गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण (भिडिओ) – Nepal Press

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण (भिडिओ)

रुपन्देही । मुलुककै दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाइडबडी जहाजले परीक्षण उडान गरेको छ ।

बिहीबार साँझवाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज साँझ ५ः५५ बजे अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चारकर्मी, पर्यटन ब्यवसायीसहित उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको हो ।वैशाख १ गते नैं वाइडबडी जहाजले उडान गर्ने भनिएपनि प्राविधिक कारणले केही ढिलाई भएको थियो ।

विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ । अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ ।

यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो । उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए ।

विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहाल वाईडवडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *