टेलिनेटका कर्मचारी बयानका लागि प्रसारण विभागमा, अवैध प्रसारण नरोके कडा कारबाही गर्ने चेतावनी – Nepal Press

टेलिनेटका कर्मचारी बयानका लागि प्रसारण विभागमा, अवैध प्रसारण नरोके कडा कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपालमा अवैधरूपले श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिरहेको टेलिनेट प्रालिका कर्मचारी आइतबार सूचना तथा प्रसारण विभागमा पुगेर मौखिक बयान दिएका छन् ।

टेलिनेटका संचालकहरू भने विभागमा गएका छैनन् । विभागले टेलिनेटका कर्मचारीलाई गैरकानूनी प्रसारणहरू तुरुन्त बन्द गर्न र बन्द गरिएको सूचना पनि सार्वजनिकरूपमा जानकारी गराउन निर्देशन दिएको छ ।

विभाग स्रोतकाअनुसार अवैध प्रसारण बन्द नगरिए झन् कडा कारबाही गरिने भन्दै लिखित पत्र पनि पठाउने तयारी भइरहेको छ ।

नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले शुक्रवार छापा मारेको थियो । विभागबाट गएको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू कार्यालयमा उपस्थित थिएनन् ।

टोलीले टेलिनेटका कर्मचारीलाई उक्त कम्पनीले अल्ट बालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेका छन् भन्ने सोधपुछ गरेका थिए । साथै, नेपालमा प्रसारण अनुमतिको लाइन्सेस पनि मागेका थिए ।

तर, केही पनि देखाउन नसकेपछि टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन भनेको थियो ।

सोही पत्रपछि टेलिनेटका केही कर्मचारी विभागमा बयान दिन गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर