कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज, अधिकांश क्षेत्रमा देउवा भर्सेस देउवा – Nepal Press

कैलालीमा कांग्रेसकाे पालिका अधिवेशन आज, अधिकांश क्षेत्रमा देउवा भर्सेस देउवा

कैलाली । नेपाली का‌ग्रेसले कैलालीमा आज पालिका अधिवेशन गर्ने तयारी गरेको छ । १३ स्थानीय तह रहेको कैलालीमा केही स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन हुने सम्भावना छ ।

पालिका सभापतिको लागि अधिकांश क्षेत्रमा दुई जना र केहीमा त्यो भन्दा बढीको दाबी परेको छ ।

अहिले सम्म धनगढी, गोदावरी र गौरीगंगामा उम्मेदवारी घोषणा भइसकेको छ भने अन्य केही स्थानीय तहमा आकांक्षी देखिएका छन् । केहीमा भने अझै सहमतिको प्रयास जारी छ ।

अहिले सम्म कैलालीमा देउवा पक्षकै बढी नेतृत्वको दौडमा छन् । केन्द्रमा देउवा पक्ष भए पनि जिल्लमा भने फरक फरक व्यक्तिले त्यसको नेतृत्व गरेका छन् ।

कैलालीमा देउवा पक्षमै नारायण दत्त भट्ट, फकिर सिंह कठायत, दीर्घ राज भाट , भुवन अधिकारी एक समूहमा देखिएका छन् । त्यस्तै मनु शाह, प्रकाश बम, राम जनम चौधरी , नारायणदत्त मिश्र , मोहसिंह राठौर र रणबहादुर रावल अर्को समूहमा बाँडिएका छन् ।

दूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्।

नेपाल विद्यार्थी संघबाट नेपाल कांग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

गोदावरीमा वीर बहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा नै गरिसकेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षा व्यक्त गरेका छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा लड्ने बताएका छन् । भजनीमा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।

कैलारीमा कृष्ण चौधरीलाई सर्वसम्म सभापति बनाउने अन्तिम तयारी भइरहेको जनाइएको छ । उनीहरू सबै देउवा निकट नेताहरू बताउँछन् ।

जोशीपुर, टिकापुर, चुरे, मोहन्यालमा भने अझै सम्म अन्तिम आकाक्षं पहिचान हुन सकेका छैनन् । १० बजेबाट उद्घाटन सत्र सुरु हुने प्रचारप्रसार संयोजक नृप सुनारले बताए । उनले भने ‘सर्वसम्मत हुने अवस्थामा अझै सकिन्छ । नत्र भोलिसम्म अधिवेशन जारी हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर