देउवा भर्सेस शेखरः लिगेसी र छविको टकराव – Nepal Press
कांग्रेस महाधिवेशन

देउवा भर्सेस शेखरः लिगेसी र छविको टकराव

काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि ६ जना उम्मेदवार खडा भएका छन् । सतहमा हेर्दा हालका सभापति शेरबहादुर देउवा र संस्थापनइतरका उम्मेदवार शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सभापतिका लागि कांग्रेसका चर्चित हस्तीहरु देउवा, कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । यस्तै, ‘लो प्रोफाइल’का नेताहरु कल्याण गुरुङ र युवराज न्यौपानेको पनि सभापतिमा उम्मदवारी परेको छ, यद्यपि उनीहरु ‘रेस’मा पछाडि छन् ।

पाँचपटक देशको प्रधानमन्त्री समेत भइसकेका देउवाको कांग्रेसमा आफ्नै लिगेसी छ । आमजनतामा ‘ग्ल्यामर’ भएका नेता होइनन् देउवा, तर कांग्रेसभित्र तल्लो पंक्तिसम्म उनले बलियो जरा गाढेका छन् । त्यसैले उनको बिरासतलाई हल्लाउन अन्य प्रतिस्पर्धीलाई सहज छैन । सुदूरपश्चिमलाई आफ्नो राजनीतिको मुख्य धरातल बनाएका देउवाले अहिलेसम्म कुनै पनि संसदीय चुनाव हारेका छैनन् ।

विपक्षीहरुका लागि देउवाका आलोचनाका पक्ष अनगिन्ती छन् । विचार-सिद्धान्तमा खासै रुची नराख्ने, भाषणमा कमजोर, विलासी जीवनशैली, अनेकन विवाद र काण्डमा मुछिएको, कांग्रेसलाई दिशाहीन र कमजोर बनाएको आदि आदि । उनको सवल पक्ष भनको रणनीतिक चातूर्यता र निर्णय क्षमता हो । यही सवलताले गर्दा उनले कांग्रेसमा समकालीन नेताहरुलाई उछिनेर पटक-पटक प्रधानमन्त्री अनि पार्टी सभापति बने । अहिले पनि प्रधानमन्त्री पदमा छन् । यसले पनि उनको पक्षमा चुनावी माहोल बलियो छ ।

यसपालीको चुनावमा देउवाका लागि थप अनकुलता भनेको कृष्ण सिटौलाको समर्थन हो । अघिल्लो महाधिवेशनमा सभापतिकै प्रत्याशी रहेका सिटौलाको गुट देउवामा समाहित भएको छ । यद्यपि, यस गुटका प्रभावशाली नेता गगन थापा उछिट्टएर संस्थापनइतर क्याम्पमा पुगेका छन् ।

देउवाले उभ्याएको प्यानल हेर्दा प्राय पार्टीका पुराना अनुहारहरु हावी छन् । महामन्त्रीमा भने उनले जुनियर नेता प्रदीप पौडेललाई समेटेका छन् । सिटौलाको समर्थन लिने क्रममा उनले महामन्त्री पदमा आफ्नो गुटमा विश्वप्रकाश शर्मालाई हुत्याएर प्रदीपलाई अघि सारेका हुन् । प्रदीपको उम्मेदवारीलाई लिएर देउवाको समूहमा असन्तोष नरहेको होइन, तर कसैले पनि खुलेर विरोध गरेनन् ।

देउवाका अर्का महामन्त्रीमा डा. प्रकाशशरण महत छन् । हालका सहमहामन्त्री महतको महामन्त्रीमा दावेदारी स्वभाविक थियो । उनी औसत क्षमताका नेताका रुपमा चिनिन्छन् ।

उपसभापति पदमा देउवाले पार्टी आफ्ना पुराना सहयोगी पूर्णबहादुर खड्का र दुई वर्षअघि कांग्रेसमा पुनरागमन गरेका विजय गच्छदारलाई उभ्याएका छन् । देउवाका विश्वासपात्र खड्का धेरैपटक मन्त्री र कांग्रेस महामन्त्री भएर पनि राष्ट्रिय पहिचान बनाउन नसकेका नेता हुन् । यस्तै, गच्छेदार जनमानसमा अलोकप्रिय अनुहार हुन् । यद्यपि, गुट बलियो भएकाले उनीहरुको दावेदारी स्वतः बलियो हुने छ ।

सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला एक प्रकारले ‘अनटेस्टेड’ नेता हुन् । उनी अहिलेसम्म पार्टी वा सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छैनन् । नेपाली कांग्रेसमा कोइराला परिवारको अत्यन्तै ठूलो विरासत छ । वीपी कोइरालाका दाजु केशव कोइरालाका छोरा शेखर यसअघिको महाधिवेशनमा सर्वाधिक लोकप्रिय मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

२०४७ सालपछि मात्रै राजनीतिमा सक्रिय भएता पनि पछिल्लो कालखण्डमा उनी कांग्रेसका हस्ती नेताका रुपमा चिनिएका छन् । उनी केन्द्रीय सदस्यबाट एकैचोटि सभापतिको दावेदार बन्दा पनि त्यसलाई अस्वभाविक मानिएको छैन ।

कोइरालाको बलिया पक्ष भनेको निस्कलंक छवि हो । विपक्षीहरुले उनीमाथि प्रहार गर्न सक्ने गतिलो प्वाइन्ट छैन । यद्यपि, उनको नेतृत्व क्षमतामा भने प्रश्न उठाउने गरिएको छ । बोल्ड निर्णय लिन नसक्ने र संगठनमा मजबुतभएकाले उनले कांग्रेसलाई नयाँ गति दिन नसक्ने आलोचक बताउँछन् ।

जे भए पनि यसपाली देउवाका कठिन प्रतिस्पर्धीका रुपमा कोइरालालाई हेरिएको छ । रामचन्द्र पौडेलको समर्थनले गर्दा एउटा ब्लकको भोट आउने निश्चित नै छ । साथै, उनले आफ्नो प्यानलमा डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता प्रभावशाली नेताहरुलाई समेटेका छन् । कागजीरुपमा उनको प्यानल बलियो देखिएको छ ।

सभापति पदका लागि उभिएका प्रकाशमान सिंह र विमलेन्द्र निधी पनि कांग्रेसका खम्बाहरु हुन् । यद्यपि, उनीहरुसँग सशक्त गुट छैन । रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखरलाई समर्थन गरेकाले सिंहको दावेदारी कमजोर बनेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा वाध्यात्मक अवस्थामा उनको प्यानलबाट महामन्त्री उठेका छन् भने कोइराला परिवारबाट विद्रोह गरेर सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दिएकी छन् ।

निधिको प्यानलबाट उपसभापति र महामन्त्रीमा उम्मेदवारी परेको छ । यद्यपि, उनीहरु कांग्रेसमा चिनिएका नाम होइनन् । देउवासँगको लामो साझेदारी तोडेर सभापति बन्न कस्सिएका निधि चुनावसम्म आइपुग्दा दौडमा पछि परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर