एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू – Nepal Press

एमसीसीसँगै संकल्प प्रस्ताव पारित गर्ने कांग्रेसको प्रस्ताव, प्रचण्डले अस्वीकार गरेपछि ओलीसँग संवाद सुरू

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने सन्दर्भमा उठेका प्रश्नहरूको निवारणका लागि संसदबाटै साझा संकल्प पारित गरेर जान सकिने प्रस्ताव गरेको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदनसँगै एमसीसी पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न सकिने प्रस्ताव गरेका हुन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि कांग्रेस महामन्त्री थापाले ‘एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’ आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए ।

माओवादी र समाजवादीले एमसीसी पारित गर्न असहयोग गरे गठबन्धनमा समस्या आउने चेतावनी देउवाले दँदै आएका छन् । शुक्रबार बिहानका लागि गठबन्धनको बैठक राखेर विहीबार बेलुकी सपरिवार देउवा बाल्कोट पुग्नुले राजनीतिक तंरग पैदा गरेको छ ।

‘जे जति प्रश्न उठेका छन् त्यसलाई प्रष्ट पारौं । यदि भविष्यमा नेपालको हितविपरीत कुनै काम भएमा सम्झौता खारेज गर्न तत्पर छौं भनेर संकल्प प्रस्ताव पनि पारित गरौं । यसो गर्दा सबैको सरोकार सम्बोधन हुन्छ’, थापाको प्रस्ताव थियो ।

थापाको प्रस्तावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत देखिएनन् । ‘गगनजी चीज त्योभन्दा धेरै अगाडि बढिसक्यो । अब संसदमा एमसीसीको पक्षमा मत दिन सक्दैनौं’, प्रचण्डको जवाफ थियो ।

बैठकमा के भयो ?

गठबन्धन बैठकको सुरूमै प्रधानमन्त्री शेरबहादुर देउवाले कुनैपनि हालतमा शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव बैठकमा राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी टेबल भए माओवादीले विपक्षमा मतदान गर्नुपर्ने अवस्था रहेको सुझाएका थिए ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैठक ७ गतेका लागि तय भएकाले त्यतिञ्जेल पर्खिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले एमसीसीबारे आफ्नो निर्णय फेरिने कुनै सम्भावना नरहेको भन्दै तत्काल निर्णय दिन प्रचण्ड र नेपाल दुवैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले एमसीसी टेबल गराउन जस्तोसुकै निर्णय लिन पनि पछि नहट्ने बताएपछि प्रचण्ड र माधव दुवैले संसद सुचारु हुने ग्यारेण्टी खोजेका थिए ।

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि कांग्रेस महामन्त्री थापाले ‘एमसीसीबाट नेपालको हितविपरीत कुनै काम हुन नदिने र त्यसो भएको खण्डमा सम्झौता खारेज गरिने’ आशयको संकल्प प्रस्ताव पारित गर्न सकिने बताएका थिए ।

‘एमालेले संसद अवरोध गरिरहेको छ । उसले संसद चल्न नदिए एमसीसी कसरी टेबल हुन्छ ?’, देउवालक्षित प्रश्न थियो । जवाफमा देउवाले संसद सुचारु गर्ने विषयमा एमालेसँग पनि आफूले संवाद गर्ने बताएका थिए । एमसीसीबारे कोहीपनि पूर्ववत् अडानबाट पछि नहटेपछि शुक्रबार बिहान पुनः बस्नेगरी बैठक टुंगियो ।

बैठकलगत्तै प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

बैठकमा सहभागी जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले भने संसदबाट एमसीसी अनुमोदन गरेर जानुपर्ने बताएका थिए । एमसीसीबारे गठबन्धनभित्र २ धार देखिनु गलत भएको भन्दै उनले एजेण्डा सहकार्य नभए गठबन्धनको औचित्य नहुने बताएका थिए ।

बैठकमा सहभागी नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विगतमा भन्दा विहीबारको बैठकमा कडा मिजासमा प्रस्तुत भएका थिए ।

बैठकपछि प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री फेब्रुअरी २८ भित्र प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट रहेको बताए । ‘प्रधानमन्त्रीले एमसीसी अनुमोदन गराउन स्पष्ट प्रस्ताव गर्नुभएको छ । सहमतिका लागि फेरि पनि प्रयास गर्छौं’, मन्त्री कार्कीको भनाइ छ ।

प्रचण्ड कडा माधव नरम

बैठकमा सहभागी नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विगतमा भन्दा विहीबारको बैठकमा कडा मिजासमा प्रस्तुत भएका थिए ।

‘यसअघि पार्टीमा छलफल गर्छु , मिलाउँछु भन्नुहुन्थ्यो । आज एमसीसी संसदमा आए विपक्षमा मतदान गर्छौं भन्नुभयो । एमसीसी टेबल समेत गर्न नदिने कडा कुरा गर्नुभयो’, प्रचण्डको प्रस्तुतिबारे एक नेताले भने ।

बैठकमा नेकपा एसका अध्यक्ष नेपाल भने संयमितरूपमा प्रस्तुत भए । उनले एमालेले संसद अवरोध गरिरहेको अवस्थामा एमसीसी टेबल गर्नपनि गार्‍हो हुने बताएका थिए । फागुन ७ गते आफ्नो पार्टीको बैठक बस्न लागेको भन्दै नेपालले २ दिन समय दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

ओलीसँग संवाद सुरू

बालुवाटारमा गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । ओली निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीमा एमालेको साथ खोजिरहेका छन् । यसअघि पनि ओलीसँग संवाद गर्न देउवाले कांग्रेस नेताहरू खटाएका थिए ।

माओवादी र समाजवादीले एमसीसी पारित गर्न असहयोग गरे गठबन्धनमा समस्या आउने चेतावनी देउवाले दँदै आएका छन् । शुक्रबार बिहानका लागि गठबन्धनको बैठक राखेर विहीबार बेलुकी सपरिवार देउवा बाल्कोट पुग्नुले राजनीतिक तंरग पैदा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर