कांग्रेसनिकट जनसम्पर्क समिति जापानमा विवाद, पैसा लिएर महाधिवेशन प्रतिनिधि चयन गरेको आरोप – Nepal Press

कांग्रेसनिकट जनसम्पर्क समिति जापानमा विवाद, पैसा लिएर महाधिवेशन प्रतिनिधि चयन गरेको आरोप

टोकियो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानमा विवाद भएको छ । बैठक नै नबसी भर्चुअल माध्यमबाट अधिवेशन गराएको भन्दै उपसभापति सुजन जोशीलगायत १९ सदस्यले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको हो ।

‘जापानमा क्रियाशील सदस्य कति छन् भन्ने अहिलेसम्म बैठकमा पेश गरिएको छैन’, समितिका उपसभापति सुजन जोशीले भने, ‘कुनै पनि छलफल नगरी अधिवेशनको सूचना जारी गरियो ।’ उनका अनुसार जापानमा क्रियाशील सदस्यहरुको विवरण अहिलेसम्म बैठकमा पेश गरिएको छैन ।

बैठकमा क्रियाशील सदस्यसम्बन्धी कुरा उठाउँदा ३ हजार १ सयदेखि ३ हजार ५ सयसम्म रहेको मौखिक जानकारी गराइएको उपसभापति जोशीले जानकारी दिए । १४ जना महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि मात्रै २ हजार ७ जना क्रियाशील सदस्य बनाइएको उनको दाबी छ ।

असन्तुष्ट पक्षहरुले विधिविपरीत १४ जना महाधिवशन प्रतिनिधि चयन गरिएको भन्दै उनीहरुलाई मान्यता नदिन नेपाली कांग्रेस केन्द्रसंग माग गरेका छन् । प्रधानमन्त्रीपत्नी आरजु देउवा जापान आउँदा दूतावासमा बसेर १४ जना प्रतिनिधिहरुको नाम टुङ्गाइएको उपसभापति जोशीले आरोप लगाए ।

‘कतिपय प्रतिनिधिहरु पैसा तिरेर छानिएको छ’, जोशीले भने, ‘पैसा तिरेर प्रतिनिधि बन्ने सामर्थ्य अरुले पनि राख्दछन, जे भए पनि विधिसम्मत हुन पर्यो ।’

प्रतिनिधि बन्न कसले, कति रकम तिरेका हुन् भन्ने बिषयमा भने उनले केही खुलाएनन् ।

जुमबाट गरिएको भनिएको महाधिवेशनमा आफूहरुलाई बोल्न नदिएको उनको आरोप छ । ‘विरोध गर्नेहरुलाई बोल्न दिइएन, माइक म्युट गरेर राखियो’, उनले भने ‘म उपसभापति हुँ, अधिवेशनबारे मलाई नै जानकारी दिइएन ।’

जनसम्पर्क समितिका जापानका सभापति लालबहादुर केसी (रोशन)ले महाधिवेशन प्रतिनिधि विधिसंगत ढङ्गले सबैसंग छलफल गरेरै गरेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर