सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै – Nepal Press

सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै

सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका ९ मध्ये ६ वटा पालिकामा भएको निर्वाचनमा संस्थापन समूह एकलौटी विजयी भएको छ । बुधबार निर्वाचन सम्पन्न भएका ६ वटै पालिकामा संस्थापन देउवा समूहका उम्मेदवार विजयी भएका हुन् ।

वीरेन्द्रनगरमा भने रामचन्द्र पौडेल समूहका कारण निर्वाचन हुन सकेन । वीरेन्द्रनगरमा विहीबार आठ बजेदेखि निर्वाचन हुने भएको छ ।

सार्वजनिक मत परिणामअनुसार गुर्भाकोटमा हस्त पुन निर्वाचित भएका छन् । यहाँ पौडेल समूहले उम्मेदवारी दिएन । यस्तै उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल र पुष्पा नेपाली विजयी भएका छन् ।

लेकवेशीको सभापतिमा उमेश पौडेल विजयी भएका छन् । यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । लेकवेशीमा पनि सम्पूर्ण कार्यसमिति देउवा समूहले जितेको छ ।

चिंगाड गाउँपालिकामा पनि देउवा समूहका डोरप्रसाद शर्मा विजयी भए । उनले पौडेल समूहका करसिंह रानालाई धेरै मतान्तरले पराजित गरे । शर्माले ६४ मत ल्याउँदा पौडेल समूहका रानाले ३५ मत मात्रै प्राप्त गरे ।

यस्तै भेरीगंगा नगरपालिकामा देउवा समूहका रामबहादुर सिंह विजयी भएका छन् । सिंहले १९४ मत ल्याउँदा पौडेल समूहका किरणकुमार भाट क्षेत्रीले २२ मत मात्रै प्राप्त गरे । भेरीगंगामा सम्पूर्ण कार्यसमितिमा देउवा समूहले एकलौटी गरेको छ ।

उपसभापतिमा रेशमबहादुर पुन मगर र प्रतिक्षा विक विजयी भए भने सचिवमा लालसिंह बुढाक्षेत्री र हिरालाल खत्री विजयी भए । यस्तै सहसचिवमा टिमाराम वली र धर्मराज खड्का विजयी भए ।

बराहताल गाउँपालिकामा देउवा समूहका भीमबहादुर भण्डारी विजयी भए । उनले पौडेल समूहका भुवनसिंह सिजापतीलाई पराजीत गरे । भण्डारीले १०४ मत ल्याउँदा सिजापतीले जम्मा ५० मत मात्रै ल्याए ।

सिम्ता गाउँपालिकामा पौडेल समूहले निर्वाचनमा प्रतिष्पर्धाका लागि उम्मेदवारसम्म पाएन् । यहाँ देउवा समूहकै दुई जना सभापतिमा प्रतिष्पर्धा गरेका थिए । सिम्तामा वीरेन्द्र रावत विजयी भए भने अशोक केसी पराजित भए । वीरेन्द्रले ११९ मत ल्याउँदा अशोकले २४ मत ल्याएका थिए । यहाँ सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर