प्रशिक्षकको सनक र एन्फाको लाचारीले नेपाली फुटबल संकटग्रस्त, ११ खेलाडीको करिअर जोखिममा – Nepal Press

प्रशिक्षकको सनक र एन्फाको लाचारीले नेपाली फुटबल संकटग्रस्त, ११ खेलाडीको करिअर जोखिममा

काठमाडौं । १० खेलाडीलाई बन्द शिविर छाड्न निर्देशन दिएपछि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसिया कप छनोटका लागि केही नयाँ खेलाडीलाई बोलाएर तयारी गरिरहेका छन् । बन्द शिविर छाडेका खेलाडीका अनुसार आफ्नो कार्यकालभर उनीहरूलाई टोलीमा नराख्ने अल्मुताइरीको चेतावनी छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा विवाद समाधानका लागि छलफल भइरहेको बताउँछन् ।

‘यो रातारात समाधान हुने विषय होइन’, शुक्रबार नेपाल प्रेससँग कुरा गर्दै शेर्पाले भने, ‘छलफलहरू भइरहेका छन् ।’

प्रशिक्षकले नयाँ खेलाडीलाई बन्द शिविरमा बोलाइसकेपछि आन्दोलित खेलाडीहरूलाई समस्या हुने देखियो नि भन्ने प्रश्नमा शेर्पाले प्रशिक्षकको काममा एन्फाले हस्तक्षेप गर्न नमिल्ने प्रतिक्रिया दिए ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीले नै बन्द शिविर छाड्न भनेकाले आफूहरू होटलबाट निस्किएको बताएका थिए । जुन कारणले उनीहरूलाई शिविर छाड्न भनिएको थियो र जसरी घटनाक्रमहरू विकाश भएका छन्, त्यस आधारमा यो प्रकरण निकै जटिल बन्दै गएको छ ।

यो पनि पढ्नुस् : फुटबल टिमसँग अल्मुताइरीको लफडा, यस्तो छ खेलाडीको बयान (पूर्णपाठ)

पत्रकार सम्मेलनमा बताइअनुसार टोलीका सिनियर खेलाडी रोहित चन्दले गत आइतबार होस्टलमा राम्रो सुविधा नभएको भन्दै खेलाडीलाई होटलमा राख्नु पर्ने माग गरेका थिए । अल्मुताइरीले भने टिममा एक मात्र लिडर हुने भन्दै चन्दलाई तत्काल बन्द शिविर छाड्न निर्देशन दिए । जबकि तत्कालै टिम म्यानेजर मधुसुदन उपाध्यायले होटलमा राख्ने निर्णय भइसकेको जानकारी दिएका थिए ।

अल्मुताइरीले पनि होटलमा बस्ने व्यवस्था भइसकेको र त्यसअघि आफुले ‘जोक गरेको’ बताएका थिए । तर, रोहितमाथि गरिएको व्यवहारलाई लिएर खेलाडीहरूले जिज्ञासा राख्न खोजेपछि उनीहरूलाई पनि बन्द शिविर छाड्न निर्देशन दिइएको खेलाडीको गुनासो छ।

त्यसक्रममा अल्मुताइरीले रोहितको टिममा बस्ने कि आफ्नोमा भनेर भनेर खेलाडीहरूलाई सोधेका थिए । असन्तुष्ट खेलाडीहरूसँग अल्मुताइरीले ‘तिमीहरूले युद्ध सुरू गर्‍यौ, मैले अन्त्य गरेँ’ समेत भनेको खेलाडीहरूको दाबी छ।

खेलाडीहरूले जे कारणले आफूलाई निकालिएको भनेका छन् र अल्मुताइरीले भनेका कुराहरू उल्लेख गरेका छन्, त्यस आधारमा यो विवादको सुरूवात रोहितले होटलमा राख्नुपर्ने मागबाट सुरू भएको जस्तो मात्र देखिँदैन ।

त्यसो त पत्रकार सम्मेलनमा उपस्थित १० जनामध्ये अधिकांशले अल्मुताइरीले आफ्नो व्यक्तिगत जिवनमा समेत हस्तक्षेप गरेको गुनासो गरेका छन् । रोहितले पनि सिनियर खेलाडीको हिसाबले अब्दुल्लाहसँग कुराहरू पहिला पनि राख्दै आएको बताएका छन् ।

कतार फुटबल संघको प्राविधिक सहयोगमा एक वर्षअघि नेपाल आएका अल्मुताइरी पटकपटक विवादमा आएका पात्र हुन् । उनका धम्कीपूर्ण स्टाटसहरू सामाजिक सञ्जालमा समय-समयमा आउने गरेका थिए । तर, एन्फाका पदाधिकारीहरू अल्मुताइरीको स्वभाव नै त्यस्तै भएको जवाफ दिँदै ढाकछोप गरिहाल्थे । यसबीचमा अल्मुताइरीले पटकपटक खेलाडीहरूको बचाउ गर्दै आएका कारण पछिल्लो घटनामा खास के भएको थियो भन्ने कुरा अन्योल बनेको छ ।

नेपाली टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी पछिल्ला अन्तर्राष्ट्रिय सफलताहरूका प्रमुख खम्बाहरू हुन् । यीमध्ये अधिकांश एन्फा एकेडेमीका उत्पादन हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकप, १२ औँ साग स्वर्ण पदक र सोलिडारिटी कप जित्दा यो पुस्ताको प्रभाव सुरू भएको थियो । उनीहरूले १३ औँ सागमा पनि स्वर्ण जितेका थिए । उनीहरूको मुख्य योगदानमा नेपालले साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल यात्रा तय गरेको थियो ।

एक-दुई जना खेलाडीको मात्रै असन्तुष्टि भए उनीहरू नै गलत हुन् कि भन्ने पनि आशंका गर्न सकिन्थ्यो । तर, कप्तानसहित ११ खेलाडीको एक स्वर भएपछि प्रशिक्षकमाथि नै प्रश्न उठेको छ । उनको नेपालका फुटबल समर्थकहरूबाट पाएको मायाको बलमा टिममाथि नचाहिँदो दबदबा कायम गर्न खोजेको देखिन्छ । आफूले जे गरे पनि समर्थकहरूको साथ पाउने विश्वास उनमा रहेको एक खेलाडी बताउँछन् ।

व्यवसायिक प्रयोजनका रूपमा केही समयका लागि आबद्ध गरिने प्रशिक्षक र नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाइरहेका यो उम्दा पुस्ताबीचको विवादमा एन्फा चुपचापजस्तै देखिनु अर्को विडम्बना हो ।

एक प्रशिक्षकले भने, ‘जुन कुराले विवाद सुरू भएको भनिएको छ, त्यस आधारमा प्रशिक्षकले यत्रो कदम चाल्नुपर्ने कुनै पनि तरिकाले अनुमान गर्न सकिँदैन । कि त अगाडिदेखि नै केही भइरहेको थियो कि त अल्मुताइरीले सनकका भरमा निर्णय लिइरहेका छन् । यस्ता प्रशिक्षक त आउँछन्, जान्छन् तर खेलाडी त नेपाली हुन् । उनीहरू हामीलाई सँधैभरि चाहिन्छ । एन्फाले टुलुटुलु हेरेर बस्न मिल्दैन,’ ती प्रशिक्षक भन्छन् ।

पत्रकार सम्मेलनमा सहभागी विशाल राईका अनुसार गत बुधबार उनीहरूले विवादका विषयमा एन्फा अध्यक्ष शेर्पासँग कुरा गरेका थिए । तर, त्यसक्रममा एन्फाको निर्वाचन आइरहेकाले प्रशिक्षकका विषयमा आफुले केही गर्न नसक्ने प्रतिक्रिया दिएको राईको दावी छ ।

खेलाडीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । अब अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो हुने समेत उनीहरूको भनाइ छ । प्रशिक्षक अल्मुताइरीको स्वभाव हेर्दा उनले सहजै आफ्नो कमजोरी स्वीकार्ने देखिँदैन । यसले नेपालको फुटबल नै अस्तव्यस्त बन्ने खतरा पैदा भएको छ । एकैसाथ ११ जना प्रभावशाली खेलाडी बाहिरिएको अवस्थामा राष्ट्रिय टिममा अभूतपूर्व कमजोर बन्ने र प्रदर्शन खस्किने चिन्ता उत्तिकै छ ।

यो पनि पढ्नुस्- १० फुटबल खेलाडीले भनेः प्रशिक्षकसँगको विवादबारे छानविन होस, यही अवस्थामा खेल्न सक्दैनौ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *