हेडक्वाटरमा प्रचण्ड, पुष्पकमल र छविलालको चर्को बहस ! एम सरले गराए क्रमभंग ! – Nepal Press

हेडक्वाटरमा प्रचण्ड, पुष्पकमल र छविलालको चर्को बहस ! एम सरले गराए क्रमभंग !

‘त्यो सम्झौता राष्ट्रघाती छ । मने त्यसलाई जस्ताको तस्तै पारित गर्ने कुरा जो छ, त्यो सोच्न पनि सकिन्नँ’, प्रचण्डले भन्नु भयो ।

‘त्यो चिठीमा किन पारित गर्छौ भनेर सही गर्नु भयो त भनेर मने कमरेडहरूले सोधे के भन्ने त ? हाम्रासामू यो गम्भीर प्रश्न पैदा भएको छ’, पुष्पकमलले सोध्नुभयो।

‘मने, नेतृत्वको चलाखीपूर्ण रणनीतिक कदमका बारेमा प्रश्न नउठाउनुस् भनेर भन्दिने । हाम्रो पार्टीमा नेतृत्वसँग, मने हेडक्वाटरसँग दोहोर्याएर प्रश्न सोध्ने आँट मने कसैको छैन’, प्रचण्डले भन्नुभो, ‘एमसीसी जस्ताको तस्तै पास नगर्न र गठबन्धन जोगाउनका लागि मने जो आवश्यक कदम थियो भन्न सिकाउनु पर्छ । यो एक क्रमभंगता हो । हामीले देशी विदेशी प्रतिक्रियावादी साम्राज्यवादीहरूलाई सरप्रइज मने दिएकै हो ।’

‘अब हामीले बाहिर के भन्ने कुरा प्रधान हो यतिबेला । चिठी लेखेको बारेमा मने पार्टीभित्र पनि विरोध हुन सक्छ’, पुष्पकमलले भन्नु भयो ।

‘हामी पार्टी हेडक्वार्टरको काममा अमेरिका जाँदा मने राजदूत कमरेडले जुन सहयोग गर्नु भयो, अमेरिकामा पार्टीको जुन पहिचान भयो, त्यो त्यसै हुन्छ त कमरेडहरू !’, प्रचण्डले कुम हल्लाउदै भन्नु भयो ।

‘सन्तुलित सम्बन्ध नभएको भए के त्यो संभव थ्यो ? अहिले वर्षामानजीको लागि जो व्यवस्था गर्न सकिएको छ, त्यो मने नेतृत्वको सुझबुझ र रणनीतिक सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध र देशभित्र जो गठबन्धन बन्या छ, त्यसबाट मात्रै सम्भव भएको हो भन्ने सबैले बुझ्न जरुरी छ’, छविलाल दाहालले वातावरण सहज बनाउन भन्नु भयो ।

‘त्यसो भए हाम्रो पार्टीको कूटनीतिक रणनीति र रणनीतिक कूटनीति के हो ?’ पुष्पकमलले सोध्नु भयो ।

‘मने, प्रचण्डपथ हो । प्रचण्डपथबाटै देशमा गठबन्धन टिकाउन सकिन्छ र प्रतिगमनलाई परास्त गर्न सकिन्छ । यथास्थितिवादीहरूको ढाडमा टेकेर साम्राज्यवादीहरूको हेडक्वाटरमा प्रहार गर्न सकिन्छ’, प्रचण्डले विजयभावमा भन्नु भयो, ‘त्यो चिठ्ठि बम हो, बम । मने, देउवाको टाउकामा टेकेर उता हानेको । छ महिनासम्म साम्राज्यवादीलाई रन्थन्यायो नि त्यसले ।’

‘प्रचण्डपथमा क्रमभंगता र देशी विदेशी प्रतिक्रियावादी साम्राज्यवादीहरूलाई चक्मा दिने तागत छ’, छविलाल दाहालले प्रशंसा गर्नु भयो ।

‘हो । हामीले देशी, विदेशीलाई चक्मा दिएरै, मने क्रमभंग गरेरै ऐतिहासिक सफलता पाएका छौं । नेतृत्वमा भरोसा नगर्दा बाबुरामको हालत के भयो ? सबैले बुझ्नु जरुरी छ कमरेडहरू !’, प्रचण्डले भन्नु भयो ।

‘नारनकाजीले ऐतिहासिक सफलता दस्तावेजमा आउनु पर्यो भने भनी के गर्ने ?’, पुष्पकमलले सोध्नु भयो ।

‘साँच्चै भन्दा हामी कति थियौं भन्नुस् त ? हामी त्यै ५ र ६ हजारको बीचमा थियौं । तर हामीले ३२ हजार भनेर राख्दा पनि विदेशीले मने पत्याइदिएर मने हाम्ले सारा प्रतिक्रियावादीहरूलाई चक्मा दिएको बिर्सने कमरेडहरू ! त्यहाँबाट कति आयो भन्नुस त, साँच्चै भन्नुच भने त हाम्ले त्याँबाट लडाकुका नाममा ठूलै रकम हात पारेको हो नि, बाहिर प्रतिक्रियावादीहरूलाई पो भन्न हुन्न त !’, प्रचण्डले सम्झाउनु भयो ।

‘ओलीबाट माधवजीलाई उप्काउनु कम सफलता हो ? क्रमभंग नगरी गर्न सकिने काम हो ? अहिले गठबन्धन बनाएर सरकारमा गएर जुन लाभ भएको छ, के त्यो चानचुने कुरा हो ?’, छविलालले पुष्पकललाई हेर्दै थप्नु भयो ।

‘त्यो चिठीमा सही किन गर्नु परेको हो भनेर कसैले सोधे के जवाफ दिने त ?’, छविलालले सोध्नु भयो ।

‘मने, त्यो चिठी नपठाएको भए गठबन्धन जोगाउन सकिन्थ्यो त ? गठबन्धनबाट अहिले जो शक्ति प्राप्त भएको छ, के त्यो अरुबाट सम्भव छ त ? पूरै देशलाई जो हाम्रो एजेण्डामा हिँडाएका छौं, गठबन्धनबिना त्यो गर्न सम्भव थियो त ? साँच्चै भन्ने हो भने, पार्टी र खासगरी हेडक्वाटरको जुन क्रियाशीलता छ, मने त्यो सरकारमा भएकै कारणबाट सम्भव भएको छ । गठबन्धन नभै त्यो गर्न सकिन्थ्यो त ? अहिले यी गम्भीर प्रश्न पैदा भएका छन्’, प्रचण्डले भन्नु भयो ।

‘सधैं क्रमभंग गर्दा देश विदेशमा मात्र हैन, कार्यकर्ताका बीचमा पनि नेतृत्वप्रतिको विश्वसनीयता गुम्दै जाने हो कि ?’, पुष्पकमलले सोध्नु भयो ।

‘क्रमभंग नगरी कसरी क्रान्ति हुन्छ ? हाम्रा कमरेडहरूलाई मने हाम्ले हेडक्वाटरको रणनीतिक कदम भनेर व्याख्या जो गरिया’छ, त्यै सही कार्यनीति हो भन्ने लाग्छ । उहाँहरूले पत्याइराख्नु भएको छ । माधवजीहरूले चाहिँ पत्याउनु हुन्छ । हाम्राले नपत्याउने कुरा मने कसरी हुन्छ ?’, प्रचण्डले भन्नु भयो ।

‘तैपनि चिठी किन लेख्नु भयो त भनेर लेखनाथ न्यौपानेले सोध्यो भने के जवाफ दिने ? त्यो अलि बढी बोल्च’, पुष्पकमलले सोध्नु भयो ।

‘मने जुन कमरेडको नामै लेखनाथ छ, उहाँले किन लेखिस् चिठी भन्नु त मार्क्सवादसंगत, क्रान्तिसंगत कुरा भएन । माओले पनि अमेरिकालाई चिठी लेख्नु भएकै हो । लेनिन, स्टालिनले पनि पनि अमेरिकालाई चिठी लेख्नु भएकै हो । मने, मेरो त्यहीं चिठीकै कारण हाम्रो हेडक्वाटरलाई अमेरिकाले देशको प्राधानमन्त्री सरहकै मान्यता जो दिएको प्रमाणित भएको छ । त्यस चिठीको जवाफ जो हाम्लाई उताबाट आयो, त्यसबाट पनि अब हाम्रो पार्टीलाई सरकार सरहको अन्तर्राष्ट्रिय मान्यता प्राप्त भयो भन्ने देख्या छ । के यो सानो उपलब्धी हो ? यसमा साथीहरूले गौरव गर्नुपर्ने, किन यो प्रश्न आइराख्या छ !’, प्रचण्डले आश्चर्य प्रकट गर्नु भयो ।

‘चिठी किन लेखियो, लेखेबमोजिम काम किन भएन भन्ने प्रश्न त प्रतिक्रियावादीहरूले पो सोधेका छन् । हाम्रा कमरेडहरूले त अमेरिकालाई अब के भन्ने र कसरी क्रमभंग गर्ने भनेर रणनीतिक कार्यनीति बनाउनु पर्ने हो’, छविलाल दाहालले भन्नु भयो ।

‘तैपनि, स्थायी कमिटी र केन्द्रीय कमिटीमा नारनकाजी, लेखनाथहरूले नेतृत्वको हिजोको कार्यशैलीको समीक्षा गरम् भनेर भने के भन्ने नि ?’, पुष्पकमलले सोध्नु भयो ।

‘फर्गेट यस्टर्डे !’ ढोकाबाट आवाज आयो । एम सर भित्र आइरहनु भएको थियो ।

प्रचण्ड, पुष्पकमल र छविलाल दाहालको बहसमा क्रमभंगता भयो ।


प्रतिक्रिया

One thought on “हेडक्वाटरमा प्रचण्ड, पुष्पकमल र छविलालको चर्को बहस ! एम सरले गराए क्रमभंग !

Leave a Reply

Your email address will not be published. Required fields are marked *