप अप म्याचिङ (समापन म्याचिङ) थियो । विद्यार्थी भर्ना म्याचिङ कार्यविधिको प्रावधान अनुसार विद्यार्थीलाई अनलाइन आवेदन गरेका विद्यार्थीहरूलाई भौतिक उपस्थितिमा आफूले पढ्न चाहेको कलेज स्वतन्त्र रोज्न पाउने अधिकार छ ।

तर, ४८ मध्ये हिजो १९ वटा कलेजको मात्र सूची देखाइएको थियो । सीमित कलेजलाई फाइदा पुग्ने यो खेलमा पदाधिकारी र कर्मचारीको साथ रहेको बताइएको छ । विद्यार्थीहरूले आफूले पढ्न चाहेको कलेज नभेटेपछि आयोगमा खैलाबैला भयो ।

यी हुन्- सीट खाली देखाइएका सीमित १९ कलेजका सूची

‘र्‍यापर रुमभित्र छिर्ने बेलामा १९ वटा मात्र कलेज बाँकी छ है भनेपछि हामी अलमलमा पर्‍यौं’, चाहेको कलेज रोज्न नपाएका एक विद्यार्थीले भने ।

नजिकका र सेटिङ मिलाइएका कलेजहरूसँग ‘डिल’ गरेर तयार पारिएको थोरै कलेजको सूची छनौटका लागि सार्वजनिक गरिएको थियो । त्यसपछि कलेजका सञ्जालकहरू आएपछि कर्मचारीसँग नोकझोक भयो ।

कर्मचारीले विद्यार्थीलाई रोजाउन सबै कलेज देखाएको जिकिर गरेका थिए । पछि उपाध्यक्ष गिरीलगायतसँग भेटेर कुराकानी गर्दा फाँटका कर्मचारीले मिस्टेक भएको भन्दै अर्को लिस्ट प्रिन्ट गरेर दिएका थिए ।

हेर्नुस् भिडिओ

होप इन्टरनेशनल कलेजका सञ्चालक नगेन्द्र झा विद्यार्थी भर्ना प्रक्रियामा सीमित कलेजसँग मिलेमतो गरेर आयोगले चलखेल गरेको बताउँछन् । यस सम्बन्धमा उपाध्यक्ष गिरीसँग सम्पर्क गर्दा अर्को जनालाई फोन गर्नुस् भन्दै पन्सिएको उनले बताए ।

झाले नेपाल प्रेससँग भने, ‘कि हाम्रा कलेजलाई सीधै भर्ना गर्न पाउँदैनस् भन्नुपर्‍यो । नजिकका र मिलेमतोमा तोकिएको भन्दा कम कलेज देखाएर चलखेल भइरहेको छ । यसको छानबिन हुनुपर्छ । मैले कृष्ण गिरीसँग कुरा गरेँ उहाँले सदस्य रमेश आचार्यलाई गर्नु भन्नुभो पछि कोही सदस्यको फोन लागेन । प्रहरी लगाएर हामीलाई लखेटियो ।’

अनधिकृत व्यक्तिलाई गोप्य शाखाको चाबी

उपाध्यक्ष डा. गिरीले परीक्षाजस्तो संवेदनशील शाखामा २ महिनाभन्दा बढी समयदेखि अनधिकृत व्यक्ति राखेका छन् । प्रवीन खड्कालाई कम्प्युटर अपरेटर भनेर राखिएको भएपनि उनीलाई कसले कहाँबाट नियुक्ति दिएको र तलब कहाँबाट खान्छन् भन्ने केही अत्तोपत्तो नभएको आयोगका कर्मचारी बताउँछन् ।

प्रवीन खड्का ।

स्रोतका अनुसार खड्का विद्यालय भूकम्प पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयनमा करारमा थिए । त्यहाँ उनको जागिर सकिएपछि गिरीको ‘इन्ट्रेस्ट’ मा राखिएको हो ।

हिजो कलेजको सूची उनैले तयार पारेका थिए । कलेजको नाम हटाइएकोबारे जानकारी लिन खोज्नेहरूसँग उनी नाजवाफ भएको नेपाल प्रेसलाई प्राप्त भिडिओमा देख्न सकिन्छ ।

नयाँ सदस्य सचिवलाई छेकियो

अहिले सरुवा भइसकेका आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेलाई गिरीले रमाना नदिइ राखेका छन् । एक वर्षदेखि आयोगमा रहेका काफ्लेको शिक्षा मन्त्रालयले यही भदौ तेस्रो साता इभेन्ट परियोजनामा सरुवा गरेको थियो । उनको ठाउँमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक शिवकुमार सापकोटालाई पठाइएको थियो ।

भदौ २३ गते (चलानी नम्बर १०२) उपाध्यक्ष गिरी आफैँले पत्र लेखेर शिक्षामन्त्री देवेन्द्र पौडेलसँग साविकबमोजिमकै सदस्य सचिवबाट कामकाज गर्ने गराउने भन्ने छलफल भएकोले काफ्लेलाई रमाना नदिने साथै आयोगमा पठाइएका नयाँ सदस्य-सचिवलाई हाजिर गराउन नसकिने जानकारी गराएका छन् ।

कामको प्रकृति, कार्यबोझ, र संवेदनशिलताका कारण आयोगमा कर्मचारीको हेरफेर गर्नपर्दा आयोगको परामर्शमा मात्र गरिदिन उनले मन्त्रालयलाई भनेका छन् ।

‘आयोग नयाँ स्थापित भै सञ्चालनमा आएको र कर्मचारीहरु अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन भएको व्यहोरा अवगत नै छ । कामको प्रकृति, कार्यबोझ, र संवेदनशिलता आदिका कारणले आयोगमा कर्मचारीको हेरफेर गर्न पर्दा आयोगकै परामर्शमा मात्र गरिदिनु हुन औपचारिक र अनौपचारिक रूपमा तहाँ मन्त्रालयमा अनुरोध गरिदै आएको छ’, गिरीले पत्रमा भनेका छन्, ‘……आयोगका सदस्य सचिवको सरुवा भएको अनौपचारिक जानकारी प्राप्त भै तत्कालै माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रराज पौडेलज्यूसँग मिति २०७९।०५।२२ मा छलफल हुँदा अर्को निर्णय नहुँदासम्म हाललाई साविक बमोजिम कै सदस्य सचिववाट कामकाज गर्ने गराउने भन्ने भएको हुँदा निजलाई रमाना दिन नसकिने र तहाँ मन्त्रालयवाट तोकिएको सदस्य-सचिवलाई हाजिर गराउन नसकिने व्यहोरा अनुरोध छ ।’

हेर्नुस् पत्र :

उपाध्यक्षले अफिसियल पत्रमा मर्यादा नाघेरै अनौपचारिक कुरा उल्लेख गरेको भन्दै कर्मचारीले टिप्पणी गरेका छन् ।

‘मन्त्रालयले गरेको निर्णय लत्याएर एउटा कर्मचारी रमाना नगर्ने कुराले केही न केही गडबड छ भन्ने त पुष्टि हुन्छ । यो अमिल्दो नै कुरा हो । फेरि उहाँले पत्र लेखेर तालुक निकायलाई चुनौती दिनु हुँदैन थियो । कर्मचारी त जो आएपनि आफ्नो जिम्मेवारी पूरा गर्ने हो । यो वा उ भन्ने नै हुँदैन नि’, आयोगका एक कर्मचारीले नेपाल प्रेससँग भने ।

उपाध्यक्ष गिरी तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा नियुक्त भएका थिए । यसअघि मेडिकल कलेजको सम्बन्धनमा चलखेल गरेको आरोप पनि उनीमाथि थियो । ३ वर्षअघि बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले आफूसँग २० करोड घुस मागेको दाबी गरेपछि डा. गिरी विवादित बनेका थिए । प्रसाईंले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका थिए ।

पछि उनले प्रसाईंविरुद्ध अदालतमा मानहानीको मुद्दा हाले भनेँ आफूमाथि असुरक्षा भएको भन्दै प्रहरी प्रशासन गुहारे । त्यसबेला प्रसाईँको आरोपको पुष्टि भने हुन सकेन ।

गिरीसँग बुझ्न खोज्दा मोबाइल स्वीच अफका कारण सम्पर्क भएन । सूचना अधिकारी सेमन्तराज कोइरालाले फोन उठाएनन् । मेसेज गर्दा रेस्पोन्स आएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर