ज्ञानेन्द्र मल्लः कप्तानी गुमाए, सम्मान कमाए – Nepal Press
टिप्पणी

ज्ञानेन्द्र मल्लः कप्तानी गुमाए, सम्मान कमाए

काठमाडौं । नेपाली क्रिकेटमा करिब एक महिनादेखि उत्पन्न भएको किचलो तत्काललाई समाधान भएको छ । क्रिकेट संघले चार खेलाडीहरूमाथि गरेको कारबाहीलाई लिएर उत्पन्न विवादलाई निकास दिने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत चोट सहेर सम्झौता गरेका छन् ।

क्यानले राष्ट्रिय टिमका चार खेलाडीहरूमाथि कारबाही गरेको थियो, तर उसको मुख्य निशाना तत्कालीन कप्तान ज्ञानेन्द्र थिए । दुई वर्षअघि मात्रै पूर्णकालीन कप्तान नियुक्त गरिएका मल्ललाई बर्खास्त गर्ने क्यानको निर्णय निकै विवादित बन्यो । साथै, उनीसहित चार खेलाडीहरूलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णयले तीव्र आलोचना जन्मायो । क्यानमाथि राजनीति दबाब पनि बढ्यो ।

प्रधानमन्त्रीदेखि खेलकुदमन्त्रीसम्मले ‘चासो’ दिएपछि लचिलो बन्न बाध्य भएको क्यान सबै निर्णय फिर्ता लिन भने तयार भएन । मुलतः कप्तान परिवर्तनको निर्णयमा क्यानका पदाधिकारीहरू अडिग देखिए । क्यानले ज्ञानेन्द्रको ठाउँमा सन्दीप लामिछाने कप्तान नियुक्त गरिसकेको थियो । तर, ज्ञानेन्द्रलाई नै कप्तानमा पुनर्वहाली गर्नुपर्ने पक्षमा राष्ट्रिय टिमका बहुसंख्यक खेलाडी थिए । क्यान साँच्चै समस्यामा परेका बेला उसका निम्ति संकटमोचक बनेर आइदिए प्रशिक्षक पुबुदु दासानायके ।

क्यानले भर्खरै प्रशिक्षक नियुक्त गरेका दासानायेकको नेपाल आगमनसँगै परिस्थितिमा फेरबदल भयो । उनले कप्तानी परिवर्तनको विषयमा स्पष्टरूपमा क्यानको पक्ष लिए । नेपाली क्रिकेटमा राम्ररी भिजेका दासानायकेको राष्ट्रिय टिमका सिनियर खेलाडीसँग राम्रो सम्बन्ध थियो । विगतमा लामो समय नेपाली टिमको प्रशिक्षण गर्दा पारस-ज्ञानेन्द्रदेखि सन्दीपसम्मका प्रियपात्र बनेका थिए उनी । त्यसैले यो विवादमा उनले लिने अडान क्यान र खेलाडी दुवै पक्षका निम्ति महत्वपूर्ण थियो ।

नेपाल आउनासाथ दासानायकेले यो विवादलाई ‘सामान्य’ भन्दै असन्तुष्ट खेलाडीलाई पहिलो झट्का दिए । त्यसको दुई दिनपछि क्यानले नै पत्रकार सम्मेलन गरेर दासानायकेलाई आफ्नो बचाउमा उभ्यायो । उनले स्पष्ट शब्दमा भनिदिए, ‘राष्ट्रिय टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्रिकेट संघको हो । सन्दीप नै अबका कप्तान हुन् ।’

दासनायकेको यो अभिव्यक्तिपछि नै ज्ञानेन्द्रसहितका असन्तुष्ट खेलाडीहरू ‘ब्याकफुट’मा आएका हुन् । प्रशिक्षककै रोहबरमा क्यान र मल्लबीच संवाद भयो । क्यानले कप्तान परिवर्तनबाहेकका निर्णय फिर्ता लिने र सेन्ट्रल कन्ट्राक्टमा भएको त्रुटीसमेत सच्याउने प्रतिबद्धता जनायो । त्यसपछि सकसमा परे पूर्वकप्तान मल्ल ।

प्रशिक्षकसँगको सहमतिमा क्यानले टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीसमेत घोषणा गरिसकेको थियो । त्यसमा असन्तुष्ट चार खेलाडीहरू पनि समावेश गरिएका थिए । उनीहरूलाई राष्ट्रिय टिममा राखेर सेन्ट्रल कन्ट्राक्टमा समेत समेट्न क्यान तयार भइसकेपछि अब ज्ञानेन्द्रको मात्रै इस्यू बाँकी रह्यो ।

क्यानले आफ्नो बटमलाइन सुनाइसकेपछि विवाद समाधानको कोर्ट ज्ञानेन्द्रको कोर्टमा पुग्यो । उनले अन्य खेलाडीहरूसँग छलफल गरे । टिमका बहुसंख्यक खेलाडीहरू ज्ञानेन्द्रको समर्थनमा पक्षमा थिए । ज्ञानेन्द्रले जे निर्णय लिन्छन्, त्यसलाई आफूहरूले स्वीकार्ने खेलाडीहरूले बताए । यसबाट ज्ञानेन्द्रलाई थप तनाव भयो ।

वास्तवमा ज्ञानेन्द्रलाई हठात कप्तानीबाट हटाउने क्यानको निर्णय अपमानजनक नै थियो । उनी २०७६ साल कात्तिकमा पारस खड्कालाई प्रतिस्थापित गर्दै कप्तान नियुक्त भएका थिए । पारस कप्तान हुँदा उपकप्तान रहेका उनी कप्तानीका स्वाभाविक हकदार पनि थिए । र, यो दुई वर्षको अवधिमा उनको कप्तानीमा नेपालको प्रदर्शन पनि खराब छैन । उनलाई कप्तानबाट अपदस्थ गर्नुपर्ने यथेष्ट कारण क्यानसँग थिएन ।

तर, आफ्नो व्यक्तिगत इगोलाई थाती राखेर ज्ञानेन्द्रले नेपाली क्रिकेटको हितमा निर्णय लिएका छन् । उमेर र करिअर दुवै हिसाबले आफूभन्दा निकै जुनियर सन्दीप लामिछानेको कप्तानीमा खेल्न तयार भएका छन् उनी । धेरैले यसलाई उनको वाध्यात्मक निर्णयका रूपमा पनि हेर्लान्, तर ज्ञानेन्द्रसँग अरु विकल्प थिए । यदि उनले चाहेको भए बन्द प्रशिक्षण बहिष्कारको निर्णय लिन सक्थे र, त्यसमा उनलाई टिमका थुप्रै महत्वपूर्ण खेलाडीको साथ दिने अवस्था थियो । साथै, राजनीतिक लविङ पनि गर्न सक्थे । त्यस्तोमा क्यान दबाबमा आएर उनलाई कप्तानीमा फर्काउने वाध्यात्मक अवस्था सिर्जना हुन पनि सक्थ्यो ।

तर, त्योभन्दा ठूलो खतरा चाहिँ नेपाली क्रिकेट नै दुर्घटनामा पर्न सक्थ्यो । खेलाडीहरूले विद्रोह गर्दा क्यान उनीहरूसँग झुकेर निर्णयबाट ब्याक भए पनि वा नझुकेर टसल विवाद बढाए पनि नेपालको क्रिकेट अस्थिरता संसारमाझ उजागर हुने थियो । फेरि एकपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसीले) ले क्यानलाई प्रतिबन्धित गर्न सक्ने खतरा मडारिएको थियो । त्यो खतरा ज्ञानेन्द्रले टारिदिएका छन् ।

यो विवादमा उनको मात्रै नभएर अन्य टिममा रहेका धेरै उदियमान खेलाडीहरूको पनि करिअर जोडिएको थियो । ज्ञानेन्द्रले त धेरै क्रिकेट खेलिसकेका छन् । तर, ती प्रतिभावान खेलाडीहरू जो देशका लागि खेलेर आफूलाई चिनाउन व्यग्र छन्, उनीहरूको करिअर नै दाउमा पर्ने अवस्था थियो । ज्ञानेन्द्रको निर्णयले उनीहरूलाई पनि राहत मिलेको छ ।

अर्को विकल्प भनेको, भावुकतामा आएर ज्ञानेन्द्रले राष्ट्रिय क्रिकेटबाटै सन्‍न्‍यासको घोषणा गरिदिन पनि सक्थे । त्यसले नेपाली राष्ट्रिय टिममा रिक्तता मात्रै पैदा गर्थेन, समग्र नेपाली क्रिकेटमै एउटा निराशाको अवस्था सिर्जना गर्ने थियो । अन्य खेलाडीहरू निरुत्साहित बन्ने थिए ।

ज्ञानेन्द्रसँग अझै धेरै क्रिकेट बाँकी छ । उनी अहिले राष्ट्रिय टिमका मुख्य ब्याट्सम्यान हुन् । आँकडाका हिसाबले नेपाली क्रिकेटमा पारस खड्कापछिको ब्याटिङमा योगदान ज्ञानेन्द्रकै देखिन्छ । भलै उनी पारसको जति उचाइमा पुग्न सकेका छैनन् । त्यसैले उनलाई गुमाउनु भनेको नेपाली क्रिकेटका लागि गम्भीर क्षति हुन्थ्यो ।

यो पनि पढ्नुहोस् : सल्टियो क्रिकेट विवादः सन्दीपलाई कप्तान स्वीकार्दै टिममा फर्किन ज्ञानेन्द्र तयार

क्यानले ज्ञानेन्द्रमाथि लगाएको आरोप वास्तवमा कप्तानीबाट हटाउनका निम्ति अपर्याप्त थियो । खेलाडीहरूको ग्रेडिङका विषयमा मिडियोले प्रश्न गर्दा उनले सामान्यखालका केही असहमति राखेका मात्र थिए । तर, उनीमाथि कारबाहीको वास्तविक कारण यो मात्रै थिएन । खासमा क्यानको रिस पूर्वकप्तान पारस खड्कासँग बढी थियो । पारसले राष्ट्रिय टिमका खेलाडीहरूलाई प्रभावमा पारेर क्यानविरुद्ध उक्साइरहेको र त्यसमा ज्ञानेन्द्रको साथ रहेको निष्कर्षमा थिए क्यानका पदाधिकारी ।

पारस कप्तान छँदा पनि उनीमाथि कारवाही गर्न क्यानले प्रयास नगरेको होइन, तर पारसको लोकप्रियताका कारण उसले त्यो हिम्मत गर्न सकेन । बरु क्यानसँगको किचलोबाट आफैं वाक्क भएर पारसले आफैं कप्तानी छोडे । यसै वर्ष राष्ट्रिय टिमबाट समेत सन्‍न्यास लिइसकेका छन् । पारसले पनि खेल्ने उमेर छँदै सन्‍न्यास लिएका हुन् । बहाना जे गरे पनि उनको छिटो सन्‍न्यासको मुख्य फ्याक्टर भनेको क्यान नै हो । ज्ञानेन्द्रले भने पारसको जस्तो भावुकता देखाएनन् ।

नेपाली टिममा गुटबन्दी रहेको सत्य हो । त्यसको नेपथ्यमा पारसको भूमिका पनि स्पष्ट नै देखिएको छ । तर, क्यानको आफ्नै भूमिका पनि प्रश्नरहित छैन । अहिले खेलाडीहरूलाई गलाएर टिममा फर्काउन क्यान सफल भयो, तर यसको मतलब समस्याको दिगो हल भइसकेको छैन । राष्ट्रिय टिम र क्यानबीचको समझदारी मूख्य आवश्यकता हो । जबसम्म त्यो हुन सक्दैन, तबसम्म समस्याहरू आइ नै रहन्छन् । क्यानले आफूलाई खेलाडीहरूको संरक्षक रूपमा पेस गर्न नसक्दासम्म वा अभिभावकत्वको महसुस नगराउँदासम्म यो समस्याको हल भएको मानिने छैन ।

तत्कालका लागि खेलाडीहरू मैदानमा फर्केका छन्, यो सुखद पक्ष हो । यसको सबैभन्दा मुख्य श्रेय ज्ञानेन्द्रलाई दिनुपर्छ । उनी टिमका खेलाडीहरूको हितका निम्ति लडे । अन्तिमसम्म अडान लिए । तर, आफ्नो व्यक्तिगत विषयमा भने अडान लिएनन् । कप्तानी गुमाउँदा तत्कालका लागि ज्ञानेन्द्रलाई नोक्सानी देखिएको छ । व्यक्तिगत प्रतिष्ठामा चोट लागेको छ । तर, उनले खेलप्रेमीहरूको मन जितेका छन् । सम्मान कमाएका छन् । नेपाली क्रिकेटलाई एउटा दुर्घटनाबाट बचाएका छन् । अब उनले आफ्नो मनोबल उच्च पार्दै टिमको सिनियर खेलाडीका रूपमा युवा कप्तान सन्दीपलाई साथ दिनुपर्छ । भोलि मैदानमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा उनले समर्थकहरूबाट पाउने मायाले अहिले कप्तानी गुमाउँदाको पीडालाई सहजै क्षतिपूर्ति गर्न सक्छ ।

भर्खरै मात्र छिमेकी देश भारतमा पनि बिराट कोहलीलाई त्यहाँको क्रिकेट बोर्डले एक दिवसीय कप्तानबाट बर्खास्त गर्‍यो । त्यो पनि कुनै आधारबिना । कोहली असन्तुष्ट भए पनि बोर्डको निर्णयलाई चुनौती दिएका छैनन् । अर्का कप्तान रोहित शर्माको कप्तानीमा खेल्न तयार भएका छन् । विराटजस्ता विश्वकै चर्चित र भारतका सर्वाधिक लोकप्रिय खेलाडीले पनि अपमानजनकरूपमा कप्तानी त्याग्नुपर्‍यो । यस्ता घटनाहरू भइ नै रहन्छन् । बोर्ड र खेलाडीबीचका यस्ता ‘टसल’ले समग्र क्रिकेट प्रभावित बन्नु हुँदैन भन्ने हो ।

अब नेपाली क्रिकेटको अभिभारा सन्दीप लामिछानेको युवा काँधमा सरेको छ । सन्दीप आफैंमा एउटा सक्षम खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका छन् । कप्तानीमा पनि सफल हुन सक्ने लक्षणहरू उनले देखाएका छन् । अब ज्ञानेन्द्रसहितका सबै खेलाडीहरूलाई एकजुट बनाएर उनले नेपाली क्रिकेटलाई माथि उठाउन योगदान गर्ने अपेक्षा गरिएको छ । सन्दीपले प्रतिबद्धता जनाएका छन् । त्यसलाई व्यवहारमा कति उतार्न सफल हुन्छन् त्यो आगामी दिनमा देखिनेछ । अहिले उनलाई शुभकामनामात्रै दिन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *