माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र – Nepal Press

माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को अधिवेशन जनकपुरधाममा गर्ने भएको छ । पार्टीका प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनबारे जानकारी गराएका हुन् ।

अधिकांश पालिकामा माओवादी केन्द्रको अधिवेशन सकिएको छैन । तर भोलि नै प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको छ । प्रदेश संयोजक बुढाथोकीले भोलि प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गते बन्दसत्र गर्ने बताए ।

उनका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये ३० पालिकाको अधिवेशन बाँकी छ । बाँकी रहेका पालिकामा भोलिसम्म अधिवेशन सम्पन्न हुनेछ । प्रदेश अधिवेशनमा १३६ पालिकाबाट ६ सय तथा आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनबाट चयन गरिने २७१ सदस्यीय प्रदेश २ को कमिटीमा ९ जना पदाधिकारी हुनेछन् । सकभर सहमतिमै नेतृत्व चयन गरिने प्रदेश संयोजक बुढाथोकीको भनाइ छ ।

उनका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रदेश २ सहित सातवटै प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् ।

यस्तै पार्टीका स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले पनि अधिवेशनको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर