अन्ततः गगनकै लाइनमा गठबन्धन – Nepal Press
एमसीसी

अन्ततः गगनकै लाइनमा गठबन्धन

काठमाडौं । बहुचर्चित अमेरिकी अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी अन्ततः प्रतिनिधिसभाबाट पारित हुने भएको छ ।

लामो समयदेखिको अलमललाई चिर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका छन् । एमसीसीमा सहमति जुटेसँगै गठबन्धन भत्कने खतरा तत्कालका लागि टरेको छ ।

गठबन्धनको समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार एमसीसी सम्झौतालाई विकास अनुदानका रुपमा स्वीकार गर्ने निर्णय भएको बताए । ‘एमसीसीबारे उठेका सवालहरू सम्बोधन गर्नेगरी व्याख्यात्मक टिप्पणीसमेत एट्याच गरेर पारित गर्ने निष्कर्षमा पुगेका छौं’, पौडेलले भनेका छन् ।

गठबन्धनमा आवद्ध दलहरूमध्ये नेपाली कांग्रेसले प्रारम्भदेखि नै एमसीसी पारित हुनुपर्ने अडान लिएको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदापनि एमसीसीको पक्षमा उभिएको उदाहरण दिँदै एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएका छन् । एमसीसीबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा विगतदेखि नै अन्तरविरोध रहँदै आएको थियो ।

ती पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा उभिदै आएका छन् । एमसीसीमा एकै ठाउँमा उभिन नसक्दा गठबन्धन टुट्ने खतरा बढेपछि माओवादी र समाजवादीले विवादका बुँदाबारे व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्न सहमत भएका हुन् ।

गगनको बाटोमा गठबन्धनमा

माओवादी र नेकपा एसले औपचारिक रुपमै एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गरेर जान सकिने प्रस्ताव ल्याएका थिए ।

गत फागुन ५ गते बालुवाटारमा बसेको गठबन्धन बैठकमा कांग्रेस महामन्त्री थापाले एमसीसीबारे जनस्तरमा उठाइएका प्रश्नहरूलाई प्रष्ट पार्ने गरी एमसीसीसँगै ‘व्याख्यात्मक टिप्पणी’ गर्न सकिने प्रस्ताव गरेका थिए । सो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विषय त्योभन्दा अगाडि बढिसकेको’ भन्दै गगनको प्रस्तावमा असहमति जनाएका थिए ।

यो पनि पढ्नुस् : एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

त्यसयता गगनकै अग्रसरतामा कांग्रेसले एमालेसँगको छलफललाई तीव्र बनाएको थियो । प्रधानमन्त्री देउवाले पनि ‘संविधान निर्माणको बेलामा जस्तै’ सहकार्यका लागि एमालेसँग प्रस्ताव गरेका थिए । माओवादी र समाजवादीले नमानेको अवस्थामा एमालेसँग सहमति हुने वातावरण बनिसकेको थियो । यहीबीचमा महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरे ।

अन्ततः गठबन्धन टुट्दा हुने राजनीतिक क्षति रोक्न गगनकै प्रस्तावमा सहमत हुँदै एमसीसी पारित गर्ने दिशामा प्रचण्ड-माधव आइपुगेका छन् । गगनले एमसीसी सम्झौताका कारण नेपालमाथि अमेरिकी स्वार्थ हाबी नहुने , आर्थिक सहायताका रूपमा मात्रै स्वीकार गर्ने र अमेरिकी हस्तक्षेपको गुञ्जायस रहेमा सम्झौता नै खारेज गरिनेसम्मको प्रावधानसहित ‘व्याख्यात्म टिप्पणी’ पारित गर्न सकिने बताएका थिए ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएयता राष्ट्रिय राजनीतिमा थापाको सक्रियता बढ्दो छ । एमसीसी पारित गराउने सन्दर्भमा प्रधानमन्त्री देउवालाई थापाले पर्याप्त सहयोग गरेका छन् ।

वैकल्पिक प्रस्ताव निर्माण, दलहरूसँगको संवाद र निकासको खोजीमा थापाको सक्रियताले कांग्रेसको आन्तरिक एकतासमेत प्रस्तुत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर