बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने विषयमा अध्ययन गर्न विशेष समिति गठन – Nepal Press

बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने विषयमा अध्ययन गर्न विशेष समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि त्यसको समाधानका लागि एउटा विशेष समिति गठन गरेको छ ।

स्वीट्जरल्याण्डमा आयोजित ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर नेपाल फर्केकै दिन शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन पेश गर्नेगरी तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिको सदस्यमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन पेश गर्न मन्त्री यादवले निर्देशन दिएका छन् ।

मन्त्री यादवका अनुसार संघीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको मन्त्री यादवले बताए ।

उनले भने, ‘धेरै समयदेखि दुर्गम र टाढाबाट आउनु भएका बिरामीलाई शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको थियो । उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवा चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यको समितिले अध्ययन गर्ने छ ।’

समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका संघीय अस्पतालको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ ।

त्यस्तै, समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उनीहरुले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि संकलन गर्ने छ ।

मन्त्री यादवले समितिलाई समस्याको प्रभावकारी व्यवस्थापनका लागि अल्पकालीन (तीन महिना भित्र गर्न सकिने), मध्यकालीन (एक वर्ष भित्र गर्न सकिने), र दीर्घकालीन (पाँच वर्ष भित्र गर्नुपर्ने) कार्य योजना तयार पारी पेस गर्न पनि निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजना प्रस्तुत गर्ने मन्त्री यादवले बताए ।

साथै समितिको प्रतिवेदनले देशभरका अस्पतालमा शल्यक्रिया लगायतका स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री यादवको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *