मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा – Nepal Press
प्रदेश २

मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

जनकपुरधाम । प्रदेश २ मा मन्त्रालय बाँडफाँटको कुरा नमिलेपछि सरकारमा नेकपा एसको सहभागिता अनिश्चित बनेको छ ।

एमालेका २१ सांसदमध्ये १३ जनाले भदौको अन्तिम साता नेकपा एस रोजेलगत्तै प्रदेश सरकारमा जाने बताएका थिए । मन्त्रालय भागबण्डामा पटकपटक छलफल भए पनि सहमति जुटेको छैन ।

नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउत तयार रहेको बताइएको छ ।

अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव छन् । तत्कालीन राजपाको सांसद उनी मन्त्री पद जोगाउनकै लागि महन्थ ठाकुरको साथ छाडेर जसपामा बसे । तर, उक्त मन्त्रालय नेकपा एसलाई दिने मुख्यमन्त्री राउतको संकेतपछि यादव असन्तुष्ट छन् ।

यता, नेकपा एस प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतो अर्थ र सामाजिक विकास मन्त्रालय मागेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने कुरा गरे पनि हामीले मानेका छैनौं ।’

जसपाले मन्त्रालयको भागबण्डा टुंगो लगाउने जिम्मा मुख्यमन्त्री राउतलाई दिएको छ । अहिले प्रदेश सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्रमात्र सहभागी छन् । नेकपा एस प्रदेश संसदीय दलका नेतासँग कुरा नमिल्दा मुख्यमन्त्री राउत अध्यक्ष माधवकुमार नेपालसँगै छलफल गर्न काठमाडौं पुगेको स्रोतले बतायो ।

नेकपा एस संसदीय दलका नेता महतोले मन्त्रालयको टुंगो लाग्नेबित्तिकै मन्त्रीको टुंगो लगाउने बताए ।

‘सहमति जुटेमा संसदीय दलका नेताको हैसियतले महतो मन्त्री बन्ने पक्का छ,’ नेकपा एसका एक सांसदले भने, ‘सहमतिको आधारमा अर्का एक मन्त्रीको नाम टुंगो लगाइनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर