एमालेको कुम्भमेलासँग हाम्रो सम्मेलनको तुलनै हुँदैनः प्रचण्ड (भिडिओ) – Nepal Press

एमालेको कुम्भमेलासँग हाम्रो सम्मेलनको तुलनै हुँदैनः प्रचण्ड (भिडिओ)

केही महिनाभित्र १ नम्बर पार्टी बन्ने दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ विचारको संश्लेषण गर्ने बताएका छन् । हाल जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरे ।

पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको बताए ।

उनले भने, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं । इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गने छ ।’

प्रचण्डले पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचारिक संश्लेषणको थलो बनाउन कार्यकर्तालाई आग्रह गरे ।

उनले थपे, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

शान्तिप्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको प्रचण्डले स्वीकार गरे । यसमा आत्मसमीक्षा गरिएको उनको भनाइ छ ।

‘यो प्रक्रियामा हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं,’ प्रचण्डले भने ।

पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उनले केही महिनाभित्र माओवादी १ नम्बर पार्टी बन्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर