हिमालका चुचुरामा माया छाडिहिँड्ने माया शेर्पा – Nepal Press

हिमालका चुचुरामा माया छाडिहिँड्ने माया शेर्पा

८ हजार चार सय ८५ मिटर अग्लो मकालु हिमाल चढ्ने साइत कुर्न पर्वतारोही माया शोर्पालाई करिब ४५ सय दिन कुर्नुपर्यो‍ । उनले सन् २००९ मै मकालुको चुचुरोमा पाइला राख्ने योजना बनाएकी थिइन् । तर, उनी प्रेगनेन्ट भइन् । र मकालुको शीरमा टेक्न खोजिरहेकी मायाले नवजात छोरीको पाइला धरतीमा राखिदिइन् ।

अहिले त छोरीले धरतीमा पाइला राखेको झण्डै १२ वर्ष भइसकेको छ । र १२ वर्षमा खोलो फर्किएको छ । आउँदो अप्रिलमा मकालुको शीरमा पाइला राख्ने तयारी गरिरहेकी छन् माया ।

सम्भवतः मध्य अप्रिलमा खबर आउनेछ, ‘मायाको पाइलाले मकालुलाई चुम्यो ।’

मायाको हिमालको चुचुरोसम्मको यात्रा नयाँ होइन । झण्डै दुई दशक पुगिसकेको छ ।

दुई दशकमा सगरमाथाको चुचुरोदेखि पाकिस्तानको केटुसम्म, अफ्रिकाको किलिमन्जेरोदेखि किर्गिस्तानसम्म टेकिसकेकी छन् । ब्लु आइसको ब्लु सौन्दर्यदेखि ब्लु आइस पग्लिएकोसम्म देखेकी छन् । सफा हिमालदेखि अक्सिजनका सिलिन्डर, हाइ फुडका प्लास्टिक, क्यानका खाली बट्टा र वर्षौ नसुकेका दिसाहरु देखेकी छन् । त्यही दिसासँगै बगेर बेसक्याम्पमा आइपुगेका कलकल गरिरहेका पानीका बुँदहरु देखेकी छन् ।

सगरमाथा समिट गर्न बाइस मिनेट बाँकी रहेको ठाउँमा चढ्नै गाह्रो हुने, ट्राफिक जाम हुने ढुंगो ‘हिलारी स्पेट’ देखेकी छन् । ०७२ सालको भूकम्पपछि शताब्दीऔंदेखि बसेको त्यहीं ‘हिलारी स्टेप’ लडेर तलतल खसेको पनि देखेकी छन् ।

उनले नदेखेको एकै चिज छ, सन् २००३ मा आमादब्लमबाट हिमाल चढ्न सुरु गर्दा जस्तो मोहक सौन्दर्य थियो हिमालहरुको, त्यो अहिले छैन । हिउँ नै हिँउले भरिएको कडा आइसमा भर्याङ लगाएर चढ्थिन् । कतिपय ठाउँमा कडा आइस भेटिँदैन अहिले, बरु कालाकाला पत्थरहरु भेटिन्छन् ।

०००

मायाले हिमालका चुचुरोमा राखेका पाइलाहरु जति अर्थपूर्ण छन्, उत्ति नै अर्थपूर्ण छन् चुचुरोमा पुग्न नसकेका असफल कोसिसहरु । ती सबै सबै असफलताहरुको एक संगालो हुन् मायाका सफलताहरु । ती सबैसबै असफलताका फेहरिस्त हुन् मायाका सफलताहरु । अक्सिजनबिना चढेका हिमालका चुचुरो होउन् या पहिलोपटक समिट गरेको नेपाली महिलाको रेकर्ड, सबै सफलतासँग असफलताको कथा पनि उत्तिकै मजेदार छन् ।

ती सबै असफलताहरुको नाम राखेकी छन् मायाले, ‘ऊर्जा र उत्प्रेरणा ।’

कोभिडको पहिलो चरणपछि विदेशीहरु आएर मनास्लु, सगरमाथाहरु धमाधम चढ्न थाले । मायालाई औडाहा भयो । र, कम्मर कसिन् ।

आठ हजार मिटरमाथिको अन्नपूर्ण एक चढिन् । त्यसलगत्तै आठ हजार एक सय मिटरभन्दा बढी उचाइको धौलागिरी हिमाल चढ्न गइन् । तर, बेसक्याम्पमै उनलाई कोभिडको लक्षण देखियो । मायासहितका सबै टिम फिरे ।

स्प्रिङको सिजनमा फिरेकी माया लगत्तै अटम सिजनमा पुनः धौलागिरी चढ्न कस्सिइन् ।

सात हजार आठ सय उचाइमा पुगिसकेकी थिइन् । करिब साढे तीन सय मिटर मात्रै चढ्न बाँकी थियो । कोभिडका कारण अलि मोटाएकी थिइन् । एक्सरसाइज थिएन । उनलाई सास फेर्न गाह्रो भयो । साढे तीन सय मिटर चढ्न बाँकी धौलागिरीको चुचुरो तलैबाट हेरेर फिरिन् ।

काठमाडौं फिरेपछि अस्पताल गइन् । उनको घाँटी सुन्निएको थियो । थाइराइडको समस्या देखिएको थियो । डाक्टरले तीन महिनाको औषधि दियो ।

धौलागिरीको साढे तीन सय मिटर चढ्न बाँकी दूरीले त्यति बिझाउँदैन मायालाई, जति सन् २०१८ मा आठ हजार पाँच सय मिटरभन्दा बढी उचाइको कन्चनजंघा हिमालको बाँकी रहेको त्यो पचास मिटरको दूरीले बिझाउँछ ।

समिट गर्न जम्मा पचास मिटर मात्रै बाँकी थियो, तर त्यहीँबाट फिरिन् । धेरै थाकिसकेकी थिइन् । बेलुकाको चार पनि बजिसकेको थियो । अक्सिजन पनि सकिइसकेको थियो । आँखा हिउँले खाएकाले उनीसँगै गाएका गाइडहरु तलैबाट फिरिसकेका थिए । र, पचास मिटरको दूरीलाई थाती राखेर फिरिन् ।

सन् २०१७ मा पनि कन्चनजंघाको कोसिस गरेकी थिइन् । असफल भइन् । सन् २०१९ मा भने समिट गरेरै छाडिन् । एक वर्षअघि अधुरै रहेको पचास मिटरको दूरीलाई निमिट्यान्न पारिन् । र शिखरमा झण्डा गाडिन् ।

लगातार असफल भइरहँदा पनि फेरि चढ्ने जाँगर के कारणले आइरहन्छ हो माया शेर्पालाई ? ‘हिमाल चढ्नु भनेको जोखिम हो । परिवार, साथीभाइले पनि चढ्नुपर्ने चढिसक्यौ, अब नचढ भन्छन् । तर, हिमाल चढ्नु पनि नशा जस्तै रहेछ । सिजनमा सबै साथीभाइ चढेको देख्दा आफूलाई रोक्नै सकिँदैन,’ माया सुनाउँछिन्, ‘समिट गर्ने जति थाकेको हुन्छ, पचास–सय मिटर तलबाट झर्ने पनि उत्तिकै थाकेको हुन्छ । उसले पनि उत्तिकै दुःख गरेको हुन्छ । तर, समिट नगरी झर्नेहरुको दुःख बढी हुन्छ । समिट भइसकेपछि खुसीको ऊर्जा बेग्लै हुन्छ । धौलागिरीमा समिट नगरी फिर्दा त्यस्तो दुःख भएन, जति दुःख कन्चनजंघामा भएको थियो ।’

कन्चनजंघामा अलिकति कोसिस गरेकी भए मायाले सक्थिन् । पछि साथीहरुले पनि गाली गरे । तर, शिखर उक्लेकाहरु सबैले शिखर चुमेरै झर्नुपर्ने भन्ने कतै लेखेको छ र ?

मायाले सोचिन्, ‘मेरो यो असफलता पनि एउटा कहानी हो । सधैं सफल भइरहनुपर्छ भन्नु जीवनको नियम होइन । असफलतालाई अंगाल्न र स्वीकार्न सक्नुपर्छ, र पो सफलता डिजर्भ गर्न सकिने बनिन्छ ।’

मायालाई धौलागिरी समिट गर्न नसकेकोमा कुनै पछुतो भएन । विदेशी साथीहरुले समिट गरेर झरेका थिए बेसक्याम्पमा । उनीहरुको सफलतासँगै मायाले पनि असफलताको खुसी मनाइन् । तर, कन्चनगंघा दोस्रोपटक पनि समिट नगर्दा चाहिँ साँच्चै दुःखी भएकी थिइन् ।

दुःखी भएको त्यो समय सम्झिन्छिन् माया, ‘उता म पचास मिटर बाँकी रहेर फिरेकी थिएँ । यता भने पहिलो नेपाली महिलाले कन्चनजंघा चढिन् भनेर मिडियामा हल्ला भइसकेको रहेछ । हिमालमा त इन्टरनेट थिएन । एक दुई दिन लाग्छ तल झर्नलाई । पछि मैले सबैलाई मेरो समस्या बताएँ ।’

०००

ओखलढुंगाकी मायाको कुनै सपना थिएन, ‘हिमाल चढुँ ।’

‘हिमाल चढ्छु, नाम कमाउँछु’ भनेर सोचेकी पनि थिइनन् । कामको रुपमा ट्रेकिङ गर्थिन् । उनलाई नयाँ ठाउँ, नयाँ सम्बन्ध र मानिसहरुमा औधि रुचि थियो । ट्रेकिङमा घुम्न पनि पाइने, खल्तीमा पैसा पनि हुने ।

आफ्नो सौखलाई पेशामा यसरी बदलेकी थिइन् उनले ।

उनको परिवार नै ट्रेकिङ पेशामा थिए । उनको बुवा अहिले ६५ वर्षका भइसके । अझै पनि ट्रेकिङ नै गरिरहेका छन् । तर, मायाले त हिउँ पनि टेकेकी थिइनन् । १९–२० वर्षको उमेरमा मात्रै हिउँमा खुट्टा राखेकी थिइन् ।

एसिस्टेन्ट गाइड भएर काम गरिन् । त्यसबेला महिला गाइडहरु खासै थिएनन् । विदेशी महिलाहरुले महिला गाइड खोज्थे, त्यसमा माया पनि पर्थिन् । घुम्न पनि पाइने, खल्ती पनि भरिने । यही सानो संसारमा रमाएकी थिइन् ।

तर, हिमाल नै चढ्ने निर्णयमा कसरी पुगिन् माया शेर्पा ?

‘म जहिले पनि हिमाल चढ्ने समूहसँग जान्थेँ । पाँच हजार, ५५ सय मिटर उचाइमा पुग्थेँ । त्यो समूहमा विदेशी बुढाहरुले आफ्ना बुढीहरुलाई बेसक्याम्पसम्म लैजान्थे । अनि बूढीलाई त्यहीँ छाडेर हिमाल चढ्न जान्थे । बूढीहरु चाहिँ एक दुई दिन बेसक्याम्पमा बसेर फिर्थे । मलाई त्यो मन पर्दैनथ्यो,’ माया सुनाउँछिन्, ‘मलाई ती महिलाहरुले तिमी पनि क्लाइम्बर हो ? नेपालमा कति महिला क्लाइम्बर छन् ? भनेर सोध्थे । पछि मेरो लिडरले माइण्ड सेट गरिदिनुभयो । मलाई चढ्नका लागि हौसला दिनुभयो । मायाले राम्रो गर्यो भने अरु महिला पनि आउँछन् भनेर मलाई हौसला दिनुभयो ।’

अनि मायाले सन् २००३ मा छ हजार आठ सय १२ मिटर उचाइको आमादब्लम हिमाल चढिन् ।

एकजना केटी साथीसँगै चढेकी थिइन् मायाले । उनलाई हिमाल समिट गरेपछि के हुन्छ भनेर केही थाहा थिएन । उनलाई चिसो लागेको थियो, बोल्नै नसक्ने भएकी थिइन् । सामान्य समानहरु लिएर गएकी थिइन् । क्यामेरासम्म थिएन मायासँग । उनको फोटो अरुले नै खिचिदिए ।

माया भन्छिन्, ‘समिटपछि हामी झर्यौं । हिमाल चढ्यौं, सकियो भन्ने भयो ।’

मायाहरु काठमाडौं फिरे । अफिसका सरहरुले ‘आज प्रोगाम छ, आउनू है’ भने । मायाले सोचिन्, डिनर प्रोगाम होला । परिवार पनि लिएर आउनू भनेका थिए, परिवार लिएर गइन् । तर, प्रोगाम त डिनर प्रोगाम नभएर प्रेसमिट पो रहेछ !

‘मैले जीवनमा कहिल्यै त्यस्तो प्रेसमिट फेस गरेकी थिइनँ । मेरो र साथीको फोटो ठूलो बनाएर राखेको रहेछ । फस्ट नेपाली वुमेन टु समिट आमादब्लम भनेर लेखेको रहेछ,’ माया त्यो पल सम्झिन्छिन्, ‘पत्रकारहरुले प्रश्न गरे, म त अकमकिएँ । सबैले बधाइ दिन थाले । त्यसबेला पो ठूलो काम गरेँ भन्ने लागेको थियो ।’

आमादब्लम चढेर झर्दा हिउँहरुमा ठोक्किएर मायाको जीउमा निलडामै निलडाम थियो । काठमाडौंको प्रेसमिटले सबै दुखाइ बिर्साइदियो । एक महिनासम्म मायालाई मिडियाले पछ्यायो ।

मिडियाले जति पछ्यायो, मायाले उति नै हिमाललाई पछ्याउँदै गइन् ।

आमादब्लमपछि सात हजार एक सय ६१ मिटर उचाइको पुमरी हिमाल चढिन् । पुमरीमा पनि पहिलो नेपाली महिला बनिन् ।

पुमरीपछि आठ हजार एक सय ८८ मिटरको चोयु हिमाल चढ्न चढिन् । विनाअक्सिजन समिट गरिन् । समाचार आयो, ‘विना अक्सिजन चोयु चढ्ने पहिलो नेपाली महिला ।’

मान्छेहरुले भन्न थाले, ‘मायालाई हिमाल चढ्नु भनेको स्वयम्भुको सिँढी चढ्नु जस्तै रहेछ ।’

सन् २००४ मा चोयु चढेपछि पनि मायालाई विदेशीहरुले सोध्थे, ‘डिड यु क्लाइम्ब एभरेस्ट ?’ अनि मायाले थाहा पाइन्, ‘सगरमाथा नचढीकन त क्लाइम्बर नै मान्दा रहेनछन् ।’ र, सन् २००६ मा सगरमाथा समिट गरिन् दक्षिणी मोहडाबाट ।

सन् २००७ मा फेरि समिट गरिन् उत्तरी मोहडाबाट । सन् २००७ मै किर्गिस्तानको सात हजार मिटर माथिको हिमाल चढिन् । सन् २००८ मा आठ हजार पाँच सय १६ मिटर उचाइको ल्होत्से चढिन्, तर सफल भइनन् ।

सन् २००९ मा पुग्दा मकालु चढ्ने भन्दाभन्दै प्रेगनेन्ट भएकी थिइन् । सन् २००६ मा डच नागरिकसँग विवाह गरिसकेकी थिइन् । भन्छिन्, ‘मकालु चढ्ने भन्दा अहिले पनि त्यो बेलाको याद आउँछ, म प्रेगनेन्ट भएकी थिएँ ।’

०००

छोरीलाई जन्म दिइन् । छ वर्ष घरमै बसिन् । सामाजिक संजालमा साथीभाइले हिमाल चढेको हेरिरहन्थिन् । उनलाई पनि सिजनमा जान मन लाग्थ्यो, तर कलिली बच्चा थिई ।

श्रीमान्ले भन्थे, ‘बच्चा ठूलो भएपछि जाउ न ।’

बच्चा कहिले ठूलो हुन्छ ? आज ठूलो होला, हुँदैन । भोलि ठूलो होला, हुँदैन । बाआमाको नजरमा बच्चाहरु कहिल्यै ठूला हुँदैनन् ! तर, छोरी बोल्नसक्ने भएपछि, भोक लाग्यो भन्न सक्ने भएपछि मायाले सोचिन्, ‘राम्रोसँग बच्चा हेर्ने कसैलाई दिएँ भने त सहजै हुन्छ ।’

माया गुमनाम जस्तै बनेकी थिइन् । कतै प्रोगामतिर जाँदा पनि क्लाइम्बिङ सोसाइटीबाट आइसोलेटेड भएको जस्तो ! पहिला सबैले सोधखोज गर्थे, सोधखोज नै गर्न छाडे । माया सुनाउँछिन्, ‘मलाई सबैले बिर्सिसकेजस्तो लाग्यो । कहिलेकाहीँ भेट्दा बच्चा भइसकेपछि अब मयााले हिमाल चढ्न सक्दिन भन्थे । मलाई च्वास्स हुन्थ्यो ।’

अनि मायाले अडान लिइन्, ‘जसरी पनि कमब्याक गर्छु ।’

सन् २०१४ मा तीनजना विवाहित महिलाहरुको टिम बनाइन् मायाले । दोलखाकी दावा याङजोम शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा जोडिए ।

संसारकै कठिन हिमाल केटु । मोटाएकी माया । बिनाट्रेनिङ छ वर्षसम्म घरमै बसेकी । उनको निर्णय सुनेर सबै हाँसे । शुभचिन्तकले भने, ‘सजिलो हिमाल रोज्नु, केटु गाह्रो छ । दुईजनाले सके पनि तिमीले सक्दिनौं ।’

मायाका साथीहरुको परिवारले पनि नजाऊ भने । यसै त पाकिस्तान जस्तो मुलुक, त्यसमा कठिन हिमाल, तीनचार जनामा एक न एकजना मर्ने हिमाल । तर, माया एकोहोरो लागिरहिन् ।

पाँच महिना समय थियो । पाँच महिनामा स्पोन्सर खोज्नुछ । ट्रेनिङ गर्नु छ । पहिलोपटक प्रेसमिट पनि गरेका थिए ।

विस्तारै मायाका साथीहरु पनि कन्भिन्स भए । माया सुनाउँछिन्, ‘यस्तो राम्रो भयो कि हरेक चिजले साथ दियो हामीलाई । हामीले आरोहण गर्यौं ।’

सन् २०१६ मा तेस्रोपटक फेरि सगरमाथा चढिन् । सन् २०१५ मा गएको भूकम्पको त्रास थियो । तर, मायाले सगरमाथा चढ्ने नै भइन् । त्यस वर्ष एक्ली नेपाली महिला थिइन् सगरमाथा चढ्नेमा ।

लगत्तै लघुचे पिक चढिन् । मनास्लु चढिन् । हिम्लुङ चढिन् । सन् २०१९ फेरि लघुचे पिक चढिन् । अफ्रिकाको किलिमन्जेरो चढिन् ।

यही अप्रिलको ११–१२ तारिखमा मकालुका लागि काठमाडौंबाट हिँड्दै छिन् । मायाको यात्रा यहीँ रोकिनेवाला छैन । भन्छिन्, ‘शरीरले साथ दिएसम्म निरन्तर चढिरहनेछु ।’

तर, हिमालको पछिल्लो अवस्थाले दुःखी बनाउँछ मायालाई । उनले जति पाएकी छन्, हिमालकै कारण पाएकी छन् । संसारका जति ठाउँ घुमेकी छन्, हिमालकै कारणले पुगेकी छन् । उनको जति सपना पूरा भएको छ, हिमालकै कारण पूरा भएको छ ।

तर, सबैथोक दिने हिमाललाई कसरी जोगाउने ?

आइसहरु पग्लन थालेका छन् । घर जत्रा ब्लु आइसहरु पग्लिएका छन् । बेसक्याम्पदेखि क्याम्प एकसम्म आइसको निला टावरहरु भेटिन्थे पहिला । मनमोहक आइसमा भित्रभित्र कतै हिँडिरहेजस्तो हुन्थ्यो । सुरक्षित पनि थियो, आइसहरु बलिया थिए ।

‘अहिले सबै पग्लिएर कच्याङमच्याङ भएका छन् । पग्लिने, खस्ने जोखिम छ । धौलागिरीमा स्प्रिङमा जाँदा हिँउ भेटिने ठाउँमा अटममा जाँदा चट्टान नै चट्टन हुन्छ, पानी बगिरहेको हुन्छ । भाँच्चिएका टेन्ट, क्यानका खोल, प्लास्टिकहरु जताततै हुन्छन्,’ माया सुनाउँछिन्, ‘पिसाब त बग्छ । तर, दिसा बग्दैन । लामो समयसम्म आइसमा कुहिँदैन । बेसक्याम्पमा बगेर आएको त्यही पानी खानुपर्छ हामीले । यसमा राज्यले ध्यान दिइदिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर