टी-२० विश्व कप सेमिफाइनल: पाकिस्तान र अस्ट्रेलिया भिड्दा पूर्व सहकर्मी आमनेसामने – Nepal Press

टी-२० विश्व कप सेमिफाइनल: पाकिस्तान र अस्ट्रेलिया भिड्दा पूर्व सहकर्मी आमनेसामने

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकपमा आज हुने दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलिया र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । अपराजित पाकिस्तानको सामना गर्दा अस्ट्रेलियाले टी-२० विश्वकपको ट्रफी पहिलो पटक उचालने सपना कायमै राख्ने ।

सुपर १२ अन्तर्गतका खेलहरूमा ४ खेल मा जित र एक खेलमा हार बेहोर्दै अस्ट्रेलियाले सेमिफाइनलको यात्रा तय गरेको हो । पाकिस्तानले आफ्नो कडा प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो र त्यसपछि झनै बलियो सावित हुदै सुपर १२ का सबै खेलहरूमा विजयी भएर सेमिफाइनलमा पुगेको हो ।

‘करिब १० दिन अगाडी हाम्रो टोली धेरै पुरानो थियो र, अहिले हामी सबैभन्दा अनुभवी टोली भयौँ,’ अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने, ‘पछिल्ला केही श्रृंखलामा सबैले हामीलाई कम आँकेका थिए ।’

विजेता टोलीले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डसँग भिड्नेछ । अस्ट्रेलियाले ५० ओभरको विश्वकप ५ पटक र च्याम्पियन्स ट्रफी २ पटक जितेको छ । तर, टी–२० विश्वकपमा उनीहरूको उत्कृष्ट प्रदर्शन २०१० मा इङ्ल्यान्डसँग फाइनलमा पराजित भएर उपविजेता सीमित भएको थियो ।

अस्ट्रेलियाले यो प्रतियोगितामा आउँदासम्म लगातार पाँच वटा टी–२० सिरिजमा लगातार पराजय भोगेको छ । जस्मा अस्ट्रेलियन क्रिकेट टोलीको सबैभन्दा कम टी–२० स्कोर ६२ रनमा अलआउट हुँदै बंगलादेशसँग पराजित भएको थियो ।

समूह चरणमा अस्ट्रेलियाले एकमात्रै हार इङ्ल्यान्डसँग बेहोरेको थियो । र, वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै समूहचरणको समापन गरेको थियो ।

‘यो जित्नुको अर्थ धेरै हुनेछ, तर हामीले अझै पनि धेरै राम्रो र फर्ममा रहेको पाकिस्तानसँग सेमिफाइनल खेल्दैछौँ,’ फिन्चले भने, ‘उनीहरूले हामी संसारमा कहाँ छौं भनेर हेर्नका लागि हामीलाई जाँच गर्नेछन् ।’

अस्ट्रेलियाका पूर्व टिममेट प्रशिक्षकको रूपमा आमनेसामने

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्जरले आफ्नो पूर्व ओपनिङ पार्टनर माथ्यु हाइडेनविरुद्ध टोलीको प्रतिनिधित्व गर्दैछन् । जो अहिले पाकिस्तानको ब्याटिङ प्रशिक्षक छन् ।
सन् २००१ र २००७ को बीचमा उनीहरुले टप अडरमा रहेर खेलेका १ सय १३ खेलमा मिलेर ५ हजार ६ सय २५ रन बनाएका छन् ।

‘म २ दशकदेखी अस्ट्रेलियन क्रिकेटको योद्धा थिए । त्यसैले यसले मलाई यी खेलाडीहरू र देशको क्रिकेट संस्कृतिको बारेमा अद्भुत अन्तर्रदृष्टि भएको फाइदा दिन्छ,’ हाइडेनले भने, ‘यो मात्रै एउटा ट्रफी हो जुन अस्ट्रेलियाले आफ्नो ट्रफी क्याबिनेटमा पुर्‍याउन सकेको छैन ।’

पाकिस्तान सेमिफाइनल पुग्ने सबैभन्दा प्रभावशाली टोली हो । कप्तान बाबर आजम २ सय ६४ रन बनाएर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् भने शाहीन शाह अफ्रिदीले २२.३ को प्रतिफलमा ६ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर