गोंगबु प्रकरणः बलात्कार आरोपी र ‘पीडित’बीच लेनदेनको विवाद – Nepal Press

गोंगबु प्रकरणः बलात्कार आरोपी र ‘पीडित’बीच लेनदेनको विवाद

काठमाडौं । तीन साताअघि गोंगबुमा भएको ‘सामूहिक बलात्कार’ प्रकरणमा नयाँ तथ्यहरु भेटिएका छन् । ‘पीडित’ महिला र आरोपी पुरुषहरुबीच पैसाको लेनदेनसबन्धी विवाद रहेको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार पीडित भनिएकी महिला पेशेवर यौनकर्मी हुन् । शर्तबमोजिम पैसा नपाएपछि उनले सामूहिक बलात्कारमा मुद्दा दायर गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गत पुस १२ गते साँझदेखि भोलिपल्ट साँझसम्म ९ जना युवाले सुर्खेत घर भएकी ३२ वर्षीया महिलालाई नयाँ बसपार्कस्थित मित्रनगरका विभिन्न तीनवटा होटलमा लगेर यौन सम्बन्ध राखेका थिए । बलात्कारका आरोपीमध्ये मुगुको एकै नगरपालिकाका ७ जना छन् । उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौंमा बसिरहेका थिए । उनीहरुमध्ये केहीको भिसा लागिसकेको थियो ।

प्रहरीका अनुसार पुस १२ गते साँझ मुगुको छायाँनाथ रारा नगरपालिका स्थायी घर भएका २४ वर्षीय युवराज बडुवालले ती महिलालाई भेटेका थिए । पैसाको विषयमा सहमतिपछि ती महिलालाई त्यसरात मदिरा पिएर सँगै सुत्ने भनेर होटल लगेको युवराजले बयान दिएका छन् ।

होटलमा त्यसरात युवराज र छायाँनाथ रारा नगरपालिकाकै २३ वर्षीय हिक्मत नेपालीसँग ती महिला बसेको अनुसन्धानमा पाइएको छ । उनीहरु सबैले मदिरा सेवन गरेका थिए ।

भोलिपल्ट बिहान युवराजले ती महिलालाई तीन सय रुपैयाँ दिए । त्यसपछि हिक्मतले महिलालाई आफ्ना ६ जना साथीहरु रहेको अर्को होटलमा पुर्याए ।

त्यतिबेलासम्म महिला नशामै थिइन् । हिक्मतले साथीहरुलाई ती महिलासँग यौनसम्पर्क गर्ने भए प्रत्येकले एक–दुई सय रुपैयाँ दिनुपर्ने बताएका थिए । हिक्मतले साथीहरुबाट पैसा पनि उठाएको तर महिलालाई नदिएको पाइएको छ ।

‘६ जना एउटा कोठामा बसी महिलालाई अर्को कोठामा राखेर पालैपालो यौनसम्पर्क भएको देखिन्छ,’ घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक अधिकारीले भने ।

त्यहाँबाट निस्किएकी महिलाको भेट ४३ वर्षीय गोपालकुमार शिरिषसँग भएको थियो । भोलिपल्ट ओमान उड्न लागेका शिरिषले भने ती महिलासँग एक्लै सम्बन्ध राखेको प्रहरीको दाबी छ ।

शिरिषले समेत पैसा नदिएपछि ती महिला बलात्कृत भएको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् । त्यसै दिन शिरिष पक्राउ परेका थिए । त्यसको भोलिपल्ट पुस १४ गते प्रहरीले कलङ्कीको एक गेस्ट हाउसबाट ६ जनालाई पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा पेश गरेको छ । अभियोगपत्रमा तीनवटा होटलका सञ्चालकसहित १२ जनालाई प्रतिवादी बनाइएको छ । होटल सञ्चालकलाई मतियार बनाइएको छ भने बलात्कारमा संलग्न ९ जनामध्ये ८ जनालाई सामूहिक बलात्कार र एक जनालाई बलात्कारमा प्रतिवादी बनाइएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदिप गिरीले सरकारी वकिल कार्यालयले होटल सञ्चालकसमेतलाई प्रतिवादी बनाउनुपर्ने बताएपछि उनीहरुलाई पक्राउ पुर्जी लिएर हिरासतमा लिइएको बताए । तीनै जना होटल सञ्चालकलाई एक साताअघि मात्र पक्राउ गरिएको हो । अब शुक्रबारदेखि अदालतमा प्रतिवादीको बयान हुनेछ र त्यसपछि थुनछेकको बहस हुनेछ ।

कानूनमा १८ वर्ष वा सोभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ । यदि बलात्कार सामूहिक भए थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया

One thought on “गोंगबु प्रकरणः बलात्कार आरोपी र ‘पीडित’बीच लेनदेनको विवाद

  1. यो मुद्दामा हेर्दा दुबै पक्षको दोष देखिन्छ कानून अनुसार दुबै पक्षलाई कारवही होस् एकपक्षीय कारवाही भएर भएर फेरी यस्तो घटना दोहोरिन नपाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर