बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी – Nepal Press

बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

रुपन्देही । जिल्ला पार्टी सभापतिकै योजनामा नेपाली कांग्रेस बाँकेको कार्यालयमा तालाबन्दी भएको छ । सभापति किरण कोइराला समूहलाई संस्थापन पक्षले कमजोर बनाउन आफूखुसी सदस्यता थपेका भन्दै ताला लगाइएको हो । किरण कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाकी भाइबुहारी हुन् ।

जिल्ला पार्टी सभापति किरण कोइराला, नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, पोषण केसी, नेतृ उमा थापामगर लगायतको उपस्थितिमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । यिनीहरु सबै कोइराला समूहका हुन् ।

‘सभापति शेरबहादुर देउवाले जिल्लामा आफ्नो पक्ष बलियो बनाउन यसो गरेको प्रष्ट छ, नियम विपरीत सदस्यता बाँडेर अगाडि बढ्न दिदैनांै’, ताला लगाउने समूहका एक सदस्यले नेपाल प्रेससँग भने ।

क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस बाँकेको अधिवेशनको दुई दिनअघि पुनः ताला लागेको हो । ढिलो गरी तोकिएको अधिवेशनका मुखमा केन्द्रबाट अनाधिकृत रुपमा सदस्यता थपिएकाले तालाबन्दी गरिएको जनाइएको छ ।

‘सदस्यता नवीकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएको पाइयो,’ युवा नेता पोषण केसीले भने, ‘यही अवस्थामा निर्वाचन हुन सक्दैन, यी सदस्यको छिनोफानो गरेरमात्रै प्रक्रियामा जानुपर्छ भन्ने माग हो ।’

शुरुदेखि नै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद बल्झिएपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।

कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधवारमात्रै नेपालगन्ज आइपुगेका छन् । यस्तै कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने कार्यतालिका छ ।

जिल्ला पार्टी सचिवालयमा निर्वाचन तयारीमा सक्रिय निर्वाचन समितिका पदाधिकारीहरुलाई बाहिर निकालेर युवा नेता पूर्ण आचार्यसहितका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ । बाँकेमा नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला अहिले जिल्ला सभापति छन् भने सभापति शेरबहादुर पक्षले जसरी पनि आफ्नो समूह बलियो बनाउन लागिपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर