सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ) – Nepal Press

सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ)

गोलबजार (सिरहा) । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनलाई लक्षित गर्दै स्थानीय प्रशासनले आज र भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ । आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन् । राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द गराएको हो ।

सटरमा तरकारी बेच्ने किसानलाई समेत प्रहरीले दुर्व्यवहार गरे । तरकारी बिग्रिने भनेर बिन्ती गर्दै गर्दा आफूमाथि कुटपिट गरेको गोलबजार- ३ का किसान मनोज लामाले बताए । ‘सटर बन्द गर नत्र पक्रेर लान्छु भनेर चेतावनी दिँदै सडकमै घिसारे । सटर बन्द गर्न बाध्य भएँ’, उनको गुनासो छ ।

असनपुरकी सेलोदेवी महतोले प्रहरी प्रशासनले तरकारी बेच्न नदिएको गुनासो गरिन् । उनी भन्छिन्, ‘साँझमै खेतबाट टिपे । अहिले शिव मन्दिर नजिकै ४ बोरा तरकारी राखेको छु । तर, प्रशासनले बेच्न दिइरहेका छैन ।’ बिक्री गर्न नदिए तरकारी सडेपछि क्षतिपूर्ति कसले दिन्छ ? उनले प्रश्न गरिन् ।

इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले निषेधाज्ञा पालना गर्न बजार बन्द गराउँदै हिँडेका छन् । बजार बन्द भएपछि जनजीवन प्रभावित बनेको छ । समस्या समाधानको नाममा प्रशासनले जारी गरेको निषेधाज्ञाले झन समस्या बल्झाएको छ । सीके राउतको आन्दोलनलाई नै प्रशासनले सघाएको व्यापारीहरूको आरोप छ ।

निषेधाज्ञाका कारण सडकमा जनमत पार्टीका कार्यकर्ता देखिएका छैनन् । सवारीसाधन भने निर्वाध चलिरहेका छन् । राजमार्गमा पर्ने गोलबजार, मिर्चैया, बन्दीपुर, लहान, धनगढी, जिरोमाइललगायतका बजार बन्द गराइएको छ ।

औरही गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि गोदाममा राखेको साढे तीन सय बोरा गहुँको बीउ किसानले कब्जा गरेका थिए । अध्यक्ष सिद्धार्थ यादवले उजुरी गरेपछि प्रहरीले एक किसान पक्राउ गरेको विरोधमा सीके राउतको पार्टी आन्दोलनमा छ ।

आइतबार आमहड्ताल उल्लंघन गरेको भन्दै लाठीसहित सडकमा निस्किएका जनमत पार्टीका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा जिल्लाभर चक्काजाम आव्हान गरिएको थियो । आन्दोलन आन्दोलन ध्वंसात्मक बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सोमबार साँझ सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडक खण्डमा सडक संचालनबाहेक निषेधाज्ञाको घोषणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर