कर्णाली आयुर्वेद औषधालय : न पूर्वाधार, न त जनशक्ती – Nepal Press

कर्णाली आयुर्वेद औषधालय : न पूर्वाधार, न त जनशक्ती

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालयको सेवा भने खुम्चिएको छ ।

२०७६ भदौमा प्रदेश आयुर्वेद औषधालयको रुपमा विकास गरिए पनि सेवा सुर्खेतमा मात्र सीमित गरिएको सेवाग्राहीले गुनासो गरेका छन् ।

औषधालयका प्रमुख डा. शंकर रिजालले प्रदेश आयुर्वेद भए पनि १० वटै जिल्लाहरुमा सेवा दिन नसकेको बताए । ‘प्रदेशको अधिकार भएपनि हामीले १० वटै जिल्लामा सेवा दिन सकेका छैनौँ,’ उनले भने, ‘दरबन्दी अनुसारको पर्याप्त दरबन्दी छैन । वृद्धि विकासको लागि सम्बन्धित निकायबाट चासो नदिएको देखिन्छ ।’

कुल एक सय ६ जनाको दरबन्दी रहेको प्रदेश आयुर्वेद औषधालयलमा हाल ७७ जनाको दरबन्दी पूर्ती भएको छ भने बाँकी दरबन्दी रिक्त रहेको औषधालयले जानकारी दिएको छ ।

सुर्खेतमा औषधालयले ओपीडी सेवा, ४४ प्रकारका आयुर्वेद औषधि निशुल्क सेवा, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा लगायतका थुप्रै सेवाहरु दिँदै आएको छ ।

पछिल्ला बर्षहरुमा प्रदेश आयुर्वेद औषधालय वीरेन्द्रनगर, सुर्खेतमा सेवा लिनेहरुको संख्या बढ्दै गएको पाइएको छ । अन्य आर्थिक बर्षहरुको तुलनामा पछिल्ला तिन आर्थिक बर्षहरुमा सेवा लिनेको संख्या बढेको पाइएको छ ।

औषधालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/०७६ मा २२ हजार ९२ जनाले सेवा लिएका छन् भने ७०७६/०७७ मा २७ हजार ३ सय ५५ र आर्थिक बर्ष २०७७/०७८ मा ३० हजार ४ सय ३६ जनाले सेवा लिएका छन् । चालु आर्थिक बर्षमा त्यो संख्या बढ्दै जाने औषधालयले जनाएको छ ।

सेवा लिनेमध्ये धेरैजसो साधारण उपचार ओपीडी सेवा लिने छन्, यस्तै स्तनपायी आमा, जेष्ठ नागरिक, निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट धेरैजसोले सेवा लिएका छन् ।

औषधालयले अमलकी चुर्ण, अश्वगन्धा चुर्ण, अविपतिकर चुर्ण, हिंगवाष्टक चूर्ण, अमृत चिया जस्ता विभिन्न औषधी निर्माण गरेर वितरण गरिएको औषधालयका प्रमुख डा. रिजालले बताए ।

भौतिक पूर्वाधारको अभाव भएको औषधालयको नयाँ भवन निर्माणको चरणमा रहेको बताइएको छ । यस्तै हालसम्म पनि प्रदेश आयुर्वेद औषधालयलाई अस्पतालमा स्तान्तरण नगरिएको, स्वास्थ्य बिमा कार्यक्रमसंग आयुर्वेदलाई नजोडिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *