सेयर बजारमा तरलता अभावको असर, तिहारपछिको पहिलो कारोबारमा लगानीकर्ता निराश – Nepal Press

सेयर बजारमा तरलता अभावको असर, तिहारपछिको पहिलो कारोबारमा लगानीकर्ता निराश

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा रोकिएको छ । आज २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

सेन्सेटिभ परिसूचक २.७१ अंकले घट्दै ५२८.३७ अंकको विन्दुमा कारोबार रोकिएको छ । समूहगत परिसूचकतर्फ वित्तीय समूह , सामूहिक लगानी कोष र लगानी समूहमा भएको सामान्य वृद्धिबाहेक अन्य सबै समूहको कारोबारमा गिरावट आएको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचाङ्क १३७.३७ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको १०० अंक, लघुवित्त समूहको ५५ अंक र विकास बैंक समूहको ७० अंकले घटेको छ ।

साहस उर्जा, आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । ५२ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थान रहेको छ । यसैगरी ३० करोड ३ लाख ३३ लाख बराबरको सेयर कारोबार गरेको नविल बैंक कारोबार रकमका आधारमा दोस्रो स्थानमा छ ।

बैकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभावको असर सेयर बजारमा परेको छ । प्रणालीमा १३ अर्बमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी बैंक वित्तीय संस्थाको औषत कर्जा-निक्षेप अनुपात ‘सीडी’ ८९.६६ प्रतिशत पुगेको छ । कर्जाको मागअनुसार बैंक वित्तीय संस्थामा निक्षेप बढ्न नसक्दा बैंक प्रणालीले तरलताको मार झेलिरहेको छ । बैंक वित्तीय संस्थाले तरलता सहज भएको अवस्थामा भविष्यलाई ख्याल नगरी जथाभावी कर्जा लगानी गर्दा पछिल्लो समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंक थप कर्जा विस्तार हुन नदिने नीतिमा रहेको छ । तरलता पनि सहज नबाउने र कर्जाको ब्याजदर पनि धेरै बढ्न नदिने नीति नेपाल राष्ट्र बैंक रहेको छ ।

नेपालको परम्परागत बैंकिङ प्रणालीका कारण तरलता सृजना गर्न सक्ने उपकरणहरुको विकास हुन सकेको छैन । आयातमा आधारित अर्थतन्त्रले पनि तरलतामा ठूलो दबाब पार्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले करिब ६ अर्ब ५० करोड रुपैयाँ ट्रेजरी विल मार्फत आन्तरिक ऋण उठाएपछि बैंकिङ प्रणालीमा तरलतामा थप दबाब परेको छ । यिनैकारणले तिहारपछिको पहिलो सेयर कारोबार घटेको छ । लगानीकर्ताहरु मंसिर हुने ब्याजदरका कारण दुविधामा परेका छन् ।

एकातर्फ मंसिर महिनाका लागि प्रकाशित हुने नयाँ ब्याजदरमा कर्जाको ब्याजदर समेत बढ्ने संभावना रहेकाले लगानीकर्तामा ब्याजदर बृद्धिको चिन्ता रहेको छ । अर्कोतर्फ सेयर बजारबाट प्राप्त हुने लाभांशभन्दा बैंकको मुद्दती खातामा रकम जम्मा गर्दा प्राप्त हुने ब्याज आम्दानी धेरै र जोखिम कम हुने देखेका लगानीकर्ता निक्षेप तर्फ आकर्षित हुने संभावना पनि बढेको छ ।

केही लगानीकर्ताहरू नेपाल राष्ट्र बैंकले गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो क्वाटर समीक्षाको प्रतीक्षामा छन् । मौद्रिक नीतिमार्फत सेयर कर्जामा गरिएको कडाइ खुकुलो हुने आशा पालेर लगानीकर्ताहरू बसेका छन् । नेपाल राष्ट्र बैंकले समीक्षामार्फत सेयर कर्जाको ४-१२ को सीमा बढाउने अथवा यसलाई हटाउन सक्ने विश्लेषण भइरहेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि सीडी अुनपातमा परिवर्तन गरिदिएमा बजारले गति लिन सक्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर