पूँजीबजारबारे ठूलो सैद्धान्तिक बहस गर्न खोजेको थिएँ, मान्छेले बुझेनन्ः प्रचण्ड (भिडिओ) – Nepal Press

पूँजीबजारबारे ठूलो सैद्धान्तिक बहस गर्न खोजेको थिएँ, मान्छेले बुझेनन्ः प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारको विषयमा आफूले दिएको अभिव्यक्तिको बचाऊ गरेका छन् । आफूले पूँजीबजार सिध्याउन चाहेको नभइ यसबारे ठूलो सैद्धान्तिक बहस सुरू गर्न खोजेको उनको भनाइ छ ।

न्यूज एजेन्सी नेपाल (नान) सँगको अन्तरवार्तामा प्रचण्डले यस्तो प्रष्टीकरण दिएका हुन् । उनले आफू लगानीकर्ताको पक्षमै भएको बताए ।
प्रचण्डले भने, ‘पूँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने काममा भइरहेको छ । मुद्राबाट मुद्रा कमाउने काम भइरहेको छ । यसबारे मैले ठुलो सैद्धान्तिक बहस गर्न खोजेको हो । नेपालले रणनीतिकरूपमा कुन बाटो लिनु पर्ला भनेर हो । कसैलाई अहिल्यै घाटा पार्न खोजेको छु र ?’

यो पनि पढ्नुहोस् : पूँजी बजारबारे प्रचण्डको टिप्पणी : संसारकै धन एकठ्ठा गर्ने योजना छ, माओवादीले लड्नुपर्छ (भिडिओ)

मानिसहरूले नबुझेर आफ्नो अभिव्यक्तिको गलत व्याख्या गरेको प्रचण्डले बताए ।

उनले थपे, ‘मैले अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरू भनेको हो । अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पूँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ ? हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो । प्रचार गरियो । जानिबुझी कतिपयले त्यसलाई तोडमोड गरे । मेरो त्यो (आशय) होइन ।’

‘म त अहिले पनि भन्छु, पूँजीवाद अहिले वित्तिय पूँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु तिनीहरूको मुल ध्येय छ । पूँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने घरजग्गा किनबेचका जस्ता काममा लागेको छ । छिटो पैसा त्यहाँबाट आउँछ । वा अरु त्यस्ता मुद्राबाट मुद्रा कमाउने । पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हावी छ भन्न खोजेको हो मैले । मैले नेपालको शेयरबजार सिद्धिनुपर्‍यो भन्न खोजेकै होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर