बाह्रविसेका बाढीपहिरोपीडितलाई पुनर्वास गराइँदै, पहिलो चरणमा १११ घरको सम्झौता – Nepal Press

बाह्रविसेका बाढीपहिरोपीडितलाई पुनर्वास गराइँदै, पहिलो चरणमा १११ घरको सम्झौता

सिन्धुपाल्चोक । एक वर्षदेखि टेन्टमा बस्दै आएका बाह्रविसे नगरपालिकाका बाढीपहिरोपीडितको स्थायी बसोबास प्रक्रिया सुरू भएको छ ।

नगरपालिकाको निरन्तर पहलपछि राष्ट्रिय विपद जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिरकणले विभिन्न बस्तीका विस्थापित एक सयभन्दा बढी परिवारसँग आवास पुननिर्माण सम्झौता सुरू गरेको हो । ढिलै भएपनि नगरपालिकाको समन्वयमा घर निर्माणका लागि सम्झौता सुरु हुने भएपछि विस्थापित परिवार खुसी भएका छन् ।

२०७७ असार २२ र २४ गते आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाको प्राय वडाका बस्ती जोखिममा परेका थिए । घुम्थाङ नागपुजे, जम्बु, खागदाललगायतका बस्तीमा बाढीपहिरोले ४० जनाभन्दा बढीको मृत्युसमेत भएको थियो । बाढीबाट सबैभन्दा घुम्थाङ र जम्बुमा धेरै क्षति पुगेको छ ।

गएको असारमा सामुदायिक आत्मनिर्भर केन्द्र, टिम नेपाल र बाह्रविसे नगरपालिका समेतको सक्रियतामा विस्थापित बस्तीहरूको स्थलगत निरीक्षण गरेर प्रभावित परिवारको तथ्यांक संकलन गरिएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले बताइन् । उनका अनुसार वडा नम्बर ७ को ताङसार बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिका साथै विपद जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिरकणका प्रमुख कार्यकारी अनिल पोखरेल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, भूगर्वविद्लगायतले केही दिनअघि जोखिम बस्तीहरूमा पुगेर निरीक्षण समेत गरेका थिए ।

निरीक्षणपछि तत्कालै आवास पुननिर्माण सुरूआत गरेर आउने वर्षामा पीडितहरूलाई सुरक्षित रूपमा राख्ने गरी स्थायी घर भित्र राख्नका लागि आफुहरु तयार रहेको प्राधिकरणका प्रमुख पोखरेलले बताएको उपप्रमुख पाख्रिनले जानकारी दिइन । भूगर्वविद् र नगरपालिकाको प्राविधिकहरुले बाह्रविसे नगरपालिकाको ५१ बस्तीको स्थलगत अनुगमन गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्राविधकहरूले जोखिमको आधारमा तीन भागमा वर्गीकरण गरेको र ‘क्याट थ्री’ मा परेकालाई आवास पुननिर्माण सम्झौता गरिने बाह्रविसेका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

घुम्थाङका २६ घर र जम्बुका ४३ घर पुननिर्माणका लागि सम्झौता सुरू गरिएको छ । ‘हामीले अहिले यी सबै घरहरूको सम्झौताका लागि रातो कार्ड बनाएका छौं , अब आइतबारदेखि सम्झौता सुरू हुन्छ’, मेयर शेर्पाले भने, ‘हामी टेन्टमा बसेकाहरूलाई आउने वर्षाभित्र आफ्नै घरमा राख्ने गरेर काम गर्छौं ।’

बाह्रविसे- १ मा ६, २ मा १४, ३ मा ५, ४ मा ६, ५ मा ४३, ६ मा ९, ७ मा २६ र वडा नम्बर ८ मा २ घर गरेर पहिलो चरणमा १११ घर पुननिर्माणको लागि सम्झौता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर