शशांक-शेखर संवाद सकारात्मक दिशामा – Nepal Press
कांग्रेस महाधिवेशन

शशांक-शेखर संवाद सकारात्मक दिशामा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा सभापतिका प्रत्यासीहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी घोषणा गरेका संस्थापनइतर समूहका नेताहरू साझा उम्मेदवार खोजीका लागि दुईपक्षीय तथा बहुपक्षीय छलफलमा जुटेका छन् । कांग्रेसमा लामो इतिहास बोकेको ‘कोइराला परिवार’ भित्र पनि सहमतिका लागि संवाद सुरू भएको छ ।

कोइराला परिवारबाट वीपीपुत्र महामन्त्री डा. शशांक कोइराला, गिरिजापुत्री केन्द्रीय सदस्य सुजाता कोइराला र नोनापुत्र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । मंगलबार शेखर र शशांकबीच महाधिवेशनकेन्द्रित विषयमा छलफल भएको छ । छलफलमा दुवैले एक अर्काको साथ खोजे पनि अन्तिमसम्म साझा उम्मेदवारका लागि प्रयत्न गर्ने सहमति गरेका छन् ।

सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका चुनौती, साझा उम्मेदवार र सहकार्यबारे छलफल भएको बताए । छलफल सकारात्मक दिशामा अगाडि बढेको भन्दै उनले कोइराला परिवारभित्रमात्रै नभएर संस्थापनइतर समूहमै साझा उम्मेदवार तय हुने दाबी गरे ।

महामन्त्री कोइरालाले सोमबार कांग्रेसको एक आन्तरिक कार्यक्रममा संस्थापनइतर समूह एकढिक्का बनाउन शेखरसँग मिलेर जानुपर्ने भावनाको आफूले कदर गर्ने बताएका थिए । ‘शेखरदा सभापति हुने हो भने अरुलाई कन्भिन्स गर्नुपर्‍यो, मलाई त गरिहाल्नुहुन्छ’, शशांकले भनेका थिए ।

‘शशांकजीसँग मेरो सकरात्मक संवाद भएको छ । कोइराला परिवारबाट मात्रै होइन संस्थापनइतर समूहबाटै साझा उम्मेदवार बनाउन हामी प्रयासरत छौं । त्यसमा हामी सफल हुनेमा ढुक्क छौ’, शेखरले नेपाल प्रेससँग भने । दुवै नेताबीच केहीदिनमै सुजतासहित पुनः छलफल गर्ने सहमति भएको छ ।

बैठकमा शेखरले महाधिवेशनको समय घर्किन लागेकोले अब निष्कर्ष लिएर कार्यकर्तामा जानुपर्नेमा जोड दिएका थिए । महामन्त्री शशांकले भने क्षेत्रीय अधिवेशनलगत्तै संवाद तीब्र पार्नुपर्ने बताए । ‘सहमतिका लागि सबैसँग संवाद भइरहेको छ । क्षेत्रीय अधिवेशनलगत्तै संस्थापनइतरबाटै साझा उम्मेदवार खोज्नुपर्छ भन्ने महामन्त्रीज्यूको धारणा छ’, शशांकनिकट एक नेताले नेपाल प्रेससँग भने ।

महामन्त्री कोइराला बुधबार एक कार्यक्रममा सहभागी हुन संखुवासभा गएका छन् । त्यहाँबाट फर्केलगत्तै कोइराला परिवारबीच पुनः संवाद हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर