ओले सम्मानको हकदार छन्: रासफोर्ड – Nepal Press

ओले सम्मानको हकदार छन्: रासफोर्ड

काठमाडौं । स्टार फरवार्ड मार्कस रासफोर्डले म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरेका प्रशिक्षक ओले गनर सोल्सायर सम्मानको हकदार भएको बताएका छन् ।

गतसाता वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएपछि युनाइटेडले ओलेलाई बर्खास्त गरेको थियो । वाटफोर्डविरुद्ध त्योसहित युनाइटेडले प्रिमियर लिगको अन्तिम सात खेलमा पाँचौ हार बेहोरेको थियो ।

लिभरपुलसँग ५–० को लज्जास्पद हारपछि ओले बर्खास्त हुने धेरै हल्ला चलिरहेको थियो । त्यसपछि फेरि युनाईटेड अन्तर्राष्ट्रिय बे्रकअघि म्यान्चस्टर सिटीसँग २–० गोलको नतिजामा हारेको थियो ।

युनाइटेडका पूर्व फरवार्ड ओलेले २०१८ मा जोस मोरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए । सुरुआती दिनमा युनाइटेडका लागि सफल देखिएका ओलेलाई नै पछि युनाइटेडले मुख्य प्रशिक्षक बनाएको थियो ।

उनले आफ्नो पहिलो हाफ सिजनमा युनाइटेडलाई छैठौँ स्थानमा पुर्याएका थिए । त्यसपछि २०१९÷२० मा तेस्रो र २०२०÷२१ मा दोस्रो बनाएका थिए । ओलेकै नेतृत्वमा युनाइटेडले इङलिस लिगको रेकर्ड बनाउँदै २९ वटा अवे गेममा जितेको थियो ।

यद्यपि, उनी उपाधिविहीन रहे । एउटा मात्रै फाइनल पुग्न सफल भएको ओलेको टोली युरोपा लिगको फाइनलमा भिल्लारियालसँग पेनान्टी सुट आउटमा पराजित भएको थियो ।

रासफोर्डले ओले बर्खास्त भएपछि उनको बचाउ गर्दै बीबीसीसँग भने, ‘ओले म्यान्चेस्टर युनाइटेडको हृदयमा छन्, कसैले कहिले छैनन् भन्न सक्दैन ।’

‘मेरो लागि, उनले पाउने सम्मान धेरै छ । हामीबाट मात्रै हैन समर्थकबाट पनि त्यतिकै छ, मलाई लाग्छ समर्थकले प्रशिक्षकलाई दोष दिन्छन् । प्रशिक्षकले हाम्रो लागि खेल्न सक्दैनन् । उनले हामीले सोच्न सक्ने जति राम्रो तरिकाले हामीलाई व्यवस्थापन र मार्गनिर्देशित मात्रै गर्छन्,’ रासफोर्डले भने, ‘सम्मान ठूलो कुरा हो, यो सामो समयसम्म रहन्छ र ओलेले कहिले मेरो सम्मान गुमाउने छैनन् ।’

युनाइटेड लिग लिडर चेल्सीभन्दा १२ अंक पछाडी लिग तालिकाको आठौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *