रानीवनमा माताविरुद्ध माताहरूको जुलुस ! उमालाई आजीवन कारावास माग (भिडिओ) – Nepal Press

रानीवनमा माताविरुद्ध माताहरूको जुलुस ! उमालाई आजीवन कारावास माग (भिडिओ)

काठमाडौं । जटाधारी कपाल, निधारमा मोटो टीका र हातमा मन्त्र जप्ने माला बोकेका केही ‘माता’ सोमबार दिउँसो एउटा व्यानरसहित रानीवनमा देखिए । व्यानरमा लेखिएको थियो- धामी-झाँक्री देवमाता लामा ज्योतिष पण्डित उत्थान समिति ।

आफूहरूजस्तै माता उमा शाही ठकुरीको टहरो खोज्दै उनीहरू त्यहाँ आइपुगेका थिए । एक बालिकाको हत्या आरोपमा प्रहरीले ठकुरीलाई पक्राउ परेको दुई दिनपछि उनीहरू घटनास्थलमा जुलुससहित आएका हुन् । तर, उनीहरूको उद्देश्य ठकुरीको पक्षमा ऐक्यबद्धता जनाउने थिएन ।

काठमाडौंको नागार्जुन नगरपालिका-१ रानीवनस्थित पानाट्याङ्की नजिकै छ माताको टहरो । बिहान साढे ११ बजे सुरूमा ५ जना माता देखिए । उनीहरूले किराना पसलको एक महिलालाई सोधे, ‘हामी माता हौं, यहाँ एकजना हामीजस्तै माता बस्थिन् रे, कता होला ?’

उनको प्रश्न झर्न नपाउँदै किराना पसलकी महिला जंगिइन्, ‘यत्रो मान्छेको ज्यान लिएर पनि नपुगेर उसलाई बचाउन आएका हौं ?’

तर, माताले आफू आउनुको कारण बताइन् र अरु पनि आउँदै गरेको बताएपछि पसलकी साहुनी केही शान्त भइन् । उनले टहरो देखाइदिइन् । त्यसपछि माताले अरुलाई फोन गर्दै ‘उमाको टहरो भेटियो अरु टोली लिएर आउ’ भन्दै डाकिन् ।

यो पनि पढ्नुहोस्ः उपचारका नाममा माताको टहरोभित्र बालिकाको हत्या

यी माताहरू काठमाडौंका विभिन्न ठाउँबाट आइपुगेका थिए । प्रचारका लागि उनीहरूले साथमा केही युट्युबरलाई पनि ल्याएका रहेछन् । उनीहरूको टोली उमाको टहरो अगाडि ब्यानर बोकेर बस्यो ।

ब्यानरमा लेखिएको थियो, ‘कुनै पनि औजार खेलाएको पाइएमा यस संस्थाको विधानअनुसार कारबाही गरिनेछ वा गराउन लगाइने छ । उमा शाही ठकुरीलाई आजीवन कारागारको भागीदार बनाइयोस् ।’

ब्यानरबाट स्पष्ट भयो कि उनीहरू उमालाई जोगाउन होइन, कारबाहीको दबाब दिन आएका थिए । उनीहरू आरोपी ठकुरीको टहरोबाट आन्दोलन गर्दै प्रहरी चौकीमा धर्ना दिन जाने तयारीमा थिए । त्यतिञ्जेल साथीहरूलाई कुर्न थाले । अरु साथी नआउञ्जेल व्यानर बोकेर युट्युबरलाई अन्तवार्ता दिन थाले ।

आफूहरू उमाको घर घेर्न आएको जुलुसमा रहेकी संस्कृति संरक्षणतथा सामाजिक विकास केन्द्रकी अध्यक्ष सीता सुनुवार ‘माता’ले बताइन् । कतिपयले माता पेशालाई मागी खाने भाँडो बनाइएकाले आफूजस्ता असल माताहरूको छवि बिग्रिएको उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस्ः बालिका हत्यामा आरोपित माता प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

सीताले स्पष्ट भनिन्, ‘उमा शाही ठकुरीलाई कारबाही गर्न आएका हौं । जसले यस्तो अपराध गर्छ, उसैलाई बचाउन थाल्यौं भने पीडितले न्याय कहिले पाउँछन् ?’

उनले यो जघन्य अपराध भएको बताइन् । माता भन्दैमा कसैलाई मान्छेको ज्यान मार्ने अधिकार नभएको भन्दै उनले आक्रोश पोखिन् । झारफुक र तान्त्रिक विधि भने सही भएको उनको तर्क थियो ।

उमाले हत्या गरेको हो वा होइन भन्ने अनुसन्धानबाट पत्ता लाग्ने भन्दै उनले आफूहरूको उपचार विधिमा मान्छे कुट्नैपर्छ भन्ने नहुने बताइन् ।

सीताले भनिन्, ‘हाम्रो उपचार विधिमा कुट्नुपर्छ भन्ने हुदैन । यहाँ त मनोमानी भयो । उपचार गर्दा त्रिशूलको प्रयोग गर्न पनि मिल्दैन ।’ माता भन्न पनि लाज भएकाे  माता अर्थात  राधिका घिमिरेले बताइन् ।

सीताको टोली थप माताहरूलाई लिएर आइसकेका थिए । उनीहरू कोही भन्दै थिए- माताको आश्रम नै भत्काइदिउँ । कोही टहरोको ढोकामा हनुमानको फोटो राखिएकोमा प्रश्न उठाइरहेका थिए ।

घटनास्थलमा युट्युबहरूको भीडभाड देखेर माताहरू उत्साहित बनेका थिए । उनीहरू अन्तर्वार्ता दिन तँछाडमछाड गरिरहेका देखिन्थे । करिब दुई दर्जन युट्यूवरको त्यहाँ उपस्थिति थियो ।

त्यही टोलीकी एक माताले नारा लेख्न थालिन् । ‘उमा शाही ठकुरी मुर्दावाद’,‘अपराधीलाई कारवाही गर’ लगायत नारा लेखिसकेर उनीहरूले युट्यूवरलाई देखाए । हेर्दाहेर्दै १५/२० जना महिलाको समूह जम्मा भयो । प्रहरी चौकी जाने तयारी गरे ।

तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा शनिबार एक बालिकाको हत्या भएको थियो । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका-७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको थियो । हत्याको आरोपमा प्रहरीले माता भनिने उमा शाही ठकुरीसहित तीनजनालाई पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर