माओवादीमा पठन संस्कृति घट्दो, कस्ता पुस्तकमा रुचि देखाए ? (भिडिओ रिर्पोट) – Nepal Press

माओवादीमा पठन संस्कृति घट्दो, कस्ता पुस्तकमा रुचि देखाए ? (भिडिओ रिर्पोट)

काठमाडौं । पार्टीमा फरक मत राखेका युवा नेता लेखनाथ न्यौपानेले एउटा अन्तर्वार्तामा भने- ‘माओवादीहरू बिग्रिए, प्रगतिशील छाडेर जीवन चम्काउने खालका भाग्यवादी पुस्तकसमेत किनेको देखेँ ।’

प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आठ दिनदेखि जारी छ । न्यौपानेको टिप्पणीपछि हामीले त्यहीँ रहेका पुस्तक विक्रेतासँग सोध्यौं- माओवादीले कस्ता पुस्तकमा रुचि देखाए ?

प्रज्ञा भवनमा रहेका पुस्तक विक्रेताहरू न्यौपानेले भनेजस्तै केहीले कसरी धनी बन्ने र केहीले कसरी जीवन सफल पार्ने भन्ने खालका ‘मोटिभेसनल’ पुस्तक किने पनि यो मात्रा नगण्य भएको बताउँछन् ।

अधिकांशले भने राजनीतिसँग सम्बन्धित पुस्तक नै किनेको जागरण बुक हाउसका गणेश चितौरेले बताए । ‘धेरैले राजनीतिक इतिहास, मार्क्सवाद र स्वयं माओवादी इतिहासबारेका पुस्तक किनेर लिनुभयो,’ उनले भने । अर्का एक पुस्तक विक्रेताले भने समाजवादबारे लेखिएको पुस्तकमा धेरैको आकर्षण देखिएको बताए । माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजीतिक प्रतिवेदनमा समाजवादको चर्चा छ ।

प्रायः पुस्तक विक्रेताको साझा भनाइ भने पहिलेका वर्षहरूमा जस्तो पढ्न संस्कृति नै हराउँदै गएको र त्यही अनुपातमा पुस्तक बिक्रीसमेत घटेको भन्ने छ। सशस्त्र विद्रोहमा हुँदा माओवादीमा अध्ययनलाई निकै प्राथमिकता दिइन्थ्यो । नेतादेखि कार्यकर्ताहरूसम्म निकै पुस्तक पढ्थे । शान्तिपूर्ण राजनीतिमा आएयता भने माओवादीमा धेरै विचलन आएको छ । त्यसै अनुसार पठ्न संस्कृति पनि माओवादीमा हराउँदै गएको पाइन्छ ।

केही विक्रेताले भने पुस्तक बिक्री घट्नुमा इन्टरनेटको बढ्दो प्रयोगले असर गरेको हुनसक्ने बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर