सल्टियो क्रिकेट विवादः सन्दीपलाई कप्तान स्वीकार्दै टिममा फर्किन ज्ञानेन्द्र तयार – Nepal Press

सल्टियो क्रिकेट विवादः सन्दीपलाई कप्तान स्वीकार्दै टिममा फर्किन ज्ञानेन्द्र तयार

ज्ञानेन्द्रलाई फोन गरेर खेलकुदमन्त्रीले के भने ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीच उत्पन्न विवाद तत्कालका लागि सुल्झिएको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका असन्तुष्ट खेलाडीहरू आज बेलुकासम्म टिममा जोडिने भएका छन् ।

सन्दीप लामिछानेलाई कप्तान स्वीकार्दै टिममा फर्किन ज्ञानेन्द्रसहितका खेलाडीहरु तयार भएका हुन् । स्रोतका अनुसार आज खेलकुद मन्त्री महेश्वर गहतराजले ज्ञानेन्द्रलाई फोन गर्दै विवाद नलम्ब्याउन आग्रह गरेका थिए । उनले चार खेलाडीहरुको कारबाही फिर्ता र ग्रेडिङमा भएको त्रुटी सच्याउन क्यान तयार भएकाले खेलाडीहरु पनि लचिलो हुनेपर्ने सुझाव दिएको स्रोतले बतायो ।

क्यानले मल्लसँग हिजो लगातार संवाद गर्दै सहमतिका लागि आग्रह गरेको थियो । चार खेलाडीहरुलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्राक्टबाहिर राख्ने निर्णय फिर्ता लिन क्यान तयार भएको छ । तर, कप्तान परिवर्तनको निर्णयमा भने क्यान अडिग रहेपछि ज्ञानेन्द्रसहितका खेलाडीहरु सन्तुष्ट हुन सकेका थिएनन् ।

खेलाडीहरुले क्यानबाट कारबाही फिर्ता र अन्य विषयबारे लिखित प्रतिवद्धतासमेत माग गरेका थिए । तर, क्यानले त्यसलाई स्वीकार गरेन । खेलकुदमन्त्री गहतराजले पनि जिम्मेवार व्यक्तिहरुले नै सहमति जनाइसकेपछि लिखित प्रतिबद्धता आवश्यक नभएको भन्दै ज्ञानेन्द्रलाई सम्झाएका थिए ।

क्यानले असन्तुष्ट खेलाडीहरुको अनुपस्थितिमै आजबाट बन्द प्रशिक्षण सुरू गरिसकेको छ । बन्द प्रशिक्षणका लागि १४ जना खेलाडीमात्रै आज मैदान पुगेका थिए ।ज्ञानेन्द्र मल्लसहित ९ खेलाडीहरू टिममा अनुपस्थित रहे । यस्तै ७ जना खेलाडीहरू होटलमा गए पनि बन्द प्रशिक्षणमा सहभागी भएनन् ।

भोलिबाट भने २९ जना खेलाडी नै बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । कप्तान सन्दीप लामिछाने भने अष्ट्रेलियामा बीबीएल खेलिरहेकाले बन्द प्रशिक्षणमा हुने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *