एसएसपी यादव मृत्यु प्रकरणबारे बुझ्न गृहमन्त्री खाण घटनास्थलमा – Nepal Press

एसएसपी यादव मृत्यु प्रकरणबारे बुझ्न गृहमन्त्री खाण घटनास्थलमा

कार्यालय प्रवेशमा भने पत्रकारमाथी रोक

रूपन्देही । झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशिलकुमार यादवको घटनाबारे बुझ्नका लागि गृहमन्त्री बालकृष्ण खाण घटनास्थल संघीय प्रहरी कार्यालय भैरहवा पुगेका छन् । घटनास्थलमा मृतकको श्रीमती पुगेपछि अहिले शव निकालेर मुचुल्का उठाउने काम भैरहेको जनाइएको छ ।

कार्यालय प्रवेशमा भने पत्रकारमाथी रोक

संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शंकास्पद मृत्युपछि पत्रकारलाई कार्यालय प्रवेशमा निषेध गरेपछि थप आशंका गरिएको छ। शंकास्पद मृत्युमा आन्तरिक विषय खुल्नसक्ने भएकाले प्रहरीले पत्रकारलाई कार्यालय प्रवेशमा निषेध गरेको पत्रकारले नै गुनासो गरेका छन् ।

सांगठनिक समस्याका कारण एसएसपीको मृत्यु भएको हो भने प्रहरीबाट धेरै विषय खुल्नसक्छ । तर रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहसँग पत्रकारलाई भौतिक रुपमा सम्पर्क गर्न दिएको छैन ।

रुपन्देही प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्तसहित सर्वसाधारण, व्यवसायीलगायतलाई कार्यालयमा प्रवेश गराए पनि पत्रकारलाई प्रवेशमा पूर्णरुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन चाहेको आभास भएको पत्रकार दीपक घिमिरेले बताए ।

‘हाम्रो कार्यालय भए पनि हामीले पत्रकारलाई प्रवेशमा रोक लगाएका होइनौँ ।’ संघीय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेमबहादुर केसीले भने, ‘अनुसन्धानको विषय भएकोले सबै काम जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरिरहेको छ । यस विषयमा हामीले केही गरेका छैनौँ ।’  कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिएका छन् । शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर