बाँकेमा कांग्रेसको स्थानीय अधिवेशन– चार पालिकामा सर्वसम्मत, चारमा मतदान – Nepal Press

बाँकेमा कांग्रेसको स्थानीय अधिवेशन– चार पालिकामा सर्वसम्मत, चारमा मतदान

नेपालगन्जमा देउवा समूहका विष्ट तेस्रो पटक निर्वाचित

रुपन्देही । ८ वटा स्थानीय तह रहेको बाँकेमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार भएको पालिका अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत् र बाँकी चारवटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतदानमार्फत नगर तथा गाउँ कमिटी निर्माण गरिएको हो ।

बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री (केसी) ६८ प्राप्त गरेर विजयी भएका छन् । निर्वाचन समितिका अनुसार, निकटतम प्रतिस्पर्धी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरे ।

सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गरे । सह–सचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत ल्याएर विजयी भएका छन् ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए । बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको थारुले बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको त्रिपक्षीय भिडन्तमा प्रशान्त विष्ट तेस्रोपटक सभापतिमा विजयी भएका छन् । विष्टले २४३ मत ल्याउँदा उमा थापा मगरले ७० र विनोद रिजालले ४१ म्त ल्याए । विष्ट देउवा समूहका हुन् भने उमा र विनोद कोइराला समूहका हुन् । उमा उपमहानगरकी उपमेयर हुन् ।

उपमहानगरपालिकामा कुल ३ सय ७७ मत खसेको थियो । नेपाली कांग्रेसको नेपालगन्ज नगर उपसभापतिमा धनराज बर्मा र मोहम्मद कमाल अन्सारी निर्वाचित भएका छन् । बर्मा २३७ र अन्सारी १४४ मतका साथ उपसभापतिमा निर्वाचित भएका हुन् । उनीहरु दुबै जना प्रशान्त विष्ट प्यानलबाट उम्मेदवार बनेका थिए ।

नगर अधिवेशनमा ३८२ मतमध्ये ३७७ मत खसेको थियो । चुनावमा तीन वटा प्यानल प्रतिष्पर्धामा थिए ।

राप्ती सोनारी गाउँपालिकामा मतदान सम्पन्न भएर शुक्रबार बिहान ८ बजे मत गणना गरिनेछ । राप्ती सोनारीमा रहेका कुल १ सय ७४ मतदाता संख्यामध्ये १ सय ७३ मत खसेको थियो ।

कोहलपुर नगरपालिकामा साँझसम्म मतदान भएको थियो । कोहलपुरमा कुल ३ सय १४ मतदाता संख्या रहेको छ ।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले पालिका तहको निर्वाचन परिणाम शुक्रवारसम्म आइपुगेमा शनिबारसम्म प्रदेश सभाको उम्मेदवारी मनोनयन गर्न सकिने सम्भावना रहेको बताए ।

डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएको थियो । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको भएका हुन् ।

खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएका हुन् ।

जानकी गाउँपालिकामा उपसभापति पदबाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएका थिए । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापति पदमा दयाराम यादव, सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका हुन् ।

लुम्बिनीका सबै जिल्लामा मतदान भएपनि बाँकेमा क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर